काँग्रेस सरकारमा गए मुलुकका लागि दुर्भाग्य : कमल थापा

काँग्रेस सरकारमा गए मुलुकका लागि दुर्भाग्य : कमल थापा

भैरहवा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अपवित्र गठबन्धनको खेलमा नलाग्न नेपाली काँग्रेसलाई सुझाव दिएका छन्। उनले ताजा जनादेश नै अहिलेको लागि उत्तम विकल्प रहेको बताए।

पार्टीले शुक्रवार भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अहिलेको समयमा काँग्रेस सरकारमा गए मुलुकका लागि दुर्भाग्य हुने बताए। 

नेकपा विभाजन भएमा सरकार गठनको बल काँग्रेसको कोर्टमा पुग्ने भएकाले काँग्रेस फोहोरी राजनीतिको खेलमा लाग्न नहुने थापाको सुझाव छ।

‘अहिले मुलुकसामु दुई वटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव”–उनले भने–‘काँग्रेसले दोस्रो विकल्प रोज्नुपर्छ, जसले मुलुक र काँग्रेस दुवैलाई हित गर्छ।’

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य र ऐतिहासिक कदम भएको बताए। सरकारले विप्लव नेतृत्वको पार्टीलाई मूलधारमा ल्याएर ठुलो सफलता हासिल गरेको थापाको भनाइ छ। 

२१ फागुन, २०७७, २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।