डा. हर्षबहादुर बुढामगरको अर्धकद सालिक अनावरण

डा. हर्षबहादुर बुढामगरको अर्धकद सालिक अनावरण

भैरहवा : नेपालमै लाहुरे जीवनमा पहिलो बिद्याबारिधि गरेका डा. हर्षबहादुर बुढामगरको कपिलवस्तुको कपिलधाम परिसरमा अर्धकद सालिकको अनावरण गरिएको छ। 

दसौँ स्मृति दिवसको अवसरमा साहित्य तीर्थ, कपिलधाम परिसर वाणगंगा नगरपालिका–९ कपिलवस्तुमा डा. हर्षबहादुरको अर्धकद सालिक अनावरण गरिएको हो। 

कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यता प्राप्त तथा ख्याति कमाएका सष्ट्राहरुको अर्धकदको सालिक राख्न सुरु गरिएको छ। लाहुरे जीवनमै शिक्षा, समाजसेवा तथा साहित्यमा निकै रुचि राख्दै लाहुरे जीवनमै बिद्याबारिधि गरेका उनको सालिक राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा जेठो ज्वाइँ दीपक बोहराले अनावरण गरे। 

डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम उनको व्यक्तित्व–कृतित्व चर्चा–परिचर्चा समेत गरिएको थियो। 

सालिक अनावरण पछि बोल्दै पूर्वमन्त्री बोहराले डा. हर्षबहादुर बुढामगरले गरेका प्रयासहरू सराहनीय रहेको उल्लेख गरे। उनले लाहुरे भएर पनि विद्यावारिधि गर्नु उदाहरणीय भएको बताउँदै यसले समाजमा छुट्टै सन्देश दिएको उल्लेख गरे। 

वि.सं. १९८४ कार्तिक ३ गते बागलुङको गलकोट, कौलेनीमा पिता भक्तबहादुर बुढामगर र माता देवकला बुढामगरको कोखबाट जन्मेका हुन हर्षबहादुर। उनले जीवनका विभिन्न कालखण्डमा विभिन्न विभूषण÷पदक तथा पुरस्कार पाएका थिए।

उनी पक्लिहवा माध्यमिक विद्यालय र भैरहवा बहुमुखी क्याम्पसका संस्थापक समेत हुन्। उनको वि.सं. २०६७ माघ १४ गते काठमाडौँमा निधन भएको थियो।

उनले गरेका कामलाई जर्गेना तथा जनता माझ लैजान भन्दै डा.हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान उनकै जेठी छोरी प्राज्ञ गीतकार तथा साहित्यकार उन्नति बोहरा शिलाको अध्यक्षतामा स्थापना भएको छ। हाल अर्थकदको सालिक अनावरण यसै प्रतिष्ठानले गरेको हो। 

कपिल आरोग्य मन्दिर कपिलधाम कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ। 

कपिलधाम धार्मिक तथा साहित्यिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको कपिलधामका अध्यक्ष शंकरप्रसाद आर्चायले जानकारी दिए। 

४८ दशमलव ७५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त धाममा हालसम्म १८ अटा देशका ख्याति प्राप्त साहित्यिक स्रष्टाको अर्धकद सालिक अनावरण गरिएको छ। 

सालिक राख्नका लागि ४ बिगाहा क्षेत्रफल छुट्टाइएको छ। उक्त स्थानमा १०८ वटा सालिक राख्ने तयारी धामले गरेको छ। मर्सि कपिलको तपोभुमि, भगवान् बुद्धले मर्सि कपिलसँग ज्ञान आर्जन गरेको तथा पतञ्जलि ऋषिले योग अभ्यास सिकी विश्वभर फैलाएको स्थल भएकाले सोही अनुरूप गुरुयोजना निर्माण गरी काम गर्न लागिएको अध्यक्ष आचार्यले बताए।

१३ फागुन, २०७७, ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।