‘मायाराम, भोलाराम’ जसले दरबारलाई उधारोमा पेट्रोल दिन्थ्यो

‘मायाराम, भोलाराम’ जसले दरबारलाई उधारोमा पेट्रोल दिन्थ्यो
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : त्रिपुरेश्वर, हराएको ट्रली बसको स्टेसनसँगै जोडिएको ‘मायाराम, भोलाराम’ पेट्रोल पम्प कुनै बेला दरबारीया पम्प जस्तै थियो। भोलारामले त्यति बेला रक्सौलबाट भिमफेदीको बाटो हुँदै जर्किनमा तेल ल्याउँथे अनि  राजा महेन्द्र, वीरेन्द्र, युवराजाधिराज धीरेन्द्र, विरेन्द्र पत्नी ऐश्वर्या र ज्ञानेन्द्र पत्नी कोमल शाह आफ्नो गाडीमा इन्धन भर्न आउँथे त्यही।

‘मायाराम, भोलाराम’ पम्पले दरबार र राणाहरूलाई कुपन मार्फत उधारोमा इन्धन दिन्थ्यो।

खनाती पुस्तामा आइपुग्दा जर्किनबाट सुरु भएको पेट्रोल बेच्ने यात्रा डिजिटल पम्पमा पुगिसक्यो।

‘त्यति बेला, काठमाडौँमा गाडी कि राणा खलक कि राज खानदानसँग मात्र थियो। उनीहरूले मासिक भुक्तानी गर्ने गरी हाम्रोबाट कुपनमा तेल भर्थे,’ मायाराम भोलारामका मालिक राजेन्द्र टिबडेवालाले उकेरासँग भने।

पाँच पुस्ता देखी चल्दै आएको पम्पको पुस्तैनी इतिहास सुनाउँदै राजेन्द्र भन्छन् ‘भोलाराम, शंकरलाल, जुगल किशोर, राजेन्द्र टिबडेवाला(म) हुँदै अहिले छोराहरू रवि र शशीले हेर्दैछन् तेलको व्यापार।’

तर, राजेन्द्रका पुस्ताको पुर्खौली व्यापार तेल होइन रहेछ।

‘हामीहरू त कपडा व्यापारी थियौँ। हाम्रो इन्द्रचोकमा कपडा पसल थियो। गाउँ–गाउँमा हामी कपडा पटाउँथ्यौँ,’ राजेन्द्रले भने‘त्यति बेला कपडा बेच्न भ्याई नभ्याई हुन्थ्यो। पछि धेरै लुगा पसल खुले। अहिले बन्द भयो कपडाको व्यापार।’

तर तेल व्यापार भने चलेकै छ।

०००

प्रविधिको विकाससँगै नेपाल खाल्डोमा मान्छेको काँध चढेर भित्रियो गाडी। गाडी भित्रिएसँगै सीमितै ठाउँमा भए पनि सडक बने।

राजेन्द्रका कुप्रो बाजे भोलाराम लुगासँगै नयाँ व्यापार गर्ने सोचतिर लागे। उनले काठमाडौँलाई बुझेका थिए।

उनी चाकरीमा खुबै धाउँथे रे। राणा र राज परिवारका सदस्यलाई चिनेका थिए।

‘हाम्रो पुस्ता खुब चाकरीमा धायो। हाम्रो पुस्ता मात्र होइन। राजा–राणाहुदाँ व्यापार गर्ने सबैले चाकरीमा धाउनै पर्यो’ उनले भने।

राजेन्द्रलाई आफू सानो हुँदा चाकरीमा बासँगै दरबार गएको सम्झना छ अझै। तर, कसको चाकरीमा गएको भने उनलाई ठ्याक्कै हेक्का रहेनछ।

पुराना कुरा उनलाई त्यति हेक्का नहुनुको कारण उनी बिचमा ठुलो बिमारी परे। रोगको नाम भने उनले सार्वजनिक गर्न चाहेनन्।

‘बिचमा ठुलो बिमार परे। त्यसपछि त्यति पुराना कुरा स्मरणमा छैनन्। जति छन् म सुनाउँछु,’ उनी सुनाउन थाले।

