ठमेलका ४० प्रतिशत व्यवसाय अझै बन्द, ७ सय व्यापारी विस्थापित

ठमेलका ४० प्रतिशत व्यवसाय अझै बन्द, ७ सय व्यापारी विस्थापित

काठमाडौँ : मङ्गलवार ठमेल पुग्दा साँझ छिप्पिँदै थियो। सामान्य अवस्थामा खचाखच देखिने ठमेल सुनसान थियो। मुख्य सडकदेखि गल्लीहरूमा केही मानिस हिँडिरहेका थिए। 

साँझ पर्ने बित्तिकै झिलिमिली देखिने ठमेलका गल्ली अँध्यारा थिए। कतै टु लेट लेखेर सटर बन्द गरिएका। खुलेका सटरभित्र पनि टोलाइरहेका व्यापारी मात्रै भेटिए। 

‘लकडाउनपछि सटर त खोलिएको छ, तर व्यवसायमा सञ्चार भएको छैन। ‘हाम्रो काम त पसल खोल्ने मोबाइल चलाउने बस्ने मात्रै भएको छ,’ फुर्सदिला भेटिएका टुरिस्ट पार्क टुर्स एन्ड ट्राभल प्रालिका सञ्चालक रबिन पौडेलले सुनाए। ट्राभलमा सेवाग्राही शून्य थिए। साँझ बत्ती बालेर उनी बसिरहेका थिए।

हुन त उनलाई सेवाग्राही आउँछन् भन्ने आस पनि थिएन। तर साँझ बत्ती बालेर घर फर्कने सोचमा उनी साँझ नमरुन्जेलसम्मलाई लागि कुरिरहेका थिए। 

‘आजभोलि ट्रेकिङको काम छँदैछैन, ट्राभलको पनि थोरै खुद्रा काम हुन्छ, त्यही पनि डोमेस्टिक मात्रै,’ उनले सुनाए।

सामान्य अवस्था हुँदा अनलाइनबाट समूह–समूहमै टिकट बुकिङ हुन्थ्यो रे। लकडाउनका कारण विदेशी पर्यटकको आवागमन ठप्प भएपछि चैत यता केही सङ्ख्यामा आन्तरिक टिकट मात्रै बुकिङ हुने उनी बताउँछन्। 

‘त्यो पनि बार्गेनिङ गरेर बल्ल तल्ल काम हुन्छ। भाडा तिर्न पुर्याउनै गाह्रो छ, यो ट्राभल एन्ड टुर्स कम्पनी मात्रै भएको भए त सटर बन्द गरेर हिँड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तर मेरो चाहिँ यो सँगै ल फर्म र नोटरी पब्लिक पनि भएको भएर केही सहज छ,।’ उनकाअनुसार लकडाउनपछि सटरको पुरा भाडा तिर्ने आम्दानी समेत भएको छैन।  

विगत १० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध पौडेलले यो भन्दा अगाडी यस्तो सङ्कट कहिल्यै झेल्नु परेको थिएन। भूकम्प तथा नाकाबन्दीको समयमा पनि खासै असर नपरेको ठमेल बजार कोरोना महामारीका कारण नराम्रोसँग थलिएको उनी बताउँछन्। 

ठमेल क्षेत्रको अधिकांश व्यापार/व्यवसाय विदेशी पर्यटकमा निर्भर रहेकाले पनि कोरोना महामारीको असर ठमेल क्षेत्रका व्यवसायीहरूलाई परेको बताउँछन् व्यवसायी रबिन पौडेल। तर सरकारले यसरी थलिएका व्यवसायीहरूलाई कुनै सहयोग गुनासो पौडेलको छ। 

व्यवसायी पौडेलसँग कुरा गरेर बाहिर निस्किदा अँध्यारो भइसकेको थियो। वरपरका व्यापारीहरू सटर तान्न थालिसकेका थिए। ठमेलका नाइट क्लब, दोहोरी साँझ, लाउन्ज लगायत रात्रिकालीन व्यवसायहरूमा भने केही चहलपहल सुरु हुँदै थियो। 

बुधवार दिउँसोको समयमा पुनः ठमेल पुग्दा पनि ठमेल सुनसान नै देखिन्थ्यो। बाटोमा अघिल्लो दिनमा जस्तै केही मानिस ओहोरदोहोर गरिरहेको देखिए पनि व्यापार व्यवसाय ठप्प प्रायः थियो।  

केही पसलहरू भर्खर खुल्दै थिए। केही सटर बन्द थिए। खुल्ला रहेका होटेल, रेस्टुराँ र पसलहरू सुनसान थिए। व्यापारी व्यवसायीहरू कोही पसल भित्र टोलाइरहेका थिए त कोही घाम ताप्दै।

