सिडियोसा’प रुद्रादेवी  

सिडियोसा’प रुद्रादेवी  

काठमाडौं : अधिकांश महिला विवाहपछि घर गृहस्थीमै सीमित हुन्छन्। कतिपयले त त्यसपछि चाहेर पनि पढ्न पाउँदैनन्, निजामती सेवा प्रवेश त झन् परको कुरा। 

बाग्लुङ नगरपालिकाकी रुद्रादेवी शर्मा भने यसकी अपवाद हुन्। उनले विवाहपछि पढाइ मात्रै होइन, करिअरमा पनि सफलता हासिल गरेकी छन्। 

अहिले उनी गुल्मीकी प्रमुख जिल्ला अधिकारी (सिडियो) छिन्। 

ग्रामीण विकासमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) गरेकी उनी आफूले निजामती सेवामा प्रवेश गर्नुको प्रेरणा श्रीमान टुकराज शर्मालाई दिन्छिन् उनी। 

‘उहाँ (श्रीमान)ले लोकसेवाको परीक्षा दिन प्रेरणा नदिनुभएको भए म यो सेवामा नहुन पनि सक्थें होला,’ उनले सुनाइन्। 

सानैदेखि पढाइमा अब्बल

बाग्लुङको बाग्लुङ नगरपालिका (साविकको अमलाचौर गाउँ विकास समिति) जन्मिएकी रुद्रादेवी सानैदेखि पढाइमा अब्बल थिइन्। पढाइप्रतिको लगाव पनि थियो उनमा। सधैँ प्रथम भइरहने उनलाई कक्षा ९ मा दोस्रो हुँदा पुरस्कार छोडेर रुँदै घर आएको बिर्सन सक्दिनन् उनी। 

त्यही लगावका कारण उनी एसएलसीमा प्रथम श्रेणीमा पास भइन्। र, आइएस्सीमा भर्ना भइन्। 

आइएस्सी सुरु गर्दा डाक्टर बन्छु भन्ने लागेको थियो उनलाई। ‘विज्ञान विषय पढेपछि डाक्टर बन्ने हो भन्ने थियो। तर, विस्तारै मन फेरियो,’ उनले सुनाइन्। 

विवाहपछि निजामती सेवामा 

उनले निजामती सेवा प्रवेश अगाडी ८/१० वर्ष गैर सरकारी संस्थामा काम गरिन्। त्यसै सिलसिलामा जेण्डर मास्टर प्रशिक्षक भएर काम गरिन्। त्यस क्रममा नीति निर्माण तहमा महिला सहभागिताका सन्दर्भमा विभिन्न प्रसङ्गहरू चल्थे। उनले विगत सम्झँदै भन्छिन्, यसैले  महिला सहभागिता कम भएको महसुस गरायो र निजामती सेवामा प्रवेश गर्ने सोच आयो।’  

त्यो बेला उनी १८ वर्षकी थिइन्। त्यही बेला घरमा विवाहका लागि थुप्रै प्रस्ताव आए। परिवारले विवाह गर्न भनेपछि उनले नकार्न सकिनन्।निजामती सेवाको लक्ष्य र पढाइलाई निरन्तरता दिन केटा पक्षको सहमतिपछि विवाहका लागि उनी राजी भइन। त्यसपछि उनको विवाह भयो।  

गैर सरकारी संस्था र ‘जेण्डर मास्टर प्रशिक्षक’का रूपमा काम गरेपछि उनलाई महिलाले आफ्नो भूमिका देखाउनुपर्छ भन्ने महसुस गरायो। यसलाई पनि निजामती सेवा प्रवेशको टर्निङ प्वाइन्टका रूपमा ठान्छिन् उनी। 

श्रीमानको प्रेरणा

उनका श्रीमानले हरेक बुधबार ‘गोरखापत्र’ दैनिकमा छापिएको विज्ञापनको कटिङ ल्याउने गर्थे। 

‘लोक सेवा परीक्षाबारे मैले त्यति ख्याल गरेको थिइनँ। श्रीमानले भने हरेक बुधबार ‘गोरखापत्र’ दैनिकको विज्ञापन कटिङ गरेर ल्याइदिनुहुन्थ्यो,’ उनले सम्झिइन्, ‘म भने अहिले काम गरिरहेको छु। पछि लोक सेवा फाराम भरौंला भन्थें। तर, उहाँले मलाई ‘तिमी गर्न सक्छौं’ भन्दै प्रेरित गर्नुहुन्थ्यो।’

श्रीमानको प्रेरणापछि उनमा लोक सेवा परीक्षा पास गर्न सक्ने आत्मविश्वास पलायो। र, २०६३ सालमा शाखा अधिकृत पदमा फाराम भरिन्।

तर, त्यो बेला उनलाई सफलता हात लागेन। त्यसो त उनले त्यो बेला तयारीका लागि पनि पर्याप्त समय पाएकी थिइनन्। 

तैपनी उनले हार मानिनन्। र, परीक्षाको तयारी निरन्तर गरिरहिन्। 

२०६६ सालमा दोस्रो पटक शाखा अधिकृतको परीक्षा दिइन् उनले। त्यो बेला भने उनको मेहनत खेर गएन। उनी शाखा अधिकृतमा पास भइन्।

तर, यसको जानकारी साथीबाट पाएकी थिइन् उनले। ‘लोक सेवामा नाम निस्किएपछि कुनै साथीले फोन गरेर बधाइ दिएको थियो,’ उनले सम्झिइन्। 

