विपुला जोशीको प्रसव पिडा र खुसी : डाक्टरले कलिलो बच्चालाई उल्टो पारेर प्याट्ट हानिरहेका थिए

विपुला जोशीको प्रसव पिडा र खुसी : डाक्टरले कलिलो बच्चालाई उल्टो पारेर प्याट्ट हानिरहेका थिए

टिनएजसम्म टमब्वाई जस्तै विपुला जोशीले जीवनमा धेरै विधामा हात हालिन्। करिअरको प्रारम्भ एयर होस्टेजवाट भयो उनको। त्यसपछि विधा बदलिँदै गयो। बैँकर, टिभी, इभेन्ट म्यानेजमेन्ट हुँदै मार्केटिङमा पुगिन् उनी। 

उनको पेसा बदलिनुको कति कारण सन्तान थिए। कति चैँ मनै नलागेर छाडिन्। उनी अहिले विज्ञापन एजेन्सीको क्षेत्रमा छिन्। उनीसँग मातृत्वको तिता मीठा धेरै सम्झना रहेछन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आमा हुनुको अनुभूति साटिन् :

०००

विवाह हुँदा म नेकोन एयरको एयर होस्टेज थिएँ। लामो बिदा बस्न नपाउने नियम थियो कम्पनीको। विवाहपछि आमा बन्ने रहर बढ्दो रहेछ। तर समस्या जागिर भइदियो। त्यसैले केही वर्ष मन थाम्ने निर्णय गर्यौ।

तर श्रीमान्–श्रीमतीले मात्र निर्णय गरेर नहुने। भोज, आफन्त भेटघाट जहाँ जाँदा पनि खै त बच्चा ? भनेर हैरान बनाउने। बच्चै भएन कि पछि पाउने योजना हो भनेर सोधेको शोध्यै गर्ने। जवाफ दिँदा नै हैरान हुने। 

बल्ल बल्ल तीन वर्ष कट्यो सवाल–जवाफमै।

मातृत्वको सवालमा महिलाको भावना गज्जबैकै हुँदो रहेछ । बाटोमा हिँड्दा प्रेगनेन्ट महिला देख्दा रमाइलो लाग्ने। छुन मन लाग्ने। ठुलो पेट सलले लुकाएर हिडेकोे देख्दा अचम्म मात्रै होइन रिस पनि उठ्ने। म कल्पन्थेँ‘ म प्रेगनेन्ट हुँदा त पेटको आकारलाई देखाएरै हिँड्छु।’ यो लुकाउने कुरै हैन नि। गर्वको कुरा पो हो त ?

२०६० मा नेकोन एयर बन्द भयो । त्यसपछि त बेरोजगार भइयो । बेरोजगार हुँदा दुःख लाग्नु पर्ने खुसी भए म त। दङ्गै परे भने नि भयो। अव म बच्चाको प्लान गर्न स्वतन्त्र भए नि। बन्द नभएको भए पनि अब त बच्चाका लागि जागिरै छाड्छु भन्ने निचोडमा पुगिसकेको थिए। अब कम्पनी नै बन्द भएपछि आमा बन्ने बाटो त्यसै खुल्यो।

दुवै जना अब अभिभावक बन्न राजी भयौँ। तर समस्या आयो। गर्भ बस्दै बसेन। लामो समयसम्म प्रयास गर्दा पनि गर्भवती हुने चाहना पुरा भएन। 

अव चाहिँ तनाव सुरु भयो। मन आत्तियो। कहिल्यै आमा नै बन्न सक्दिन कि क्या हो भन्ने लाग्न थाल्यो। त्यो बेला त नियमित महिनावारी हुँदा पनि रिस उठ्ने भइसकेको थियो। 

‘यस पटक महिनावारी रोकियोस्, म गर्भवती हुन पाउँ भनेर भगवान् पुकार्न थालिसकेको थिए। चिकित्सककोमा गएर जँचाउँदा ‘पहिला बच्चा मिसक्यारेज भएको वा गर्भपतन गराएको थियो? भनेर पो सोध्छन्।

म त अचम्मैमा परेँ। मलाई आफू प्रेगनेन्ट भएको थाहै थिएन। नेकोनमै काम गर्दा महिनावारीको क्रममा एक पटक रगतै रोकिएको थिएन। त्यति बेला चिकित्सकलाई देखाइन। आफै जान्ने, बुझ्ने आफै डाक्टर नि । महिनावारीमा कहिलेकाहीँ धेरै रगत बग्नु सामान्य हो भन्ने लाग्यो। 

