मनीषा कोइरालाको आत्मबोध: म पपुलर छु, मेरा धेरै फ्यान छन् भन्नु भ्रम मात्र हो

मनीषा कोइरालाको आत्मबोध: म पपुलर छु, मेरा धेरै फ्यान छन् भन्नु भ्रम मात्र हो

काठमाडौँ : नेपाली फिल्म फेरि भेटौंलावाट अभिनय यात्रा सुरु गरेर बलिउडमा क्षमताको परीक्षणमा उत्रिएकी मनीषा कोइरालाले 'सौदागर'मा मौका पाएपछि पछाडि फर्किनु परेन। दर्जनौँ हिट फिल्म। वाहवाही। जब उनलाई क्यान्सर भयो तब ज्ञान बोध भयो आर्थिक वैभवभन्दा अमूल्य हो मनको वैभव।

मर्छु कि बाँच्छु भन्ने अन्योलमा अस्पतालको बेडमा पल्टिएको बेला अनुभव गरिन स्टारडमको मोहमा आफ्नै जीवन कति लापरवाह भएछ।

दुखमा भगवान् सम्झनु मानवीय स्वभावै हो। उनले पनि सम्झिइन्। भजन सम्झिइनन् मात्र, गाइन पनि। भत्किएको शरीरको लय लिकमा फर्काउन महामृत्युञ्जय भजन गुनगुनाइन पनि। जब मनसँगै शरीरको अवस्था पनि लयमा फर्कियो उनले त्यसैमा स्वर भरिन।

सुरसुधासँग मिलेर गाएको मृत्युञ्जय मन्त्र मृत्युबाट बच्नको लागि गरिएको प्रार्थना भन्छिन् उनी। हो, मनदेखिको भावले होला मनीषाको पहिलो प्रयास प्रशंसनीय छ। जीवन/जगत् र सङ्गीतको सेरोफेरोमा रहेर उनीसँग उकेराका लागी पाटन म्युजियममा गरिएको छोटो कुराकानी :

महामृत्युञ्जय मन्त्र गाउनु त भयो। यो केका लागि हो भन्ने कत्तिको जानकारी छ?

महामृत्युञ्जयको मन्त्र उच्चारणले मात्रै पनि दुर्घटनाबाट बचाउने, मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्त गराउँछ भन्ने सुन्दै हुर्केको हुँ। यो मन्त्रको जपले मात्र पनि मृत्युलाई जित्न सकिन्छ भन्ने मनमा छाप थियो। तर चलचित्रमा प्रवेश गरेपछि ती कुराहरू हराउन थाल्यो। त्यसमा पनि बलिउडमा सफल हुँदैंगए पछि सेलिब्रेटी स्टारडममै व्यस्त रहेँ। व्यस्त जीवन शैलीले यी दैवी शक्ति र भावका कुराहरू भुल्दै गएँ। अब फर्किएको छु। अन्य शक्तिशाली भजन अनि मन्त्रहरू पनि छन्।

यसैलाई छान्नुको कारण ?

क्यान्सर जितेपछि मैले आफ्नो जीवनशैलीलाई फरक बनाउँदै लगेँ। ३ वर्ष अघि सुरसुधाका सुरेन्द्र दाइसँगको भेटमा मलाई भजन गाउने इच्छा लाग्यो भनेको थिएँ। तर त्यति बेला गाउने रहर त्यतिकै रह्यो। भजन गाउने मोह हराएको थिएन। पछि यही छनोटमा पर्यो।

यही चैँ कसरी छानियो भनेको ?

क्यान्सर भए पछि उपचारकोक्रममा म महाराजगन्जको घरमा बस्दै गर्दा महामृत्युञ्जयको हवन गराइएको थियो। आमाले हवन गराएको माला मेरो उपचार गरिरहेका डाक्टरको हातमा दिनु भएको थियो। त्यो बिर्सनै नसक्ने दृश्य हो मेरो जीवनको। त्यसैले मलाई पहिलो भजन यही गाउनुपर्छ भन्ने लागेको हो।

मान्छे ठुलो सङ्कट पार गरेपछि अध्यात्मतिर लाग्ने रहेछ है ?

