सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरियो इञ्जा पुरस्कार

सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरियो इञ्जा पुरस्कार

काठमाडौं: सञ्चारकर्मी टपेन्द्र कार्की र सुशील पन्त नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालले स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार २०२० बाट पुरस्कृत भएका छन्। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले राजधानीमा आयोजित एक कार्यक्रममा दुवै सञ्चारकर्मीलाई पुरस्कार प्रदान गरेका थिए।

नागरिक दैनिकमा कार्कीले लेखेको नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमितता र ठगी सम्बन्धी समाचारलाई सञ्जाले खोजी पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो। लोकान्तर डटकममा कार्यरत पन्तले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दसैँ भत्ता लिएको समाचार लेखेका थिए ।

पुरस्कार वितरण एवं सम्मान समारोहमा सम्बोधन गर्दै सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुनः स्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्र मोर्चामा खडा भएको बताए।

‘एउटा महान् बहसमा नेपाली पत्रकारिता जगत अग्र मोर्चामा खडा भयो,’ सापकोटाले भने, ‘मैले त्यो बहसलाई समुद्र मन्थनको रूपमा नै लिएको छु,’ उनले भने।

सो अवसरमा साहित्यकार राजेन्द्र पराजुलीलाई उत्कृष्ट साहित्यिक पुरस्कार तथा इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बझाङका पत्रकार वसन्तप्रकाश सिंह, रुपन्देहीकी पत्रकार नीरा गौतम र दोलखाकी पत्रकार मन्दिरा थापालाई प्रदान गरिएको थियो।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता अध्यापन गराउँदै आएका लाल देउसा राईलाई इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरियो। लामो समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई पनि सम्मान गरिएको थियो।  

१७ फागुन, २०७७, २३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।