कभर स्टोरी

काठमाडाैंमा युरेनियम फेला परेको प्रहरी दावी: डेढ अर्बमा बेच्न हिँड्दा सूचना चुहियो

अन्तर्राष्ट्रिय बजारमा १६ अर्बमाथिको मूल्य आउने भए पनि जसले युरेनियम लुकाएर राखेका हुन् उनीहरू डेढ अर्बसम्म पाए बेच्न राजी भएपछि ग्राहक खोज्दै हिँडेको सूचना आएपछि पक्राउ : एआइजी पाल

उकेरा संवाददाता


काठमाडौँ : डेढ अर्ब रुपैंयामा साढे दुई किलो युरेनियम बेच्न ग्राहक खोज्दै हिँड्दा नेपालमा पहिलो पटक युरेनियम सहित चार जना पक्राउ परेको प्रहरीले दावी गरेको छ। प्रहरीका अनुसार  डेरामा लुकाएर राखेको युरेनियम विक्री गर्न ग्राहक खोज्नेक्रममा उनीहरूले बिचौलियालाई २ करोडसम्मको कमिसनको अफर गरेका थिए।

अन्तर्राष्ट्रिय बजारमा १६ अर्बमाथिको मूल्य आउने भए पनि जसले युरेनियम लुकाएर राखेका हुन् उनीहरू डेढ अर्बसम्म पाए बेच्न राजी भएपछि एक समूह ग्राहक खोज्दै हिँडे र सो सूचना महानगरीय प्रहरी कार्यालयका प्रहरी टोलीसम्म पुगेपछि बिहीबार सो टोलीले काठमाडौँको बौद्धमा रहेको एक घरमा प्लास्टिकको डब्बामा लुकाएर राखेको अवस्थामा युरेनियम बरामद गरेको प्रहरी दावी छ। प्रहरीले शुुक्रवार पत्रकार सम्मेलन गरेर युरेनियम र आरोपी  सार्वजनिज गरेको थियो।

'युरेनियम बेच्न ग्राहक खोज्दै एक समूह हिँडेको सूचना पच्छ्याउँदा हामी युरेनियमसम्म पुगेका हौँ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरी बहादुर पालले उकेरासँग भने‘ आएको सूचना अनुसार पच्छ्याउँदा सूचना सत्य रहेछ।’

अहिले प्रहरीले २ किलो पाँच सय ग्राम युरेनियमको कारोबार गरेको आरोपमा रामेछाप लिखु तामाकोसी-५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौँ बौद्ध बस्ने रामेछाप लिखु तामाकोसी-५ घर भएकी ४० वर्षीय जानुका तामाङ, रामेछाप मन्थली* नगरपालिका-४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोसी-४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले विष्फोटक पदार्थको कारोबारको आरोपमा म्याद लिएको छ।

कच्चा युरेनियम २० वर्षदेखि नेपालमा

एआइजी पालका अनुसार खुमलटारकाे नाष्टमा गरिएकाे परीक्षणमा प्रहरीले बरामद गरेको युरेनियम २३८ वर्गको रहेको पुष्टि भएको छ। उनले परिक्षणमा प्रशोधन नभएको युरेनियम भएको पक्का भएपछि सार्वजनिक गरिएको दावी गरे। लिखित रिपोर्ट भने आउन बाँँकी रहेको उनले बताए। यो युरेनियम भए यसको अन्तर्राष्ट्रिय बजार मूल्य १६ अर्ब माथिको देखिन्छ। प्रशोधन भइसकेको युरेनियमलाई २३५ भनिन्छ। त्यसको बजार मूल्य एक किलोकै १५ अर्बमाथि देखिन्छ।

प्रहरी अनुसन्धानमा सो युरेनियम २० वर्षदेखि नेपालमा रहेको देखिन्छ। प्रहरीका अनुसार भारतमा काम गर्ने एक व्यक्तिले सो युरेनियम ल्याएर छोराको घरमा राखेका थिए। प्रहरीका अनुसार पक्राउ परेकी जानुका तामाङको ससुराले युरेनियम नेपाल ल्याएको देखिन्छ। उनको विवाह भएको २० वर्ष भएको र सो युरेनियम उनको विवाह अगाडिदेखि नै घरमा रहेको पक्राउ परेकी जानुकाले प्रहरीलाई खुलाएको पालले बताए।

