प्रचण्डको त कुरै छाडौँ, सिके राउत जत्तिको हैसियत पनि पाएनन् विप्लवले

प्रचण्डको त कुरै छाडौँ, सिके राउत जत्तिको हैसियत पनि पाएनन् विप्लवले

काठमाडौँ : २०७५ फागुन २४ गते पृथकतावादी आन्दोलनलाई तीव्रता दिन कस्सिएका सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन जहाँ सरकार र उनीबिच सम्झौता भएको थियो, २०७७ फागुन २० मा त्यही सभा हलमा सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबिच उस्तै प्रकृतिको सहमति भयो।

त्यो बेला केपी शर्मा ओली प्रधानमन्त्रीकै हैसियतमा थिए। उनले हात मिलाएर राउतलाई पृथकतावादी अभियान त्यागेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा सक्रिय हुने कसम खुवाएका थिए।

पछाडिको ब्यानरमा राजनीतिक सहमति घोषणा कार्यक्रम लेखिएको थियो। मञ्चमा दाहिनेतिर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल थिए भने देब्रेतिर राउत बसेका थिए। 

यी तीनै जनाको कुर्सीको पोजिसन लगभग उस्तै थियो। अगाडि राखिएको टेबल उस्तै थियो। अनि एकै लहरमा बसेका तीनै जनाका लागि व्यवस्था गरिएको कुर्सी पनि उही थियो।

प्रधानमन्त्री ओली उस्तै हैसियतको सम्मान दिएर राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए। सोही दिनको कार्यक्रमपछि राउत नयाँ पार्टी घोषणा गरेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा सक्रिय छन्।

तर शुक्रवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द सार्वजनिक हुने र सरकार र उनीबिचको वार्ता समितिबिच भएको सहमति पत्रमा सार्वजनिक मञ्चमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमको दृश्य भने समान देखिएन।

विप्लवले कार्यक्रममा न्याय र समानताका लागि सशस्त्र सङ्घर्षको बाटो समातेको बताएका थिए। तर त्यो असमानता मञ्चमै गरिएको उनले कत्तिको ख्याल गरे कुन्नि।

शुक्रवार आयोजित कार्यक्रमको नामकरण गरिएको थियो ‘नेपाल सरकार र नेकपा कम्युनिस्ट पार्टीबिच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह।

सिके राउतसँगको कार्यक्रम

 ब्यानरले यो कार्यक्रम राउतसँगको भन्दा बढी महत्त्वको हो भन्ने देखाउँछ नै। शक्ति र सङ्गठनसँगै राजनीतिक प्रभावको आधारमा राउतभन्दा विप्लव समूहको प्रभाव बढी नै छ। राउतले सरकारको प्रतिबन्ध खेपेर भूमिगत हुनुपरेको थिएन। विप्लव सरकारले प्रतिबन्ध लगाएको दलको नेता हुन्।

विप्लवसँग रातारात सहमति भएको हैन : प्रधानमन्त्री ओली

तर सहमति पत्र हस्ताक्षर कार्यक्रममा समानता भने देखिएन। प्रधानमन्त्री ओली र विप्लवका लागि राखिएको कुर्सीको पोजिसन फरक थियो नै कुर्सी समेत फरक थियो।

विप्लवसँगको कार्यक्रम

विप्लवसहितका अन्य नेताहरूका लागि पहिलो लहरमा राखिएको कुर्सी समान प्रकारका थिए। प्रधानमन्त्री ओलीका लागि मञ्चको बिचमा राखिएको कुर्सी विप्लवसहित अन्य नेताहरू बसेको भन्दा फरक र अलि भव्य नै थियो।

०००

२०६३–०६३ को जनआन्दोलन सफल भएपछि २०६३ असार २ गते तत्कालीन नेकपा माओवादीका २ नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एकाएक बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा सार्वजनिक भएका थिए।

सार्वजनिक कार्यक्रम स्थल त्यत्ति भव्य थिएन। प्रचण्ड र बाबुरामले भने एकै रङ्गको कपडा लगाएका थिए खैरो। यी दुवै नेताले भूमिगत राजनीतिक जीवन त्यागेर खैरो सर्ट-पाइन्टमा पहिलो पटक सार्वजनिक भएका थिए।

राष्ट्रिय सभा गृहमा सार्वजनिक भएको विप्लव समूहका तीन नेताले त्यो बेला दाहाल–भट्टराईले जस्ताे ढोङ भने देखाएन। मञ्चमा रहेका तीन नेता तीन प्रकारको कपडामा थिए।

विप्लव हेर्न सभागृह अगाडि पुगेको भिड

विप्लव खजमजिएको कालो कोट र कालै पाइन्टमा कार्यक्रममा उपस्थित भएका थिए। उनले सर्टभित्र लगाएको टिसर्ट घाँटीको कुनाबाट च्याइरहेको थियो। प्रकाण्ड कालो कोट र खैरो पाइन्टमा थिए। उनले भित्र स्विटर समेत लगाएका थिए। अर्का दिनेशले खैरो सर्ट र पाइन्टसँगै चेक सर्ट लगाएका थिए। तीन नेताको पोसाक तीन थरी थियो।

नेपाली जनताको चाहना पुरा भएको छैन : विप्लव 

सरकारी टोलीतर्फ प्रधानमन्त्री ओली भव्य पोसाकमा कार्यक्रममा उपस्थित थिए दौरा सुरुवालसहित। कालो टोपी, निलो कोट अनि मफलरसहित आएका थिए प्रधानमन्त्री ओली।

ईश्वर पोखरले र सुवास नेम्वाङ दौरा सुरुवालका साथ आएका थिए भने सरकारी वार्ता टोलीका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल कोट र पेन्टमा थिए। उनले सेतो सर्ट लगाएका थिए।

०००

२०६३ असार २२ गते प्रचण्ड र भट्टराई सार्वजनिक भए पनि बृहद शान्ति सम्झौता भने २०६३ मङ्सिर ५ मा भएको थियो।

सरकार र तत्कालीन विद्रोही माओवादीबिच भएको सहमतिलाई सार्वजनिक गर्न नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा कार्यक्रम राखिएको थियो।

बृहत् राजनीतिक सहमति

 सहमति पत्र हस्ताक्षर कार्यक्रममा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीको हैसियतमा थिए। प्रचण्ड विद्रोही पार्टीको अध्यक्षको हैसियतमा सहभागी थिए। मञ्चको पहिलो लहरमा काँग्रेस, तत्कालीन नेकपा एमाले लगायतका दलका नेता समेत थिए। पछिल्लो लहरमा समेत अन्य पार्टीका नेताहरूको उपस्थिति थियो।

सो सहमति पत्र हस्ताक्षर कार्यक्रमको तस्बिर हेर्ने हो भने शुक्रवार आयोजित कार्यक्रममाझै बसाइँदेखि कुर्सीको आकार प्रकारसम्मको विभेद देखिन्न।

सरकार र विप्लवबिच सहमतिमा हस्ताक्षर

तत्कालीन प्रधानमन्त्री कोइराला र विद्रोही पार्टीको अध्यक्ष प्रचण्ड समान हैसियतमा मञ्चमा बसेका थिए। दुवैको कुर्सी उस्तै थियो। बसाई उस्तै थियो। कोइराला दौरा सुरुवालमा थिए, प्रचण्ड कोट र पाइन्टमा।

२१ फागुन, २०७७, १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।