शब्दमाला

समावेशी मुद्दाले 'फ्लप' भएको साहित्य महोत्सव

प्रजु पन्त


तस्बिर स्राेत : सरोज बस्नेत

काठमाडौँ : मधेसमा साहित्य संवाद र बहस गर्न जनकपुरमा आयोजना हुँदै आएको ‘जनकपुर साहित्य महोत्सव’ यो पाली चर्चामा रह्यो। कारण चैँ नकारात्मक।

फागुन १९ देखि २२ गतेसम्म जनकपुरमा आयोजना भएको कार्यक्रम समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो। आलोचनाको प्रभावले चार दिनसम्म चलेको महोत्सव खल्लो देखियो।

महोत्सवमा साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयमा छलफल भएको थियो। महोत्सवको १५ सत्रमा ४५ जना जना वक्ता र अन्य मोडरेटरहरु गरेर ९३ जना थिए। त्यसमा २७ महिला र अन्य पुरुष सहभागी थिए।

कार्यक्रममा महिला सहभागिता कम गराइएको, सीमान्तकृत समुदाय, दलित तथा जनजातिको सहभागिता नदेखिएको भनेर सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो।

बहसकर्ताहरूको फोटोसहित ट्विटर र फेसबुकमा स्टाटस लेखियो‘ प्यानल नभएर म्यानल भयो।’

प्रारम्भमा सामान्य असन्तुष्टिका रूपमा अगाडि आएको यो मुद्दा चर्किँदै गयो। यसलाई मत्थर पार्न आयोजकले छलफलका केही विषयका बहसकर्ताको नाम बदल्यो पनि। तर त्यसले आलोचनालाई मत्थर पार्न सकेन।

दोस्रो दिनबाटै प्रहार

कार्यक्रम सुरु भएको दोस्रो दिनबाटै प्यानलमा रहेका व्यक्तिहरूलाई इङ्गित गर्दै ‘के यही हो  समावेशिता ? प्यानल हो की म्यानल हो ? जनकपुर लिटरेचर पुरुष महोत्सव’ भन्दै विरोध सुरु भयो। 

ट्विटर प्रयोगकर्ता शशी श्रेष्ठले ट्विट गर्दै विरोध गरिन्। त्यसमा अर्की ट्विटर प्रयोगकर्ता सम्पदा रिजालले लामै स्टाटस थपिन्। उनले ट्विटमा ‘कथित उच्च जातीय पहाडे पुरुषहरूको सार्वजनिक भेला’ भन्दै आलोचना गरिन्।

 

उनले ट्विटरमा विचार गाँस्दै गइन्‘ लोकतन्त्रका आधारभूत मान्यतालाई कुल्चेर हुने कथित उच्च जातीय पहाडे पुरुषहरूको सार्वजनिक भेला र त्यसमा उठेका स्वाभाविक प्रश्नहरूलाई ’हावा भ्रम,सिन्डिकेट,व्यक्तिगत’ भनेर खारेज गर्ने आयोजक,म्यानलमा बसेर लोकतन्त्रका गफ छाँट्न कुर्सी नबिझाउने,प्रश्न ब्यानरमा महिला÷दलित÷सीमान्तकृतको फोटो छ÷छैन सम्म मात्र होइन। कार्यक्रम आयोजना गर्ने, छलफलका विषय चुन्ने,वक्ता चुन्ने समूह कति समावेशी छ भन्ने सम्म उठ्छन्। एक जना पनि दलित÷थारु समावेश नभएको, अधिकांश महिलाका मुद्दामा मात्र महिला प्यानलिस्ट रहेको तपाईँहरूको आयोजक समितिको समावेशिता पनि स्पष्ट भइहाल्यो।’

सृष्टि कार्कीले लेखिन्‘ जनकपुर गएर एक चरण फेरि'बास्नु ठिक्क परेका,'भालेहरू' देख्दा तिनीहरूलाई''बिचरा'भन्न मन लागेको छ। यो भद्दा मजाक हो।

