शब्दमाला

प्रधानमन्त्री पत्नी राधिकाको पुस्तक अंश: ओलीलाई देखाउँदै सइले भने ‘गाडी दायाँ लैजा, यो बाँचोस्’

उकेरा संवाददाता


आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ । दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन ।

मसँग त्यति प्रबल निजी इच्छा नभएर पनि हुन सक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति आदिका विषयलाई कहिल्यै छलफलको विषय बनाएका छैनौँ। यति लामो समय सँगै बसेर पनि मैले उहाँसँग आफूले जान्न चाहेका कतिपय कुराहरू सोध्ने गरेकी छैन। कारणहरू धेरै छन्, मूल कारण त समय नै हो। हरेक जसो रात उहाँ १२ बजे अगाडि कोठामा आउनुहुन्न। मध्यरातसम्म भेटघाटमै व्यस्त रहनुहुन्छ। त्यति अबेर कोठामा आउने मान्छेको शारीरिक र मानसिक थकान कति हुन्छ होला भन्ने सोच्छु र केही कुरा गर्दिन। 

२०७६ साल कात्तिक २० गते राति १ बजेको थियो। मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ? मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ? बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थेँ म। त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ।

मैले के महसुस गरिरहेकी थिएँ भने पञ्चायती शासकले बन्दी बनाएर कठोर यातना दिएको जीवन र आज प्रधानमन्त्री जस्तो देशको सर्वोच्च कार्यकारी पदमा रहँदा काम गर्न अवरोध गरी चारैतिरबाट घेरिएको जीवनमा के भिन्नता छ र? त्यस बेला लिएको र अहिले लिएको मुलुक बदल्ने उद्देश्यमा के भिन्नता छ र? त्यस बेला जुन उद्देश्यका लागि जेलमा कठोर यातना सहेर सङ्घर्ष गर्नु परेको थियो,आज त्यही उद्देश्य पूरा गर्न अगाडि सारिएका काममा अवरोध सहेर सङ्घर्ष गर्नु परेको छ। मनमा थुनेर राखेका प्रश्नहरूको बाँध कति बेला फुट्ला झैँ भएको थियो। मैले उहाँको जेल यात्राका बारेमा सोधेँ। उहाँले व्याख्या नगरी जेल यात्राको विवरण मात्र सुनाउनुभयो। 

२०३० साल असोज २३ गते, रौतहटको एउटा गाउँबाट राति गिरफ्तार गरी, हिँडाएर उहाँलाई गौर कारागार लगियो। २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो। 

जेल सार्ने क्रममा उहाँले सुनाउनुभएका यसपछिका घटना विवरणले भने मलाई नराम्री ऐँठन गर्यो। उहाँले सुनाउनुभएको घटना विवरण यस्तो थियो–

‘गौर थानाबाट वीरगन्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो। प्रहरीको भ्यानमा मलाई राखिएको थियो। तर, वीरगन्ज नपुर्‍याउँदै बिचको जङ्गलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेल सारी गरिएको रहेछ। मलाई हतकडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए। उनीहरूका साथमा खाल्डो खन्ने ज्याबल औजारहरू पनि थिए। एकदम तयारीसाथ गाडीमा खाल्डो खन्ने औजारसँगै मलाई राखिएको थियो। प्रहरी जवानहरूका अनुहारको भावभङ्गीबाट सजिलै बुझ्न सकिन्थ्यो, केही बेरपछि नै उनीहरूले मलाई जङ्गलमा लगेर मार्नेछन् र खाडल खनेर पुर्नेछन्।

जेल सार्न खोज्दा बिचैमा भागेर गोली चलाउँदा मारिएको एउटा कृत्रिम घटनाको प्लट बनाएर हिँड्दा मानिसको अनुहारमा जुन प्रकारको उद्वेलन र छटपटी हुन्थ्यो, उनीहरूका अनुहारमा त्यो प्रस्ट देखिन्थ्यो। जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोलीको नेतृत्व सई मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो। उहाँका मनमा एक्कासि किन यस्तो करुणा उत्पन्न भयो कुन्नि, बिचमा पुगेपछि उहाँले गाडी जङ्गलबाट मोडेर वीरगन्जतिर लैजान आदेश दिनुभयो।