संयोग, चिकित्सकसँगको सल्लाहपछि चमत्कारजस्तै भयो। केही उपचार, औषधी नगरी म गर्भवती भए। अहो महिनावारी रोकिएपछि त नाचौँ नाचौँ नै लाग्यो नि। कति खुसी हो कति। कम तनाव भयो त त्यो बेला। 

०००

योजना अनुसार गर्भमा भ्रूण विकास हुँदै गयो। अब आमा बन्ने भए भनेर ढुक्क थिए म। तर दुःख सुरु भयो। मुखमा केही पर्यो कि बान्ता भइहाल्ने। भान्छाको मसलाको बास्नाले नै वाकवाकी लाग्ने।

अचम्मै हुन थाल्यो। धोएर राखेको मोजा देख्दा पनि वाकवाकी लाग्थ्यो। अनि त मेरो खाना नै पानी र भात, चिनी र भात, नुन र भात हुन थाल्यो। पेटमा वच्चाहुँदा पोसिलो खानुपर्छ भन्ने थाहा छ। तर जे खायो निस्किहाल्ने भएपछि के गर्नु। खानै सकिन। 

८ महिना सम्म त अस्पताल लगेर स्लाइन दिने अनि घर ल्याउने भइरह्यो।

दुख मात्रै हैन, रमाइलो नि उस्तै भइरहेको थियो। पेटमा बच्चा चल्न थालेपछि बढो रमाइलो लाग्ने रहेछ। बच्चा ६ महिना जतिको भएपछि चल्न थालेको थियो। त्यो दिन सम्झँदा त अहिले पनि गर्भवती हौँ जस्तो लाग्छ। 

बच्चा यता र उता चल्ने। पेटमा खुट्टाको छाप देखिने। कहिले टाउकोले हानेजस्तो, कहिले खुट्टाले हानेजस्तो । सारै रमाइलो नि।

०००

चिकित्सकले तोकेकै दिन अस्पताल भर्ना भएँ। तनाव भयो, बच्चाको मुभमेन्ट नै देखिएन। चिकित्सक बच्चा निकाल्न सक्रिय थिए। बच्चा निस्कने ठाउँमा दुई वटा हड्डीले बच्चा आउने बाटो नै अवरोध भएको रहेछ। 

चिकित्सकले प्रयास गरिरहेका थिए। तर सम्भव भइरहेको थिएन। अति भयो। मैले अप्रेसन गरेर निकालिदेऊ भने। सही समयमा सही निर्णय नभएको भए बच्चा र म दुवै बाच्ने सम्भावना कम रहेछ। 

राती ८ बजेर ७ मिनेटमा अप्रेसन गरेर बच्चा निकालियो । मलाई भोलिपल्ट मात्रै वार्डमा सार्ने भएकाले बच्चा देखाउने, दिने कुरै भएन। तर आफू चैँ कहिले बच्चा हेर्न पाइएला भनेर आतुर।

दिदी आएर ‘बाबु त कस्तो राम्रो’ भन्नुभयो। मन थाम्नै सकिन मैले त। मैले चैँ हेर्न नपाउने भनेर दिदीसँग ढिपी गरिरहे।

मातृत्वको भावना दिदीलाई थाहा नहुने कुरै भएन। जाडो महिना थियो। दिदीले ठुलो ओढ्ने ओढ्नुभएको थियो। उहाँले त त्यसैमा लुकाएर बच्चा ल्याउनुभयो। ठुलो आँखाले टुलुटुलु हेरेको, हिस्सी परेको बच्चा। पहिलो पटक १ मिनेट काखमा राख्दा ३६ घण्टाको प्रसव पीडा सबै बिर्से नि। 

दिदीले बच्चालाई  वार्डमा लगेपछि रातभरि सुत्नै सकिन।

चिकित्सकले के कस्तो छ भनेर सोध्न आउँदा सबै ठिक छ , नर्मल त भनेँ तर मलाई रिङटा लागिरहेको थियो। रिङटा लागेको छ भन्यो भने वार्डमा लैजाँदैन, बच्चा दिँदैन भनेर केही भएको छैन भनेको थिए।

आमा बन्दा बेरोजगार हुनुको अर्को फाइदा भयो। छोरोलाई टन्न समय दिन पाए। 

०००

हामी दुई जना मात्रै। एक जनाको कमाइले घर चलाउन त ग्राहै हुन्छ नि। छोरो हुर्कँदै गएपछि अब काम गर्नुपर्छ भन्ने लाग्न थाल्यो।  यताउता खोज्दा एक बैङ्कमा काम मिल्यो।

त्यसमा पनि छोरी त अचाक्ली मन पर्ने। 

ज्योतिषकोमा देखाउँदा छोरीको योग नै छैन भनेको थियो। लौ त्यसो भए भनेर छोरो भइहाल्यो अब दोस्रो सन्तान नपाउने सल्लाह भएको थियो। तर पहिलो सन्तान साढे तीन वर्षकोहुँदा गर्भ बस्यो। बच्चा खुब मन पर्ने।

