सुखको आस देखाएका कमल जब लास बनेर फर्किए

सुखको आस देखाएका कमल जब लास बनेर फर्किए

इटहरी : गत असोज ८ गते खाना खाएर सुतेका इटहरीका कमल कार्कीको साउदी अरबमा मृत्यु भयो। उच्च रक्तचापका बिरामी कार्कीको मस्तिष्कघातको कारण निधन भएको थियो। परिवारलाई सुख दिन्छु भनेर उनी बिदेसिएका थिए। तर परिवारलाई भुल्न नसक्ने पिडा दिएर बिदा भए।

उनको मृत्युको खबर सुनेदेखि बौरिन सकेको छैन कार्की परिवार।

कमलकी श्रीमती गोमा अहिले पनि खुलेर बोल्न सक्दिनन्। उकेराकर्मी कार्कीको घर पुग्दा पसलमा सामान बेचिरहेकी कमला बाहिर निस्किइन्। सामान्य कुराकानीमै उनी निकै हताश देखिइन्। एक्कासि बोल्नै छाडिन्। 

श्रीमान्को बारेमा सोध्नासाथ उनले बुबा (ससुरा) आएपछि कुरा गर्न आग्रह गरिन्। बुबा (मानबहादुर कार्की) भने बाहिर घुम्न निक्लिएका रहेछन्। घरमा सबै भएको बेला मात्र कुरा गर्न सकिने बताइन् उनले। बिर्सँदै गएको घटनाबारे सोध्दा पिडा बल्झिन्छ भन्दै उनी मौन बसिन्।

ढोकामा उभिइरहेकी छोरी सन्ध्या पनि एकोहोरो भइन्। बुबाको स्मरणले उनलाई पनि भावुक बनायो। ढोकामा उभिइरहेकी सन्ध्या भित्र छिरिन्। कमलाले थप केही बोल्न आँट गरिनन्। बुवासँग कुरा गर्दा सजिलो हुन्छ भनिरहिन्।

त्यत्तिकैमा मानबहादुर टुप्लुक्क आइपुगे। थकित देखिएका थिए उनी। उनले पनि खासै बोल्न मन गरेनन्। पिडा मिश्रित स्वरमा उनले प्रश्न गरे ‘पहिले श्रीमती गुमाए। अहिले छोरो गुमाए। मरेको छोरो फर्किन्छ र बाबु?’

श्रीमती गुमाएको ७ वर्ष पुरा भएकै दिन छोराको शव घर भित्रिएको थियो। २०७० साल कात्तिक १ गते उनले श्रीमती गुमाएका थिए। 

‘हाम्रो यो दुख्दै गएको घाउलाई कोट्याएर के फाइदा हुन्छ? हाम्रो दुःख पिडा अरूलाई भनेर केही पनि हुँदैन,’ उनले भने‘ त्यो बेला दिनहुँ रुवाबासी हुँदा कसैले सम्झिएन। अहिले कसलाई दोष दिनु? आफ्नै कर्मको दोष भन्नुपर्यो,’ उनले भने।

असोज ८ गते कोठामा खाना खाएर सुतेका कमल बिरामी भएका थिए। अस्पताल पुगेको केही समयमै उनको मृत्यु भयो। कम्पनीले आफ्नै प्रक्रियाले २१ दिनपछि शव नेपाल पठाइदियो। 

मृत्युपछि उनको आफ्नै साथीले समेत शव हेर्न नपाएको गोमा बताउँछिन्। ‘पछि १ करोड रुपैयाँ आउँछ भन्ने सुनेको थिए। अहिलेसम्म अत्तोपत्तो छैन,’ उनले भनिन्।

कमल १८ वर्षदेखि वैदेशिक रोजगारीमा थिए। नेपाल आउजाउ गरिरहन्थे उनी। गत वैशाखमा आउन खोजेका उनी लकडाउनले गर्दा अड्किए। यही फागुन पहिलो साता घर आउने तयारीमा थिए उनी। उनी आउन त आए बासकमा बन्द भएर।

‘नेपालमा अवसर छैन। सरकारले कसैलाई राम्रो अवसर दिनुपर्छ भनेको छ? नेपाल सरकारको भरोसा गरेर कोही युवा बाँच्न सक्छन्? त्यस्तो केही हुँदैन,’सरकार प्रति आक्रोशित हुँदै उनले भने ‘नेताको झोला बोकेर हिँड्ने र बिना काममा गफ गरेर खानेका लागी मात्र सरकारले काम गर्छ। सरकारकै कमजोरीले नेपालीका छोराहरू विदेशमा मर्न बाध्य छन्। राम्रो काम गर्ने मान्छे नेपालमा बस्नै सक्दैन।’

अनुमानित ४० लाख युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा छन्। धेरै युवाहरू झोलाभरि पैसा ल्याउने सपना बोकेर बिदेसिएर फर्कँदा बाकसमा बन्द भएर आउँछन्।

वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्याङ्क अनुसार गत असोज सम्म ५ सय २ जना नेपालीको विदेशमा मृत्यु भयो। त्यसमध्ये २ सय ६८ जनाको नेपालमै र बाकी २३४ को सम्बन्धित देशमै अन्त्येष्टि गरिएको थियो।

२६ फागुन, २०७७, १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।