आन्वीका गिरीले लेखिन्'अधिकांश म्यानलमा बस्ने र तिनको आयोजन गर्ने समावेशिताका गफ गरेर नथाक्ने,आन्दोलन गर्ने नै हुन्छन् । यो कुनै व्यक्तिको विरोध होइन, बदलाव कति गाह्रो छ र कस्ता ढिट मान्छेसँग जुध्नु पर्ने छ भन्नलाई पब्लिक डोमेनमा कुरा आओस् भन्नलाई हो।''

दिनेश पन्तले लेखे‘ मिडिया अनिवार्य सर्त होइन र काठमाडौँका बुढाहरू ओसार्नु पनि अनिवार्य सर्त होइन, साहित्यिक एवं सामाजिक(राजनीतिक मुद्दाहरूमा छलफल गर्न स्थानीय तहमै बसेर सिर्जनामा लागेका साहित्यकार खोजौँ, नेता खोजौँ, प्राध्यापक खोजौँ, कलाकार, पत्रकार, चिकित्सक, प्रशासक, पेसाकर्मीहरू खोजौँ।।।

 वक्तालाई पनि प्रहार 

आयोजकको आलोचनाबाट सुरु भएको सञ्जालको अन्तर्क्रिया वक्तातिर समेत मोडियो। ट्विटर प्रयोगकर्ता सन्दीपले ‘जनकपुर पुरुष महोत्सव समावेशिताको ठेक्का लिने महानुभाव पनि हुनुहुँदो रहेछ’ भनेर विरोध गरे। कार्यक्रमको तेस्रो दिनको फोटो प्रयोग गर्दै ‘लोकतन्त्र’ को अनुहार । नोट उहाँहरू सबै प्रतिगमनको विरुद्धमा हुनुहुन्छ । भनेर विरोध गरे । अर्का ट्विटर प्रयोगकर्ता रोहेज खतिवडाले पुरुष मञ्चमा महिलालाई श्रोता बनाइएको कार्टुन पोस्ट गरे ।  

लेखक सावित्री गौतमले फेसबुकमा लेखिन्, ‘सामाजिक सञ्जालमा रातदिन ‘सभ्यता’ र ‘संस्कार’को दुहाइ दिने केही मान्छेको अनुहार पनि लगातार यस्ता कार्यक्रममा दोहोरिएको देख्छु। जसलाई आफू सहभागी हुन लागेको कुनै पनि कार्यक्रम कत्तिको समावेशी छ भनेर सोध्ने भनेको एकदमै आधारभूत सभ्यता र संस्कार हो भनेर सम्म थाहा छैन।’

उनले अगाडि लेखेकी छिन्‘ पुरुष र महिला पनि , प्रिभिलेज्ड वर्गका वक्ताले पहिल्यै कार्यक्रम कत्तिको समावेशी छ ? दलित , मधेसी, अल्पसङ्ख्यक , मुस्लिम आदिको सहभागिता मात्रै होइन कत्तिको सम्मानजनक सहभागिता छ ? नत्र म बस्दिन, बोल्दिन , मलाई अन्तिम स्वरूपको ब्यानर देखाउनु भनेर सोध्नै पर्छ।’

वक्ताहरूमाथि प्रश्न उठ्न थालेपछि वक्ताको रूपमा रहेका राजनीतिक विश्लेषक हरि शर्माले ‘पुरुष मात्रै भएको प्यानलमा नजाने र भविष्यमा कस्तो प्यानल हो याद गर्ने भन्दै’ ट्विट गरे। 

पत्रकार अमित ढकालले आफू पनि त्यो कार्यक्रममा मोडरेट नगर्ने र आफ्नो पक्षबाट भएको कमजोरी स्विकार्ने भन्दै ट्विट गरे र कार्यक्रममा गएनन्। गगन थापा र रामकुमारी झाँक्री कार्यक्रममा गएनन्। तर किन गएनन् भनेर खुलेन।