मानवीय स्वभाव नै स्वार्थी हुन्छ । हामी फिट एन्ड फाइन, खुसी, सुखी हुँदा भगवानलाई सम्झने पनि समय हुँदैन। तर जब हामी शारीरिक र मानसिक रूपमा कमजोर र जीर्ण हुँदै जान्छौँ, तब मात्रै भगवान् सम्झन्छौँ। क्यान्सर लागे पछि मैले मेरो कमीकमजोरीलाई पहिल्याउँदै गएँ। मेरो लापरबाही लाइफस्टाइल, केयरलेस पनि रोगको मुख्य कारक हुन् भन्ने बुझेँ। यी यावत कुराहरूले मलाई अध्यात्मतिर नजिक बनायो।

क्यान्सर जितेपछि लेखिका अनि गायिकाको परिचय बन्यो हैन त?

'हिल' अर्थात् नेपाली अनुवादित 'जिजीविषा' लेख्छु भनेर सुरु गरेको किताब होइन। अमेरिकामा उपचारकोक्रममा रहँदा एक जना बौद्ध रिम्पोचेले मलाई क्यान्सर लागेपछिका सबै दुख, पीडा र भावनालाई डायरीको रूपमा टिपोट गरिराख्नु भन्नुभएको थियो। उहाँकै कुरा मानेर क्यान्सर भए पछि ममा आएका दुख, पीडाहरूलाई एक एक गरी टिप्दै गएँ, जुन पुस्तकको रूपमा तयार भयो। गायिकाको कुरा चाहिँ भजन प्रतिको आस्थाको प्रस्फुटन हो। गायिकाको रूपमा परिचय बन्न लामै कसरत गर्नुपर्छ।

अरू गीत गाउने पनि योजना छ कि?

म गायिका होइन। यो भजन पनि मेरो भगवानप्रतिको समर्पण भाव हो। मलाई मृत्युको मुखबाट बचाएर ल्याएको भान हुन्छ यो मन्त्र उच्चारण मात्रै गर्दा पनि। दोस्रो गीत त श्रोता, दर्शकहरूले के कति रुचाउनु हुन्छ त्यसमा भर पर्छ।

तपाईँ सङ्गीत पारखी त पक्कै हो नि?

म पारखी मात्रै हैन, सङ्गीतसँगै बाँच्न सिकेको व्यक्ति पनि हुँ। सङ्गीत विना म अधुरो नै हुन्छु। सङ्गीतसँग मोटिभेसन गर्ने, रिल्याक्स गर्ने। सङ्गीत त मेडिटेसनको मेडिसिन पनि हुन्छ। नेपाली गीत सङ्गीतलाई जगेर्ना गर्नुपर्छ भन्ने लाग्छ।

आफैले आफैलाई मूल्याङ्कन गर्दा क्यान्सर लाग्नु अघिकी बलिउडकी नायिका मनीषा र अहिलेको मनीषामा के भिन्नता भेटिन्छ?

ग्लामर दुनियाँमा नाम र दामको बिचमा थिएँ। पहिले जीवनलाई वास्तवमै बुझेको थिइन। जीवनलाई आफू खुसी चलाइ रहे। तर क्यान्सर भएपछि जीवनको सही अर्थ बुझेँ। यो चमक दमक त दुई दिनको चोला रहेछ, पैसा पनि केही होइन। मेरो यति धेरै फ्यान छन्, यतिले चिन्छन् भन्ने सबै भ्रम रहेछ। पैसा कागज हो र मरेपछि हुने खरानी हो भन्ने यथार्थलाई बुझ्न पाएँ। म भाव त अहम रहेछ।

डायरीलाई पुस्तक आकारमा ल्याउनुको विशेष कारण छ कि, लेखिहालियो किताब पनि होस् भनेर निकालेको?

क्यान्सर मेरो मात्रै होइन अहिले धेरैको लागि अभिशाप भएर आएको छ। क्यान्सर लागे पछि मैले भोगेका, त्यसबाट ज्ञान पाएका कुरालाई किताबमा समावेश गरे। किताब लेख्नुको मुख्य उद्देश्य अप्ठ्यारोमा परेका मानिसलाई थोरै भए पनि बाटो देखाउन सकिन्छ कि भन्ने आशा नै हो। मैले पुस्तकमा जीवनको तीतो सत्यलाई जस्ताको त्यस्तै पस्केको छु।

२८ फागुन, २०७७, ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।