‘त्यति बेला गाडी कम थियो। मोटरसाइकल त छदै थिएन । राजा–महाराजाहरू धनी थिए। उनीहरू आफूलाई ठुलो देखाउन पैसाको खोलो बगाउँथे। त्यसैले काठमाडौँमा गाडी बढी थियो’ उनले भने।

त्यति बेला, राजा महेन्द्रका निजी डाक्टर हल्टरसँग मात्र मोटरसाइकल भएको राजेन्द्रलाई अझै सम्झना छ।

सडक बन्यो अनि गाडिहरूँ पनि भित्रिन थालेपछि राजेन्द्रका पुर्खा भोलारामले कपडासँगै पेट्रोलको व्यवसाय सुरु गरे।

‘‘बर्मा–सेल’ भन्ने भारतीय कम्पनी थियो। त्यो कम्पनीको हामी नेपालको डिलर बन्यौ। उति बेला हामीले पेट्रोलियम पदार्थमा पर्ने सबै चिज नेपालमा ल्याउँथ्यौँ।  डिजेल, मटितेल, मोबिल, पेट्रोल,’राजेन्द्र भन्छन्‘चाकरीमा गइराख्ने भएकाले दरबारमा हामीले ल्याएको पेट्रोलियम पदार्थ जाने बन्दोबस्त पनि भयो।’

दरबारले पत्याएपछि अरूले नपत्याउने कुरै थिएन।

‘राणाहरूको सन्दर्भमा त भोलाराम भन्दा अर्को विकल्पमा जाँदैन थिए नै,’उनी भन्छन्‘राणाहरूकै कारण हामी नेपालमा व्यवसाय गर्दै थियौँ। उनीहरूको कृपा सधैँ हामीमा थियो।’

त्यो बेला व्यापार गर्न सत्ताको साथले ठुलो महत्त्व राख्ने राजेन्द्रको अनुभव छ।

उनले रमाइलो किस्सा सुनाए ‘दसैँमा टिका पाँच दिन हुन्थ्यो। राणहरुकोमा टिका थाप्न जान ८–९ दिन लाग्थ्यो। दसैँ सकिए नि टिका थाप्न जानै पर्ने। उति बेला हिँडेर पुग्नु पर्ने। राणाहरूको घर टाढा टाढा। सबैकोमा चाकरी लगाउन नि पुग्नै पर्ने।’

चाकरीमा गइराख्ने भएकाले नयाँ व्यवसाय जमाउन गाह्रो भएन। 

०००

जङ्गबहादुर राणाले भारतको बेतियाबाट ८ मारवाडी परिवारलाई व्यापारको लागि नेपाल ल्याएका थिए। त्यसमध्ये एक परिवार उनको पुर्खा हुन्। उनको पुर्खा भारत बेतियाका हुन्। तर उनी अहिलेसम्म एक पटक मात्र पुगेका रहेछन् त्यहाँ।

‘सानो हुँदै गएको थिएँ एक पटक। अब त केही सम्झना छैन,’ उनले भने।

राजेन्द्रलाई बेतियाको सम्झना नभए पनि बेतियाले भने राजेन्द्रको पुस्तैनी सम्पत्तिलाई जोगाई राखेको छ रे।

‘पुर्खाको सम्पत्ति छ बेतियामा,’ उनले भने‘तर कति छ, कहाँ छ थाहा छैन।’

उताको सम्पत्ति त्यहाँ भएका आफन्तले भोग चलन गरिरहेका छन् रे। जङबहादुरले त्यति बेला भारतीय प्रमाणपत्र त्याग्न लगाएर नेपाली नागरिकता दिएका थिए उनलाई। उनको सात पुस्ता अहिले नेपालमै छ।

‘इन्द्रचोकको पुस्तैनी घर भत्कियो, त्यसको चासो छ। अब पम्प छोराहरूले कसरी चलाउलान्, त्यसको चासो छ। यही बढे, यही पढेँ, नेपाली हुँ, देशको चासो छ। मलाई त्यताको केही चासो छैन,’ उनले भने।

०००

‘म चार वर्षको हुँदा रिक्सा चढेर पम्पमा आउँथे। त्यति बेला भित्ते घडी जस्तो पम्प थियो। एक फन्को घुमे पछि एक जर्किन पुरा,’ उनले सम्झिए।

