सप्तकोसी नदी बीचको ढुंगा फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध 

सप्तकोसी नदी बीचको ढुंगा फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध 

इटहरी : गत फागुन ८ गते मोरङको विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीको बीचमा रहेको एउटा ढुंगाले जेटबोट चलाउन अवरोध गरेको भन्दै त्यसलाई फुटाउनु पर्ने बताएका थिए।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको किराँती समुदायले विरोध गरेका छन्। 

खुवालुङ संरक्षण अभियानका अभियन्ता इन्द्रहाङ खम्बु (राई) उक्त ढुंगा (खुवालुङ) आफूहरूको सभ्यतासँग जोडिएकाले फुटाउन नहुने माग गर्छन्। 

‘‘खु’ भनेको नदी ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो। किराँतीहरूको धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्रलाई ‘खुवालुङ’ भनिएको हो,’ खम्बुले भने, ‘मानव सभ्यताको सुरुवात नदी किनारबाटै भएको हुँदा ब्रह्मपुत्र नदी पछ्याउँदै आउँदा हाम्रा पुर्खाहरूले त्यही खुवालुङलाई देवता मानेका थिए। त्यहीँ खुवालुङको पूजा गरेपछि पुर्खाहरू तमोर, अरुण र दुधकोसी पछ्याउँदै जाँदा वल्लो किराँत, पल्लो किराँत र माझ किराँत बन्न पुगेको हो।’ 

उक्त ढुंगा धनकुटा र उदयपुरको सिमाना क्षेत्रमा पर्छ। 

‘दुधकोशी पछ्याउँदै जानेहरू कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा, दुङमाली भए। अरूण नदीतर्फ जानेहरू मेवाहाङ, याम्फु, लोहोरुङ भए। तमोर नदी पहिल्याउनेहरू आठपहरिया, छिलिङ, छिन्ताङ, मुगाली भए,’ उनले थपे, ‘हाम्रो किराँती मुन्दुमी नाक्छोङ, धामी, माङपाहरूले धार्मिक कार्य गर्दा खुवालुडमा आएर शक्तिआर्जन गरी आफ्नो कार्यसिद्धि गर्ने हुँदा यो ढुंगालाई किराँतीहरूको मुन्दुमी शक्ति केन्द्रको रूपमा लिने गरिन्छ।’

खुवालुङको छेउमा सुनसरीको धार्मिक स्थल बराह क्षेत्र, कोकाहखोला, चतरा धाम छन्। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको मैनामैनी गढी पनि नजिकै छ। महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पहिचान विषय भएकाले त्यसको संरक्षणमा लाग्न किराँतीहरूले सुझाएका छन्। 

किराँतीहरूले उक्त ढुंगा फुटाउन नहुने भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाइसकेका छन्। 

मुख्यमन्त्री राई पनि किराँती भएकाले खुवालुङको संरक्षण हुनेमा उनीहरू ढुक्क छन्। मुख्यमन्त्री राईले पनि खुवालुङको संरक्षण जरुरी रहेको बताएका छन्। पहिला आफू जानकार नभएको स्वीकार्दै उनले अब वैकल्पिक माध्यमबाट समाधान खोजिन बताए। 

उनको जस्तै तर्क छ, हतुवागडी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको। भोजपुरको हतुवागढी गाउँपालिकाको छेउमा पर्ने खुवालुङबारे आफूहरूले पनि चासो दिएको उनले बताए। 

२६ फागुन, २०७७, २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।