१२ वर्षकी कवियत्री

१२ वर्षकी कवियत्री

कपिलवस्तु : उमेर भर्खर १२ वर्ष। कक्षा ६ मा अध्ययनरत। 

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ की जोशिका कँडेलको यो परिचयले उनी साहित्यकार हुन भन्ने पत्याउन गाह्रो हुन सक्ला। तर, यसलाई सम्भव बनायो– उनको साहित्यप्रति लगाव र सक्रियताले। 

यही कारण उनको दिनचर्या आमबालबालिकाभन्दा भिन्न थियो, छ। 

सँगैका साथी खेल्न जाँदा, टेलिभिजन र मोबाइलमा रमाउँदा उनी भने कविता कोर्थिन्, कोर्छिन्। र, लयवद्ध गरेर गाउँथिन्, गाउँछिन्।  

साहित्यप्रतिको लगाव र सक्रियता युवा साहित्यकारभन्दा कम छैन उनको। यसलाई पुष्टि गर्छ– उनले प्रकाशन गरेका कृतिले। 

१२ वर्षकै कलिलो उमेरमा उनका तीनवटा कवितासंग्रह बजारमा आइसकेका छन्। ‘प्रेरणा’, ‘छन्दकोपिला’ र ‘छन्दमञ्जरी’ उनले प्रकाशन गरेका कवितासंग्रह हुन्।

उनमा अर्काे प्रतिभा पनि छ। त्यो हो– कविता वाचन गर्ने शैली। 

उनको कविता वाचन सुनेर जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन्। 

कविता वाचन गर्न उनी मेचीदेखि महाकालीसम्म पुगेको उनका हजुरबुबा ऋषिकेशव भारद्वाज बताउँछन्। 

बाल्यकालमै साहित्यप्रतिको लगाव र सक्रियताका कारण उनले ‘कवियत्री’को उपमा पाएकी छन्। 

जोशिका शास्त्रीय छन्दमा कविता लेख्ने गरेकी छन्। उनले ‘शार्दुलपविक्रीडित’, ‘तोटक’, ‘स्रग्विणी’, ‘उपजाति’ जस्ता छन्दमा कविता लेखेकी छन्। 

उनलाई छन्दका पाँच सय सूत्र कण्ठ छन्। २ सय ५० वटा सूत्रमा उनले कलम पनि चलाएकी छन्। 

‘हजुरबुबा र गुरुको प्रेरणा’

हजुरबुवा ऋषिकेशव भारद्वाज र विद्यालयका गुरुको प्रेरणाले कविता लेख्न थालेको उनी बताउँछिन्। 

‘हजुरबुवाले कविता लेख्दा गुन्गुनाएर लेख्ने गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘उहाँले छन्दका सूत्र र लयमा कविता गुनगुनाएको सुनेर मैले पनि लेख्न थालेकी हुँ।’

पछि विद्यालयमा गुरुले पनि कविता लेख्न उत्प्रेरित गरेको उनले बताइन्। 

आफूले काव्य साधना गरिरहँदा नातिनीले कविता लेख्न सिकेको भारद्वाज बताउँछन्। 

‘मैले गुनगुनाएको सुनेर नै उनी कविता कण्ठ पार्थिन्। र, मलाइ सुनाउँथिन्,’ जोशिकाका हजुरबुवा भारद्वाजले सुनाए।  

९ वर्षमै पहिलो कृति 

जोशिकाले ९ बर्षको हुँदा पहिलो कविता कृति ‘प्रेरणा’ प्रकाशन गरिन्। त्यसको एक वर्षपछि उनले अर्काे कवितासंग्रह बजारमा ल्याइन्। त्यसको नाम हो– ‘छन्दकोपिला’। 

‘छन्दकोपिला’ प्रकाशन गरेको अर्काे वर्ष उनले ‘छन्दमञ्जरी’ कवितासंग्रह प्रकाशन गरिन्। 

उनी छन्दमा राम्रो कविता लेख्ने गरेको साहित्यकारहरू बताउँछन्। उनीहरूको भनाइमा जोशिका शास्त्रीय वार्णिक छन्दमा राम्रो कविता लेख्ने क्षमता राख्छिन्। 

१२ राष्ट्रिय पुरस्कार

जोशिकाले साहित्यबाट अहिलेसम्म १२ वटाभन्दा बढी राष्ट्रिय पुरस्कार पाइसकेको उनका हजुरबुबा भारद्वाज बताउँछन्। 

के छ भविष्यको योजना ?

उनी साहित्यमा पछिसम्म क्रियाशील हुने बताउँछिन्। ‘सानैदेखि यसमा रुचि थियो। लेख्न थालेपछि त झन् रुचि बढ्दै गएको छ,’ उनले भनिन्, ‘यसलाई पछिसम्म निरन्तरता दिन्छु। 
 

१७ फागुन, २०७७, १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।