त्यसपछि, हाते पम्प आयो। निकै वर्ष चल्यो त्यो।

०००

३० साल भन्दा अघि नेपालमा पेट्रोलमा एकलौटी राज थियो ‘मायाराम भोलाराम’को।

‘त्यति बेलाका राजाका गाडीहरूलाई हामीले ल्याउने गरेको जस्तो तेलले हुँदैनथ्यो। प्लेनमा हाल्ने तेल मिसाए मात्रै गाडी चल्थ्यो। त्यसको पनि हामीले नै बर्मा सेलसँग मिलेर व्यवस्था गरेका थियौँ। ’उनी भन्छन् ‘राजा महेन्द्रको गाडी त्यसैले चल्थ्यो। अहिले जस्तो प्रशोधित पेट्रोल हुँदैन थियो।

राजा महेन्द्रका लागि दरबारमै ठुला ड्रममा पेट्रोल जान्थ्यो। अरू भने पम्पमै आउँथे।

उनको पम्पमा आफै आएका राजपरिवारका सदस्यहरू सम्झिन थाले उनले‘ तत्कालीन युवराजाधिराज धीरेन्द्र, केन्द्र सम्शेरकी छोरीहरू कोमल र ऐश्वर्या तेल हाल्न पम्पमै आउँथे। राजा हुनु अघि वीरेन्द्र पनि पम्पमा नै तेल भर्न आउनुहुन्थ्यो।’

०००

राजा महेन्द्र र राजा वीरेन्द्रको छाप गहिरो गरी परेको राजेन्द्रलाई छ रे।

‘राजा महेन्द्र मलाई यति मन पर्ने। सधैँ टिका थाप्न जान्थे। व्यापारीको छोरो भनेर माया गर्नु हुन्थ्यो। वीरेन्द्रको प्रर्सनालीटी असाध्य मन पर्ने। वीरेन्द्र सरकारको बिहेमा म जन्ति नै गएको हो म।’

राजेन्द्र हँसिलो मुहारमा  वीरेन्द्रको विवाह सम्झन्छन्।

वीरेन्द्रको विवाहमा जन्ती जाने सौभाग्य उनलाई ‘मायाराम भोलाराम’पम्पले दिएको थियो।

‘वीरेन्द्र सरकारको बिहेको फोटोमा हात्ती अघि लाजा छर्दै हिँडेको मान्छे देख्नु भएको छ। त्या म पनि  छु।’ तर, दरबारसँग जति नै राम्रो सम्बन्ध भए पनि इन्धनमा ‘मायाराम भोलाराम’ को एकलौटी राज ३० सालमा तोडियो।

सुवर्ण विक्रम थापाको नेतृत्वमा नेपाल आयल निगमको स्थापना भयो।

‘सुवर्ण विक्रम थापा भन्ने एक जना बढो विद्धान मान्छे हुनुहुन्थ्यो,’ उनले आफ्नो एकलौटी व्यापार खोसिएको पल सम्झिए ‘भारतले बर्मा सेलसँग हामीले पेट्रोल किनेको मन पराएन। त्यति बेला नेपालमा हाम्रो जगजगी थियो भन्दा हुन्थ्यो। थापाले भारतसँग मिलेर नेपाललाई चाहिने जति पेट्रोल इन्डियन आयल निगमले दिने सम्झौता गरे।’

उनले अगाडि भने ‘ त्यति बेलासम्म नेपालमा बर्मा सेल, एस्सो,क्याल्टस जस्ता कम्पनीले तेल, मबिल, मटितेल लगायतको सामाग्री बेच्ने गर्थे।’

आयल निगम खुलेसँगै ती कम्पनीहरू नेपालबाट लखेटिए। पेट्रोलियम पदार्थमा एकछत्र राज गरेको ‘मायाराम भोलाराम’को दबदबा यिन हट्यो।

‘दरबारमा पनि सुवर्ण विक्रम थापाले खोलेको नेपाल आयल निगमबाट तेल जान थाल्यो। राणाहरू हटिसकेका थिए। त्यसपछि, हामी नेपाल आयल निगमको डिपो मात्र भयौँ,’ उनले भने।