 

आयोजकको तर्क : विरोधका लागि विरोध

कार्यक्रमको प्यानलिष्टबारे बहस सुरु भएपछि महोत्सवका आयोजक र समर्थकहरू प्रतिरक्षामा उत्रिएका थिए। तर त्यसले महोत्सव फ्लप हुनबाट जोगिन सकेन।

कार्यक्रममा सह–आयोजक भूपेन्द्र खड्काले उकेरासँग ‘ कार्यक्रमको विरोध गर्नकै लागि विरोध गरिएको’ प्रतिक्रिया दिए।

‘हामीले जनकपुर साहित्य महोत्सवमा मधेसको अपनत्व हुने गरी कार्यक्रमहरू बनायौँ। योजना बनाउँदा ग्रुपहरू समावेशी नै थियो,’ खड्काले भने ‘अन्तिम समयमा केही बत्ताहरूले रद्द गर्नु भयो। जतिले विरोध गरे उहाँहरूले विरोध गर्न कै लागि विरोध गर्नुभएको हो।’

विरोधका लागि विरोध भएको हो त ?

विश्लेषक आहुति जनकपुरमा भएको विरोध सही हुँदाहुँदै पनि कतै मधेसीहरूले आयोजना गरेको भनेर विरोध भएको त होइन भन्ने प्रश्न पनि उठ्ने बताउँछन्। 

‘समावेशिताको कुरा उठ्दा मुख्य उत्पीडनको विषय छोपिन सक्छ। सारमा भन्दा हरेक कार्यक्रमको आयोजक र वर्गको स्वार्थ लुकेको हुन्छ,’ आहुतिले भने ‘अन्य कार्यक्रममा भन्दा यो कार्यक्रममा ज्यादा विरोध हुनु कतै मधेसमा आयोजना भएर त हैन भन्ने प्रश्न पनि उठ्छ।’ 

राजनीतिक विश्लेषक आहुतिले ‘साहित्यिक महोत्सवमा मात्र नभएर राजनीति देखि हरेक क्षेत्रमा पहाडे ब्राह्मण क्षेत्रीको बाहुल्यता रहने गरेको टिप्पणी गर्दै भने ‘समावेशितामा प्रश्न उठ्यो स्वाभाविक हो, उठ्नु पनि पर्थ्यो । तर कुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यसमा भर पर्छ समावेशिता।’  

अब त सिकौँ

जनकपुर साहित्य महोत्सवबारे समावेशिताको प्रश्न उठे पनि छलफलहरू भने गहनै थिए। तर विवादका चर्कै भएपछि प्रदीप गिरी लगायतकाहरुको महत्त्वपूर्ण विषय पनि छायामा पर्‍यो।

सार्वजनिक मञ्चमा समान प्रतिनिधित्वको आवाज उठेको धेरै भयो। मञ्चमा पुरुषै पुरुष राख्ने क्रम भङ्ग गर्न केही महिला अधिकारकर्मीहरूले पुरुष मात्र वक्ता हुने कार्यक्रममा सहभागी नै नहुने घोषणा भएको थियो।

त्यसले पनि कार्यक्रमको स्वरूप नसुध्रिएपछि साहित्यिक होस् या राजनीतिक होस् कार्यक्रम समावेशी नभए आलोचना हुने गरेको छ।

पुस ५ गते प्रतिनिधि सभा विघटनको विरोधमा तत्कालीन नेकपाको प्रचण्ड– नेपाल समूहले प्रदर्शनी मार्गमा गरेको पहिलो सभा वक्ता समावेशी नबनाउँदा र मञ्चमा नेताका लागि सोफा राखेको तर कार्यकर्ताहरूलाई भुईँमा बसाएको भनेर आलोचना भएको थियो।

पहिलो सभाको आलोचना भएपछि मञ्चको स्वरूप मात्रै फेरिन, वक्ताहरू समेत बदलिए। सोही स्थानमा भएको दोस्रो सभामा रामकुमारी झाँक्री लगायतका महिला नेतृ सहित दलित जनजाति र थारु समुदायका नेतालाई समेत सम्बोधन गर्न दिइएको थियो।