दोस्रो गर्भ बस्दा पहिलाको जस्तो उत्साह भएन। छोरा नै त हो भन्ने लाग्यो। ५ महिनामा अल्ट्रासाउन्ड गर्ने जाँदा नसोचेको खुसी पाइयो। डाक्टरले पहिलो सन्तानबारे सोधेका थिए। छोरो भने।

त्यसपछि उहाँ आफैँले‘ल अहिले छोरी छ’ भनिदिनुभयो। मैले त पत्याइन। उहाँले हो भनेपछि त बरर आँसु नै खस्यो मेरो त।

३५ हप्ता पुरा भए पछि तौल नै बढेन। एकदमै पिर पर्यो । बच्चा कस्तो छ होला भन्ने लाग्न थाल्यो। पछि अर्को समस्या थपियो। बच्चा बस्ने ठाउँमा पानी नै छैन भन्न थाले । 

ज्योतिषले भनेको मिल्छ कि क्या हो भनेर खुब डर लाग्यो। अप्रेसन गर्ने तयारी भयो। २०६६ वैशाख २६ गते बुद्ध जयन्तीको दिन पारेर अप्रेसन भयो। 

बच्चा त निकालियो तर छोरी रोएको आवाजै सुनिन। डाक्टरसँग नानीलाई ठिक छ भनेर। सोध्दै थिएँ, मेरो पल्स डाउन हुन थालेछ। अक्सिमिटरमा अक्सिजन पनि कम देखाउन थाल्यो। 

चिकित्सकले भर्खर जन्मेको सानो कलिलो नानीलाई उल्टो पारेर प्याट्ट प्याट्ट हानिरहेको देखे। मनमा चस्का पस्यो। डर लाग्यो। नराम्रो केही नहोस् भनेर प्रार्थना गर्न थाले। 

केही बेरमा च्या गरेर बच्चा रोएको आवाज सुने। मन ढुक्क भयो।

मेरो स्वास्थ्यमा सुधार हुँदै थियो। तर छोरी हेर्न पाएको थिइन्। ओढ्नेमा लुकाएर ल्याउने दिदी पनि हुनुहुन्नथ्यो। छोराले हेर्नै आउँदा ‘यसरी घाउ पारे बहिनी किन पाएको’ भन्दा हाँसो लाग्यो। 

साँझ छोरीलाई दिँदा पुतली जस्तै लाग्यो। नरम हातहरू, भोकाउँदा दूध माग्ने ओठ , पलाक्क पुलुक्क हेर्ने आँखा । 

०००

छोरी पाउँदा म टेलिभिजनको मार्केटिङमा काम गर्थे। छोरीलाई दिनभरि आमाकोमा छोड्थेँ अनि कामको बिचमा समय निकालेर दूध खुवाउन आउँथे। 

मेरो लन्चको समय २ देखि ३ बजे थियो। तर मलाई केही समय छुट थियो। पुरुष सहकर्मीहरू दूध ख्वाएर आएको, कति ख्वायो, कति आयो ? जस्ता प्रश्न गर्थे।

त्यसले मलाई टर्चर, सेक्सुअल ह्यारेसमेन्ट भएको अनुभव भयो। उनीहरूलाई रमाइलो लाग्यो होला प्रश्न गर्दा। तर एक आमालाई कस्तो लाग्छ त्यस्ता प्रश्नले भन्ने सोचेनन्। जागिरै छाड्दिए।

बच्चाहरू हुर्कँदै गए। मैले भिन्न भिन्न ठाउँमा काम गर्दै गए। अहिले दुवै जना हुर्किसकेका छन्। उनीहरूलाई देख्दा आनन्द लाग्छ। जीवन राम्रैसँग चलिरहेको छ। आमाको सुख पाएको छु। 

अनि मैले सन्तान हुर्काउँदै गर्दा आफैँसँग केही वचन भने गरेको छु। वचन मात्र गरेको हैन, पालना पनि गर्छु।

१. म मेरो छोरीको बिहेमा कन्यादान गर्दिन। किनकि छोरी दान गर्ने वस्तु होइन ।

२.सम्पूर्ण रीतिरिवाज गर्छु तर मारे पाप, पाले पुण्य भनेर म कसैको पोल्टामा हाल्दिन ।

३.छोराको बिहे गर्दा बुहारीको घरबाट दाइजो लिँदिन । 

४.बुहारीलाई कहिले खुट्टा ढोगाउँदिन।

फागुन १६, २०७७ आइतबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।