नेपालमा पेट्रोलियम पदार्थको उचित व्यवस्थापनमा सुवर्ण विक्रम थापाको योगदान रहेको उनले सम्झिए। यदि नेपाल आयल निगम नखुलेको भए इन्धनको व्यापार व्यक्ति वा समूह विशेषको पकडमा जाने र सर्वसाधारणले दुख पाउने उनको विश्लेषण रहेछ।

‘नेपाल आयल निगम नखुलेको भए नेपालमा पेट्रोलियम पदार्थमा मोनोपोलीको लागि लडाइँ हुने थियो। सबैले सहज रूपमा पेट्रोल पाउने थिएनन्’ राजेन्द्रले भने‘ त्यसैले उहाँलाई मैले विद्धान भन्छु।’

जहाँ समस्या त्यही उपाय।

थापासँग उनको बुबाको दोस्ती थियो नै। ऊनकैको सुझावमा उनीहरूले अमलेखगन्ज, हेटौँडा, वीर गन्जमा पम्प खोले। अहिले ती पम्पहरू भने बन्द भइसकेछन्। त्रिपुरेश्वरमा रहेको ‘मायाराम भोलाराम’ पम्प मात्र बाकी छ।

००००

‘पेसा परिवर्तन भइरहन सक्छ। व्यापार परिवर्तन हुन सक्दैन’ राजेन्द्रलाई उनका पुर्खाले यस्तै सिकाए।

आज उनी छोराहरूलाई पनि यही सिकाउँछन्। तर, उनलाई पुर्खाको विरासत सकिएला कि भन्ने डर भने छ।

‘काठमाडौँ महानगर, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पम्प सार्न भनिरहन्छ’ राजेन्द्र चिन्तामा छन् अचेल।

पेट्रोल पम्प सार्नु किराना पसल सार्न जस्तो सहज होइन भन्ने अरूले पनि बुझिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई।

‘पुर्खादेखि यही थलोमा हामीले पेट्रोल बेच्दै आएका हौँ,’ उनले भने‘ राणा देखी राजासम्मले हामीले बेचेकै पेट्रोलले गाडी चढे। नेपाल आयल निगम नहुँदा सुनकोसी, पनौती, त्रिशूली हाइड्रोसम्म हामीले नै तेल पुर्याएका हौँ। त्यो पनि त योगदान हो नि देशको लागी।’

पुरानो हुँदै गए पछि संरक्षण हुनुपर्नेमा महानगर भत्काउन लागी परेको उनलाई निकै चित्त दुखेको रहेछ।

‘ट्राफिकमा समस्या भयो हटा भन्छ। असुरक्षित भयो भन्छ,’ उनी थप्छन् ‘एयरपोर्ट छेउ आयल निगम हुँदा जोखिम कसैले देख्दैनन्। भट्टे चुलोको आडैमा ग्यास सिलिन्डर हुँदा कसैको ध्यान जाँदैन। आफ्नै पुस्तैनी ठाउँमा सुरक्षित रूपमै व्यापार गर्दा अरूलाई समस्या भयो रे।’

पम्प बन्द होला भन्ने चिन्ता हैन उनलाई। पुस्तौती चिनो मासिने भयो भन्ने चिन्ता हो।

‘७० वर्ष भएँ। मलाई याद भए देखी यही ठाउँमा पम्पबाट पेट्रोल बेचिरहेका छौ। त्यो भन्दा अघि जर्किनदेखि बा, हजुरबा, हजुरबाको हजुरबाले तेल बेच्नु भयो,’ लामो सुस्केरा हाल्दै राजेन्द्र भन्छन्‘ उमेर भनेको पनि ठुलो कुरा रहेछ। आफूलाई हटाएर नयाँ ठाउँमा पम्प सार्न आँट आउँदैन। छोराहरूलाई पेट्रोल मात्र बेचेर बस भन्ने कुरा आएन।

उनले भने‘पम्प सार्दा पुस्तैनी व्यापारै मासिने चिन्ता भयो। बाँचुन्जेल चैँ सर्न नपाए हुने।’

१७ फागुन, २०७७, १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।