काँग्रेस प्रवक्ताको प्रश्न : हतियार बुझाउने चौथो बुँदा खोइ प्रधानमन्त्रीज्यू ?

काँग्रेस प्रवक्ताको प्रश्न : हतियार बुझाउने चौथो बुँदा खोइ प्रधानमन्त्रीज्यू ?

काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबिच भएको तीन बुँदे सहमतिमा हतियारबारे केही उल्लेख नगरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लवसँगको हतियारबारे सहमति नभएकोबारे सरकारसँग प्रश्न सोधेको छ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत हतियार बुझाउनेबारे चौथो बुँदा खै भनेर प्रश्न गरेका हुन्। सरकार र नेकपाबिच भएको सहमतिमा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत र  नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत भएको मात्र उल्लेख छ।

विप्लव माओवादीले हिंसात्मक गतिविधि अगाडि बढाउँदै आएको थियो। उसका नेता कार्यकर्ता हतियारसहित पक्राउ पर्ने गरेका थिए भने सुरक्षा सङ्गठनले उनीहरूसँग माओवादी विद्रोहताकाको हतियार रहेको निष्कर्ष निकालेको थियो।

तर सरकारसँगको सहमतिमा भने हतियारबारे केही उल्लेख छैन।

काँग्रेसका प्रवक्ता शर्माले ट्विट गरे ‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ प्रधानमन्त्रीज्यू ? सिङ्गो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ।’

२१ फागुन, २०७७, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।