‘गाडी दायाँ लैजा, यो बाँचोस्’ सई मोहनप्रसाद अधिकारीले एक्कासि दिएको निर्देशनले मार्न ठिक पारिएको म बाँचेँ। जब आफूलाई केही बेरपछि नै मारिनेछ भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ। म त त्यसै बेला मारिसकेको थिएँ। बाँचेँ र तिमीसँग भेट भयो।’

उहाँले त्यस मध्यरातमा सुनाउनुभएका यी कुराले मेरो जीउमा काँडा उम्रेजस्तो भयो। तन्मय पूर्वक त्यस दिनको घटना विवरण सुन्दा मेरो मानसिकता नै केही बिथोलियो। त्यसपछि पनि उहाँले जेल सारिएका विवरण सुनाउनुभयो, तर मेरो मन भने जङ्गलमा मार्न खोजिएको त्यही घटनामा अड्किएको थियो। 

मङ्सिर तीन गते राति उहाँलाई वीरगन्ज थाना पुर्‍याइएछ। चार र पाँच गते त्यहीँ राखेर उहाँलाई ६ गते वीरगन्जकै सानो जेल भनिने महिला कारागारमा पुर्‍याइएको रहेछ। त्यहाँ त्यस बेला महिला नभएकाले मङ्सिर ६ र ७ गते त्यहीँ राखियो। मङ्सिर ८ गते मध्यरातमा अर्को मनोवैज्ञानिक आतङ्क सहित उहाँलाई त्यस जेलबाट निकालियो, काठमाडौँ सार्न भनेर।

नेपाली काँग्रेसका चितवन सभापति भीमबहादुर श्रेष्ठलाई समेत सँगै हिँडाइएको थियो। मङ्सिर ८ गते काठमाडौँको भद्रगोल जेलमा ल्याएर तीन दिनसम्म राखियो। मङ्सिर ११ गते सेन्ट्रल जेल ल्याएर २०३२ वैशाख १६ गतेसम्म गोलघरमा राखियो। त्यहाँबाट फेरि २०३२ साल साउन २२ गते नख्खु जेलमा सारियो।

१६ महिना नख्खु जेलको बसाइपछि २०३३ मङ्सिर १४ गते फेरि सेन्ट्रल जेल लगेर गोलघरमा हालियो। दोस्रो पटक करिब तीन वर्ष गोलघरमा राखेपछि २०३६ साल जेठमा गोलघरबाट निकालियो। सेन्ट्रल जेलबाट २०३७ चैत १५ मा पुनः नख्खु जेल नै लगियो। करिब दुई वर्षको नख्खु जेल बसाइपछि २०३९ माघ ३ गते उहाँलाई पोखरा जेल सारियो।

पोखराबाट २०४२ कात्तिकमा स्याङ्जा जेलमा पुर्‍याइयो। स्याङ्जा जेलबाट २०४३ मङ्सिर ८ गते उहाँलाई काठमाडौँको हनुमानढोका कारागारमा ल्याइयो र माघ ८ गतेसम्म त्यहीँ राखियो । हनुमानढोका कारागारबाट फेरि तेस्रो पटक भद्रगोल जेल पुर्‍याएर २०४४ असार ११ गते रिहा गरियो। 

यो थियो, उहाँले मलाई त्यस मध्यरातमा आधा घण्टा लगाएर सुनाउनु भएको जेल यात्राको विवरण। 

यसरी मध्यरातमा भए पनि मैले उहाँको जेल जीवन सम्बन्धी अनुभूतिहरू सुन्ने अवसर पाएँ। कयौँ दिनदेखि सोध्न नपाएका प्रश्नका बाढी केही समयको लागि शान्त भयो। 

निरङ्कुश व्यवस्था विरुद्धको सङ्घर्षका क्रममा यस्तो कहालीलाग्दो यातनामय जेल सराइ र त्यहाँभित्रको सङ्घर्षले उहाँको शारीरिक र मानसिक अवस्थामा कस्ता असर पारे होलान्? शारीरिक असर त हामी देख्न सक्छौँ र त्यो भोगिरहेका पनि छौँ। मानसिक असरलाई भने व्यक्तिले कसरी ग्रहण गर्छ? त्यस अनुसारको नतिजा निस्कँदो रहेछ भन्ने उहाँको मनोबल हेरेर महसुस गर्छु।