‘जसले युरेनियम ल्याएको हो सो व्यक्ति भारतको माइनहरूमा काम गर्ने गरेको देखियो। अहिले उनी भारततिरै छन्,’ एआइजी पालले भने‘ ती व्यक्तिले २० वर्ष अगाडि नै युरेनियम नेपालमा ल्याएर प्लास्टिकमा पोको पारेर घरको माथिको कुनामा राखेको देखियो।’

ग्राहक खोज्ने प्रकाश

प्रहरी अनुसन्धानमा खुले अनुसार रामेछापका प्रकाशलाई जानुकाले आफूसँग युरेनियम भएको जानकारी दिँदै बिक्री गर्न चाहेको बताएकी थिइन्। फार्मेसी पढेका उनले युरेनियम रहेको भनेपछि ग्राहक खोज्न थालेका थिए। पक्राउ परेका अन्य पनि ग्राहक खोज्न सक्रिय रहेकै अवस्थामा पक्राउ परेका हुन्।

व्यवस्थापनमा कठिनाइ

२३८ पारमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान् विकिरणहरू फ्याँकिरहने भएकाले यसको सीमित आयु हुने बताइन्छ। सो युरेनियम २० वर्षदेखि नै बट्टामा बन्द गरेर राखेको खुलेको ।प्रहरीको भनाई छ।

विकिरण फाली रहने भएकाले त्यसलाई सुरक्षित रूपमा राख्नुपर्ने भए पनि प्रहरीले त्यसलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको दाबी आए पनि हालसम्म प्रमाणित भएको छैन। युरेनियम कारोबारको प्रयास भएको र पक्राउ परेको घटना भने पहिलो भएको एआइजी पालले दाबी गरे। 

* युरेनियमको कारोबारमा सँलग्न रहेको आरोपमा पक्राउ परेका प्रकाश चाैहानकाे ठेगाना यस अगाडि बागडोर उल्लेख भएको। तर महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतका अनुसार उनी मन्थलीको भएकाे पुष्टी भएकाले सच्याइएको छ। युरेनियम हो हैन बाेर परिक्षण जारी रहेको पुष्टी भएकाले हेडलाईन परिवर्तन गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव के हुँदै छ ? 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य राखेर तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सो प्रस्ताव अगाडि बढाएका थिए। उनी मन्त्रालयबाट....

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरू–४ : बास भएन, सरकारको नि आश छैन

आफ्नो क्षेत्रमा परिचित ठेकेदार भएकै कारण उनी घर बनाउने, पर्खाल लगाउने, बिग्रिएका भौतिक संरचना मर्मत गर्ने कामको अभाव थिएन।  चञ्चल मन नथाम्दा उनको परिवारको संख्या....

नयाँ सरकार: काँग्रेसको बिँड तात्यो,ताप्के तातेन, जसपा : न यता न उता 

यससँगै लामो समयपछि काँग्रेसले कसलाई समर्थन गर्ला भन्ने मौनता पनि  तोडियो। काँग्रेसको निर्णयसँगै एमाले वा कांग्रेस बाहेकको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भयो। तर, त्यसपछि पनि....

वीर अस्पतालमा भएको एउटा सिटी पनि थन्कियो

सिटी स्क्यान गर्न आएका बिरामीलाई उनीहरूले‘ मेसिन बिग्रिएको छ’ भन्दै अन्य अस्पताल पठाइरहेका छन्।  अस्पताल अधिकारी सिटी मेसिन बन्न नसक्नुको कारण सिटी बनाउन कम्पनीलाई अनुमति....

बालाजु सडक विस्तारले सुकुम्वासी बनाएकाहरू–३ : राज्यले बास उठायो, त्यही चिन्ताले कान्छो भाइ बित्यो

९ भाइकै विवाह भइसकेको थियो। कृष्णप्रसादको एक सन्तान जन्मिसकेको थियो। अरू भाइहरूका पनि जायजन्म हुँदै थियो। परिवारको निम्न आर्थिक अवस्था बुझेका थिए कृष्णप्रसादले। त्यसैले पढ्नमा....