अध्येता कैलाश राईको दृष्टिकोणमा‘ विचार विमर्शका थलोहरूमा पहिलेदेखि एकाधिकार पाएका वर्ग र स्थानका व्यक्तिहरूको एकाधिकार नतोडिएकाले अहिले विरोध भएको’ हो।

‘अहिलेसम्म हरेक क्षेत्रमा समावेशिता भइसकेको हुनुपर्ने हो,’ राईले भनिन् ‘संविधानमा समावेशिताको कुरा लेख्ने तर व्यवहारमा १५ वर्ष अघि जसरी समावेशितामा ध्यान दिइदैनथ्याे  त्यही गरेपछि विरोध हुनु स्वाभाविक हो।;

विश्लेषक आहुतिको तर्क अलि भिन्न छ।

उनी कार्यक्रम समावेशिता भयो या भएन भनेर हेर्नुभन्दा पनि आयोजकले कुन उद्देश्य र कुन स्वार्थले कार्यक्रम गरेको हो भन्ने पनि बुझ्नु पर्ने बताउँछन्। 

‘कसैको उद्देश्य किताब बेच्ने, कसैको राजनीतिक प्रधान हुन सक्छ। समावेशिता बल्ल त्यसपछि आउने हो। सबै कार्यक्रममा सहभागी हुने एउटा समूह छ। जहाँ कार्यक्रम हुँदा पनि वक्ताहरू उनै हुन्छन्,’ उनले भने‘ १० वर्षदेखिका ब्रोडसिटहरु हेर्नुभयो भने विचार लेख्नेहरू त्यही १५÷२० जनामा घुमेको पाउनुहुन्छ।सबैतिर निश्चित 

शासकहरूको शासन चलेको। जसलाई अगाडि ल्याउँदा आर्थिक च्यानल मिल्छ उसैलाई ल्याउने चलन छ।’

अध्येता राई जस्तो सुकै कार्यक्रम भए पनि अब आयोजकले सहजता भन्दा समावेशिता नकार्न नहुने सुझाव दिन्छिन्। 

‘पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा भएको निश्चित वर्ग, निश्चित समुदायको मात्रै उपस्थितिमा प्रश्न उठेर विरोध हुन थालेको छ,’राईले भनिन्‘अब पनि पाठ सिकिएन भने यो भन्दा कडा विरोध हुन सक्छ। जसले विरोध गर्नेले नचाहँदा नचाहँदै पनि समुदायमा खलल पुग्न सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री पत्नी राधिकाको पुस्तक अंश: ओलीलाई देखाउँदै सइले भने ‘गाडी दायाँ लैजा, यो बाँचोस्’

मसँग त्यति प्रबल निजी इच्छा नभएर पनि हुन सक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति....

पदमको विश्रामपुर सार्वजनिक

प्रकाशकका अनुसार उपन्यासमा राजनीतिले लगातार चुसेको देहाती गाउँको कथा समेटिएको छ। आञ्जलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत सङ्ग्रहदेखि यता चार दशकको राजनीतिक,....

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरूमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरूको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर 'कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको....

भट्टीको समाजशास्त्र !

ती हुन्, काठमाडौंको क्षेत्रपाटीबाट सोह्रखुट्टेको उकालो छेउको ‘हजुरको खाजाघर’का साहुजी।  ००० गत शुक्रबार उक्त खाजाघर छिर्दा बेलुकाको साढे ७ बजेको हुँदो हो। खाजाघरभित्र थिए, साहुजीकी....

अब रहर पुग्यो

मैले यसो भनेपछि उसले मेरो हात समातेर रुँदै भनी  “सबै साथीभाइले कोट हाले, आफूलाई पनि कोट लगाउन कस्तो रहर लागेको छ” उसले त्यति मात्र के....