मलेसियामा कार्यरत नेपालीको मृत्यु भए परिवारलाई आजीवन भत्ता 

मलेसियामा कार्यरत नेपालीको मृत्यु भए परिवारलाई आजीवन भत्ता 
तस्बिर : फोकसमलेसिया डट एमवाई।

नेपाली श्रमिकहरूलाई मलेसियाको सामाजिक सुरक्षा संस्था सोसल सेक्युरिटी अर्गनाइजेसन  (सोक्सो)मा सूचीकृत गराउने सम्झौता भएसँगै नेपालीहरू सामाजिक सुरक्षाको दायरामा समेटिने भएका हुन्। 

नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा समेट्न नेपाल र मलेसियाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। 

नेपालका तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सोक्सोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) दातो डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका हुन्। श्रेष्ठले नेपालमा फागुन ४ गते र मोहम्मदले मलेसियामा फागुन १४ गते हस्ताक्षर गरे। 

श्रमिकलाई के–के छन् सुविधा ? 

सोक्सोमा सूचीकृत भइसकेपछि श्रमिकको आधारभूत पारिश्रमिकको १ दशमलव २५ प्रतिशत रकम प्रत्येक महिना रोजगारदाताले सोक्सोमा जम्मा गरिदिनुपर्ने प्रावधान छ। सोक्सोमा सूचीकृत श्रमिकहरू कार्य अवधिभित्र कार्यस्थल दुर्घटना परेमा, अंगभंग भएमा तथा बिरामी भएको अवस्थामा समेत सोक्सोले उपचार व्यवस्था गर्नेछ।

सोक्सोमा आवद्ध भएका विदेशी श्रमिकहरूले ‘इम्प्लोइमेन्ट इन्जुरी स्किम फर फरेजन वर्कर’ योजनाअन्तर्गत सामेल हुन पाउँछन्। उक्त योजनाअन्तर्गत श्रमिकहरूलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लागेमा सोवापत तोकिएको क्षतिपूर्ति उपलब्ध गराइने छ।

यो योजनाअन्तर्गत स्वास्थ्य, अस्थायी असक्षमता, स्थायी असक्षमता तथा आश्रित सुविधासँगै निरन्तर उपस्थित भत्ता, अन्त्येष्टि खर्च तथा पुनःस्थापना सुविधाको व्यवस्था गरिएको छ। उल्लेखित सुविधाहरू कतिपय श्रमिक तथा तिनका परिवार अथवा रोजगारदातालाई उपलब्ध हुने बताइएको छ। श्रमिकका हकवालालाई सुविधाहरू उपलब्ध गराउन सोक्सोले परिवारको लगत अद्यावधिक गरिरहेको जनाएको छ। 

वैदेशिक रोजगार बोर्डको सहयोग तथा दूतावासको समन्वयमा परिवारको लगत अद्यावधिक गरिने बोर्डले जनाएको छ। 

दुर्घटना तथा बिरामी हुँदा निःशुल्क उपचार 

सोक्सोमा आबद्ध भएपछि मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरू दुर्घटनामा परेमा अथवा बिरामी भएमा निःशुल्क उपचार सुविधा पाउने छन्। 

यो सुविधा पाउनका लागि श्रमिकहरूले मेडिकल रिपोर्ट, परिचय पत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फारम भरेर सोक्सो कार्यालयमा पेस गर्नुपर्ने छ। 

कम्पनी जाने वा फर्कने क्रममा दुर्घटना भएको अवस्थामा प्रहरी रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको नक्सा सामेल गर्नुपर्ने छ।

कार्यस्थलमा रोगबाट पीडित भएका श्रमिकहरूका लागि सोक्सोसँग आवद्ध सरकारी क्लिनिक, सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा श्रमिकहरूले पाउनेछन्। 

पूर्ण असक्षमता भएका श्रमिकलाई भत्ता

पूर्णरूपमा असक्षमता भएका अथवा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका अथवा निरन्तर हेरचाहको आवश्यकता पर्ने गरी अंगभंग भएका श्रमिकहरूले भत्ता पाउने छन्। उनीहरूको हकमा तोकिएको मेडिकल रिपोर्ट तथा बोर्डको सिफारिस समेतका आधारमा निरन्तर उपस्थित भत्ता पाउने व्यवस्था गरिएको छ।