मार्न ठिक्क पारिएको, कयौँ पटक मृत्युको मुखमा पुगेर फर्केको मानिसमा जिजीविषा यति बलियो हुँदो रहेछ भन्ने मैले केपीजीसँग अन्तरङ्ग सङ्गतका क्रममा थाहा पाएकी छु। यसलाई आम नेपालीले बुझ्नुभएको छ भन्ने ठान्दछु।

मेरो बुझाइमा उक्त परिस्थितिले उहाँको शारीरिक अवस्थामा केही असर परे पनि मानसिक स्थितिमा एकरत्ति असर परेको छैन। बरु, उहाँलाई देश र जनताप्रतिको उत्तरदायित्व अझ बढी बोध गराएको छ। उहाँले मसँग बेलाबेला भन्नुभएको छ, ‘१४ वर्षको जेल बसाइमा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला।’ गोलघरकै बसाइमा उहाँलाई अल्सर, टिबी, पायल्स जस्ता अनेक रोगहरू लाग्यो। उपयुक्त खाना छैन, उपचार छैन। थुप्रै साथीहरूले उहाँ बाँच्नुहुन्न भन्ने ठानेर बेलाबेला हेर्न जाने गरेका कुराहरू सार्वजनिक भइसकेका छन्। 

उहाँले जेल जीवनमा भोगेका दुई जना डाक्टरहरूको विपरीत अलग अलग चरित्रको बेलाबेला प्रसङ्ग ल्याउनुहुन्छ। अति खराब, दुष्ट र मानवीय भावना पटक्कै नभएका डा. आनन्दबहादुर श्रेष्ठ र डाक्टरी पेसाको ख्याल गर्ने र मानवीय भावना भएका डा. पुष्कर भारती थिए रे। डा. भारतीले डाक्टरको धर्म उपचार गर्नु हो भनेर केपीजीलाई केही औषधिका ‘प्रेस्किप्सन’ लेखिदिँदा डा.आनन्द बहादुर श्रेष्ठले त्यसलाई च्यातिदिएको र डा. भारतीलाई जनकपुरमा सरुवा गरिदिएको घटना उहाँले मलाई सुनाउनुभएको थियो।

यस्ता डाक्टर, जसले आफ्नो पेसागत धर्म छोडेर सत्ताको लालचमा मानवमाथि अत्याचार गर्दा रहेछन्। हुन त, त्यस बेलाको पञ्चायती सत्ताको लालचमा परेका डाक्टरको के कुरा गर्नु, आज पनि केपीजीको स्वास्थ्यलाई लिएर राजनीति गरिरहेका देखिन्छन्। तर, उहाँको स्वास्थ्य निरङ्कुश व्यवस्था विरुद्ध सङ्घर्षपूर्ण राजनीतिक यात्राकै कारण कमजोर बनेको हो। यस यथार्थलाई बुझेर उहाँको स्वास्थ्यमाथि राजनीति नगरिइदिए हुन्थ्यो जस्तो लागिरहन्छ। 

(राधिका शाक्यको पुस्तक 'मेरा अनुभूति'को सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

समावेशी मुद्दाले 'फ्लप' भएको साहित्य महोत्सव

फागुन १९ देखि २२ गतेसम्म जनकपुरमा आयोजना भएको कार्यक्रम समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो। आलोचनाको प्रभावले चार दिनसम्म चलेको महोत्सव खल्लो देखियो। महोत्सवमा....

पदमको विश्रामपुर सार्वजनिक

प्रकाशकका अनुसार उपन्यासमा राजनीतिले लगातार चुसेको देहाती गाउँको कथा समेटिएको छ। आञ्जलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत सङ्ग्रहदेखि यता चार दशकको राजनीतिक,....

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरूमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरूको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर 'कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको....

भट्टीको समाजशास्त्र !

ती हुन्, काठमाडौंको क्षेत्रपाटीबाट सोह्रखुट्टेको उकालो छेउको ‘हजुरको खाजाघर’का साहुजी।  ००० गत शुक्रबार उक्त खाजाघर छिर्दा बेलुकाको साढे ७ बजेको हुँदो हो। खाजाघरभित्र थिए, साहुजीकी....

अब रहर पुग्यो

मैले यसो भनेपछि उसले मेरो हात समातेर रुँदै भनी  “सबै साथीभाइले कोट हाले, आफूलाई पनि कोट लगाउन कस्तो रहर लागेको छ” उसले त्यति मात्र के....