नेपालको इस्लामी सङ्घले सहयोग लिने संस्था आइएचएचको सम्बन्ध अलकायदासँग रहेको दाबी

नेपालको इस्लामी सङ्घले सहयोग लिने संस्था आइएचएचको सम्बन्ध अलकायदासँग रहेको दाबी
सङ्घले सञ्चालन गरेको राहत वितरण कार्यक्रम। तस्बिर : इस्लामी सङ्घ

काठमाडौँ : इस्लामी सङ्घ नेपालले आर्थिक सहयोग लिइरहेको टर्कीको संस्थाको सम्बन्ध अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदासँग रहेको दाबी सार्वजनिक भएको छ।

सङ्घले टर्कीको ‘फाउन्डेसन फर ह्युमन राइटस् एन्ड फ्रिडम्स एन्ड ह्युमनटेरीयन रिलिफ’ (आइएचएच)सँग आर्थिक सहायता लिइरहेको छ।

सङ्घका अध्यक्ष खुर्सिद आलमले उकेरासँगको कुराकानीमा मदरसाको भवन बनाउन तथा मुस्लिम समुदायको शिक्षाका लागि आइएचएचसँग सहयोग लिइरहेको पुष्टी गरे।

टर्कीको अनलाइन पत्रिका नोर्डीक मनीटर डटकममा प्रकाशित समाचार अनुसार द्धन्द्धग्रस्त इलामिक देशहरूमा मानवीय सहयोग पूर्याउन सक्रिय भनिएको यो सङ्गठनको सम्बन्ध अलकायदासँग छ।

सो सङ्गठनमाथि सिरियामा जेहादीलाई सघाएको र हतियारको तस्करी समेत गर्ने गरेको आरोप लाग्दै आएको दाबी गरेको छ। वासिङटनपोस्टमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार ‘अलकायदासँग सम्बन्ध रहेको आरोपमा आइएचएचका दुई कर्मचारी पक्राउ समेत परेका थिए।

नोर्डिकमा १६ फ्रेबुअरीमा प्रकाशित समाचारमा आइएचएचले सङ्घमार्फत नेपाल–भारतको सीमा क्षेत्रमा आफ्नो प्रभाव बढाइरहेको उल्लेख छ। उसले सुनसरी क्षेत्रमा ध्यान केन्द्रित गरेको समाचारमा दावी छ।

सो समाचारमा आइएचएचलाई टर्कीको इन्टेलिजेन्सको टुल्स रहेको दाबी समेत गरिएको छ। आइएचएचले मानवीय सहयोगका नाममा आतङ्कवादी समूहहरूलाई सहयोग गर्ने गरेको सो समाचारमा दाबी गरिएको छ।

सहयोग लिइरहेका छौँ : अध्यक्ष

इस्लामि सङ्घ नेपालका अध्यक्ष खुर्सीद आलमले ‘फाउन्डेसन फर ह्युमन राइटस् एन्ड फ्रिडम्स एन्ड ह्युमनटेरीयन रिलिफ’ ले एक वर्षदेखि सहयोग गरिरहेको जानकारी दिए।

‘हामीले टर्कीको यो संस्थाबाट सहयोग लिएका छौँ । यसले मुस्लिम समुदायको व्यक्तिहरूलाई सहयोग गरिरहेको छ ,’उनले उकेरासँग भने ‘ यो संस्थाको सहयोग लिन थालेको एक वर्ष भयो।’

उनका अनुसार २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा २०  हजारभन्दा बढिलाई यो संस्थाले सहयोग गरेको थियो । अहिले खानेपानी देखि, मदरसाका भवन बनाउन सो संस्थाले आर्थिक सहयोग गरिरहेको उनले स्वीकार गरे।

उनले सो संस्था आतङ्कवादी गतिविधिमा संलग्न रहेको दाबी दुष्प्रचार मात्र भएको दाबी गरे।‘संयुक्त राष्ट्र सङ्घमा दर्ता रहेको संस्थाबारे दुष्प्रचार गराएर इस्लामी सङ्घ नेपाललाई समेत बदनाम गर्ने काम भइरहेको उनको दाबी छ।

उनले सङ्घले गर्ने सबै कामको विवरण समाज कल्याण परिषद्मा जानकारी दिने गरेको र कुनै गैरकानुनी काम नगरेको दाबी समेत गरे। 

‘हामीले गैरकानुनी काम गर्ने कुरै छैन । यो हाम्रो सामाजिक काम मात्रै हो,’ उनले भने‘ विभिन्न आतङ्कवादी काम गर्ने भन्ने कुरै छैन।’

विवादमा सङ्घ

सङ्घका पदाधिकारीमाथि पाकिस्तानी खुफिया एजेन्सीसँग मिलेर भारत विरोधी गतिविधिमा सक्रिय रहेको आरोप लाग्दै आएको छ।

नेपालमा पक्राउ परेका भारतीय आतङ्कवादी सङ्गठन यासिन भट्कललाई सोही सङ्घका पदाधिकारीले संरक्षण दिएको आरोप लागेको थियो भने भारतमा भएको बाट्ला हाउस इन्काउन्टरपछि फरार भएका सुभान तौकिर पक्राउ परेपछि उनले बयानमा नेपालमा सङ्घका पदाधिकारीले संरक्षण दिएको खुलाएको भन्दै भारतीय सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए।

१७ फागुन, २०७७, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।