श्रमिक दुर्घटनामा परी स्थायीरूपमा आम्दानी गर्न असक्षम भएकाको अवस्थामा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमताको लाभ पाउन सक्ने उल्लेख छ। अस्थायीरूपमा काम गर्न असक्षम भएकाहरूले आय आर्जन तोकिएका सर्तका अधीनमा रही पारिश्रमिकको ८० प्रतिशतसम्म पाउने व्यवस्था छ। 

मृतकका परिवारलाई भत्ता

श्रमिकको मृत्यु भयो भने मलेसियामै अथवा नेपालमा अत्येष्टि गर्नका लागि दाहसंस्कार खर्च सोक्सोले उपलब्ध गराउने छ। आश्रित सुविधाअन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको श्रीमान् अथवा श्रीमतीले आजीवन दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम पाउने व्यवस्था छ।

मृतकका सन्तानले भने २१ वर्षको उमेरसम्म आमा अथवा बुबामध्ये एकजना जीवितै रहेको अवस्थामा ४० प्रतिशतका दरले भत्ता पाउने छन्। आमाबुबा दुवैको मृत्यु भएको अवस्थामा २१ वर्षको उमेरसम्म दैनिक तलबको ६० प्रतिशत रकमका दरले हुने आउने रकम सोक्सोले उपलब्ध गराउने छ। अविवाहित भएमा अथवा श्रीमान्, श्रीमती, छोरा, छोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबुबा हजुरआमाले दैनिक तलब दरको ३० देखि ४० प्रतिशतका दरले हुने आउने रकम आजीवन पाउन सक्ने व्यवस्था छ। 

३ लाख नेपाली सामाजिक सुरक्षाको दायरामा 

मलेसिया सरकारले सन् २०१९ जनवरी १ देखि सम्पूर्ण आप्रवासी श्रमिकहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो। १ जनवरी २०२० देखि यो कार्यक्रम कार्यान्वयन भइसकेको छ।

मलेसियाले यो कार्यक्रममा सबै आप्रवासीहरूलाई समेट्न सम्बन्धित मुलुकहरूसँग छुट्टै समझदारी समेत गर्दै आइरहेको थियो। नेपालसँग पनि यसका लागि समझदारी गर्ने विषय दुई वर्ष अगाडिदेखि नै उठिरहेको थियो। तर, समझदारी प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई सोक्सोमा आबद्ध गराउन नेपाल सरकारलाई पटक–पटक प्रस्ताव गरेको थियो। तर, त्यतिबेला सरकारले त्यसमा चासो नदेखाउँदा मलेसियाले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको दुई वर्षपछि मात्रै सम्झौता भएको मन्त्रालयका एक अधिकारीले बताए। 

‘मलेसिया सरकारले अघि सारेको व्यवस्था नेपाली श्रमिकहरू तथा परिवारका लागि निकै राम्रो सुविधा हो। तर, यो विषयमा सरकारले नबुझेर चासो देखाएन। बल्लबल्ल समझदारी भयो। यो नेपाली श्रमिकहरूका लागि निकै महत्त्वपूर्ण रहने छ,’ ती अधिकारीले भने। 

तत्कालीन मन्त्री गोकर्ण विष्टको समयदेखि मलेसियाले नेपाली श्रमिकहरूलाई सोक्सोमा आवद्ध गराउन प्रस्ताव गरिरहेको ती अधिकारीले बताए। तर, त्यो समयमा मन्त्री विष्टले नेपाली श्रमिकहरूलाई मलेसिया जान झण्डै १५ महिना प्रतिबन्ध लगाए। त्यसपछि यो कार्यक्रम कार्यान्वयनका लागि समझदारी हुन सकेको थिएन। समझदारी नभए पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकहरूलाई सोक्सोमा आबद्ध गराइरहेका थिए। 

मलेसियाका लागि नेपाली दूतावासका अनु्सार हालसम्म मलेसियामा कार्यरत तीन लाख नेपाली सोक्सोमा आबद्ध भइसकेका छन्। समझदारी भएसँगै मलेसियामा कार्यरत करिब पाँच लाख नेपाली त्यहाँको सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित हुने विश्वास सरकारको छ। 

१८ फागुन, २०७७, २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।