त्यो बेलाको खुसी वर्णन गर्न नसकिने उनी बताउँछिन्। ‘परिश्रमको सफलताले खुसी नै मिल्ने रहेछ,’ उनी भन्छिन्। 

९ वर्षमै शाखा अधिकृतबाट सहसचिव 

निजामती सेवामा सिफारिस भएपछि तत्कालीन सामान्य प्रशासन मन्त्रालयबाट तीन महिने तालिम लिइन् उनले। त्यसपछि उनको पोस्टिङ राष्ट्रिय योजना आयोगमा भयो। त्यहाँ उनले ६ वर्ष सेवा गरिन्। 

शाखा अधिकृत भएर काम गरिरहँदा पनि उनलाई लोक सेवा परीक्षा दिने भोक मेटिसकेको थिएन। त्यसैले उनले उपसचिव पदमा परीक्षा दिइन्। र, पहिलो पटकमै २०७२ सालमा उपसचिवमा पास भइन्। 

त्यसपछि उनको पोस्टिङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भयो। उनले त्यहाँ ३ वर्ष सेवा गरिन्। 

उनले २०७५ सालमा सहसचिवमा नाम निकालिन्। र,  सोही वर्षको जेठबाट बाग्मती प्रदेश, मुख्यमन्त्री कार्यालयको सचिवको जिम्मेवारी पाइन्। 

त्यसको ६ महिनामै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उनको सरुवा भयो। त्यहाँ महिला सशक्तीकरण महाशाखा प्रमुखको रूपमा १३ महिना बिताइन उनले। त्यसपछि श्रम मन्त्रालयमा सरुवा भइन्। 

पहिलो पटक रामेछापकी सिडिओ

सहसचिव भएको केही समयपछि उनलाई जिल्लाको नेतृत्व गर्ने इच्छा पलायो। उनको त्यो रहर पूरा भयो २४ माघ २०७६ मा। 

‘मलाई सिडिओको रूपमा जिल्ला जानुपर्छ भन्ने लाग्थ्यो। त्यसले नै मलाई गृह प्रशासनमा जान प्रेरित गर्याे,’ उनी भन्छिन्। 

उनले पहिलो पटक रामेछापको सिडिओको जिम्मेवारी पाइन्। उनीअघि रामेछापमा उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी)ले सिडिओको जिम्मेवारी पाउँथे। तर, सरकारले त्यहाँ राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को दरबन्दी कायम गरेपछि उनले त्यहाँको जिम्मेवारी पाइन्। र, जिल्लाको ४१ औँ सिडियो बनिन्। 

सिडियो बन्नु उनका लागि नयाँ जिम्मेवारी थियो। कारण– जिल्लाको शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी। 

यसअघि उनले यस्तो जिम्मेवारी निर्वाह गरेकी थिइनन्। 

त्यहाँ कार्यरत रहेको झण्डै साढे दुई महिनापछि उनलाई अर्काे चुनौती थपियो। त्यो थियो– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी। महामारीका कारण चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको थियो। 

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै खटियो। आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापनमा सक्रिय हुनुपर्याे,’ उनले भनिन्। 

कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएकाले रामेछाप देशभरकै कम प्रभावित जिल्ला रहेको उनको दाबी छ। ‘मेरो कार्यकालमा रामेछापमा कोरोनाका कारण कसैको पनि मृत्यु भएन,’ उनले भनिन्। 

रामेछापपछि उनी ८ पुस २०७७ मा गुल्मीमा सरुवा भइन्। 

‘आत्मविश्वास भए सफलता हासिल गर्न सकिन्छ’

उनी आत्मविश्वास, दृढ इच्छाशक्ति र लगनशीलताका साथ लाग्न महिलालाई सुझाव दिन्छिन्। ‘आत्मविश्वास, दृढ इच्छाशक्ति र लगनशीलता भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,’ उनको सुझाव छ। अधिकार भन्दै हिँडेर मात्र पनि पुग्दैन, आफू पनि लाग्नु पर्ने उनको सुझाव छ। सङ्घर्ष निरन्तर गरे अवसरले पनि पछ्याउने उनको विश्वास छ। 

यस्तै, उनी महिला आन्दोलनलाई समय अनुसार फरकरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता देख्छिन्। ‘महिला सशक्तीकरणका लागि धेरै प्रयास भएका छन्। पुरुषलाई मात्र गाली गरेर हुँदैन। उपलब्धिमूलक काम गरेर देखाउनुपर्छ,’ उनी भन्छिन्। 

महिलामाथिको विभेद हटाउन परिवार र समाजबाटै सुरु गरिनुपर्ने उनको बुझाइ छ। ‘नेपाललाई समानतामूलक राष्ट्रको परिकल्पना गरिएको छ। छोराछोरीलाई शिक्षा, स्वास्थ्य र पालनपोषन समान व्यवहार गरे विभेद स्वतः हटेर जान्छ,’ उनी भन्छिन्। 

अवसर र प्रेरणा पाए महिलाले जुनसुकै काममा सफलता पाउँछन् भन्ने उदाहरण हुन् उनी। 

‘महिलालाई नेतृत्व तहमा पुर्याउन अवसर र प्रेरणा त छँदैछ। महिला स्वयंले पनि मेहनत गर्नुपर्छ,’ उनी भन्छिन्। 

२६ फागुन, २०७७, १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।