ओली नेतृत्वको सरकारमा नजान काँग्रेस सांसदको सुझाव

ओली नेतृत्वको सरकारमा नजान काँग्रेस सांसदको सुझाव

काठमाडौँ : नेपाली काँग्रेसका सांसदहरूले केपी ओली नेतृत्वको सरकारमा जान नहुने सुझाव दिएका छन्।

काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले जसको विरोधमा आन्दोलन गरेको हो उसैको नेतृत्वमा सरकारमा जान नहुने सुझाव आएको काँग्रेस सांसद तेजुलाल चौधरीले जानकारी दिए। सरकारमा जानु परे काँग्रेसकै नेतृत्वमा जानुपर्ने सुझाव पनि आएको उनले बताए। 

संसदीय दलको बैठकले सरकारमा सहभागिताबारे छलफल गरे पनि निर्णय गरेको छैन। ‘नेकपा अहिलेसम्म एउटै छ, फुटिसकेको छैन, बैठकमा आएका धारणा सुनाउँदै उनले भने, काँग्रेस अहिले पर्ख र र हेरको अवस्था छ।’

काँग्रेसले नेकपाको गतिविधि नियाल्दै निर्णय गर्ने नीति लिएको छ। काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपाका गतिविधि नियाल्दै निर्णय गर्ने बताए। संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै खाँडले काँग्रेसको निर्णय नेकपाको गतिविधिमा भर पर्ने बताएका हुन्।

उनले मुलुकमा देखा परेका समस्या समाधान गर्न काँग्रेस तयार रहेको बताउँदै अविश्वासको प्रस्तावबारे उचित समयमा निर्णय गर्ने जानकारी दिए। 

नेपाल भारत सीमा नाका सञ्चालन नहुँदा आवतजावतमा समस्या भएको बताउँदै चाँडो नाका सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको खाँडको भनाई छ। 

२१ फागुन, २०७७, १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।