निर्वाचन आयोगलाई दाहाल–नेपाल पक्षको प्रश्न–आधिकारिकता दिन किन ढिला? 

निर्वाचन आयोगलाई दाहाल–नेपाल पक्षको प्रश्न–आधिकारिकता दिन किन ढिला? 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र नै लेखेर आफ्नो पक्षमा आधिकारिकता दिन किन ढिलाइ भनेर प्रश्न गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई पत्र लेखेर आधिकारिकता ढिलाइबारे प्रश्न गरेका हुन। 

दाहाल–नेपालले आयोगलाई लेखेको पत्रमा नेकपाको आधिकारिक अध्यक्षको हैसियतमा कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गरिएको छ।

केपी शर्मा ओलीलाई पुस ७ देखि ९ सम्म बसेको केन्द्रीय कमिटी बैठकले अनुशासनको कारबाही गरी हटाएको र  केन्द्रीय कमिटीबाट रिक्त अध्यक्ष पदमा २ जनालाई चयन भएकाले आधिकारिकता आफूले नै पाउनुपर्ने दाबी पत्रमा गरिएको छ। 

प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेको संसद् विघटनको निर्णय सर्वोच्च अदालतको फैसलाबाट बदर भएकोले फरक परिस्थितिलाई हेरेर समेत आधिकारिकता विवाद छिटो टुङ्ग्याउन दाहाल नेपाल पक्षले भनेको छ।

‘ढिलो न्याय दिनु न्याय नदिनु जस्तै हो’ भन्ने सिद्धान्तलाई समेत आत्मसाथ गर्न जरुरी छ’ पत्रमा आयोगलाई आग्रह गर्दै भनिएको छ। 

आयोगले पत्र आएको पुष्टि गर्दै विवाद टुङ्गो लगाउनेबारे प्रक्रिया जारी रहेको जनाएको छ।

कहिले टुङ्गो लाग्छ आधिकारिकता विवाद?

जटिल प्रकारको विवाद भएकाले टुङ्गो लगाउन आयोगलाई हम्मे हम्मे परेको छ। निर्वाचन आयोग विवाद टुङ्गो लाग्ने समयबारे यसै भन्न नसकिने बताउँछ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ विवाद अध्ययन र छलफलकै क्रममा रहेको बताउँछन्।

‘विवाद आयोगमा आएको एक महिना पुग्यो, निर्णय केही भइसकेको छैन, छलफल र अध्ययन भइरहेको छ,’ उनले भने, ‘जटिल विषय भएकाले यसै भन्न सकिने अवस्था छैन।’ आयोगले दुवै पक्षसँग छलफल जारी राखेको जनाएको छ। 

२१ फागुन, २०७७, २०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।