हिँड्दै जाँदा एउटा पुस्तक पसल भेटियो। पुस्तक पसल विशेष गरी विदेशी पर्यटक लक्षित रहेछ। साहित्य, धर्म, संस्कृति, इतिहास, उपन्यास, कथा लगायतका अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू। पसल सुनसान थियो। भित्रपट्टि व्यापारी आफैँ पुस्तक पढेर बसिरहेका रहेछन्। 

‘व्यापार छैन, यसरी टाइम पास गरिँदैछ,’ व्यापारी दिपेन दुप्चनले सुनाए। सामान्य अवस्थामा दैनिक १० हजारभन्दा बढीको पुस्तक व्यापार हुने उनको पसलमा हिजोआज बोहनी  नै नहुने गरेको उनले गुनासो पोखे। 

‘दिनमा व्यापार १० हजारसम्म हुन्थ्यो, अहिले त बोहनी नभएको पनि महिनौँ भयो,’ उनले सुनाए। 

पसलको समान बिग्रिन्छ भनेर व्यापार नभए पनि सटर खुल्ला गर्न मात्र दिपेन थलीबाट ठमेल आउँछन्। बिहानै सटर खोल्छन्। सरसफाइ गर्छन्। कुर्सीमा बस्छन्। मन लागेको किताब पल्टाउँछन् र दिन कटाउँछन्। साँझ सटर बन्द गर्छन्, र घर फिर्छन्। लकडाउन हटेपछि उनको दैनिकी यस्तै यस्तै छ। 

‘किताब किन्न भनेर नेपाली खासै ठमेल आइपुग्दैनन्, विदेशीहरू आएका छैनन्,’ उनले भने, ‘अब विदेशी पर्यटक नआएसम्म व्यापार ठप्प नै हो, भाडा पो कसरी तिर्ने भन्ने चिन्ता छ।’

घरभेटी मनकारी हुँदा उनले २ वर्षका लागि ५० प्रतिशत भाडा छुट पाएका छन्। नत्र त सटरको भाडा मासिक ३० हजार हो। ५० प्रतिशत छुट भएपछि कोरोना सुरुभएयता दुई वर्षसम्म मासिक १५ हजार मात्रै तिरे पुग्छ। ‘तर व्यापार नभएपछि मासिक १५ हजार जुटाउन पनि गाह्रो पर्ने रहेछ,’ दिपेन भन्छन्, ‘व्यापारै नभएपछि के गर्नु त्यति भाडा तिर्न पनि सापटी र ऋण लिनु परेको छ।’

बजार कहिलेसम्म थला पर्ने हो त्यो अनुमान गर्न सक्ने अवस्था छैन। विदेशी पर्यटक नआएसम्म थलिएको ठमेल उठ्ने स्थिति पनि छैन। महामारीका कारण थला परेको ठमेल बजार चलायमान बनाउन सरकारले पर्यटकहरू नेपाल आउने वातावरण सहज बनाउनुपर्ने दिपेन बताउँछन्। 

दिउँसो १ बजेको थियो। एउटा क्राफ्ट एन्ड ज्वेलर्स् पसलका व्यापारी प्रकाश श्रेष्ठ भर्खर सटर खोलेर अगरबत्ती घुमाउँदै थिए। 

‘भर्खर पसल खोल्दैछु आउनुस् भित्रै गफ गरौँ,’ उनी भित्र पसे अनि हात बाँधेर बसे। ‘हेर्नुस् अब दिनभरि यस्तै गरी हात बाँधेरै बस्ने हो,’ उनले भने। 

उनको पसलमा मूर्ति, ह्याण्डिक्राफ्ट, ज्वेलरी लगायत सामान छन्। यी सामग्री पनि नेपालीले भन्दा विदेशीले नै खरिद गर्छन्। ९० प्रतिशतभन्दा बढी उनका ग्राहक बिदेसिनै हुन्। 

‘यो अधिकांश सामग्री विदेशी लक्षित हो, विदेशी पर्यटक नआएसम्म त सामान रुघ्ने बस्ने मात्रै हो हामी त,’ उनले भने। कोरोना महामारी र लकडाउनपछि पसल खोलिए पनि हप्ताको एक पटक पनि बोहनी हुन मुस्किल पर्ने उनले बताए। 

व्यापारी प्रकाशले घरभेटीबाट २ महिनाको भाडामा ५० प्रतिशत छुट पाए। अहिले उनी पहिले बचत गरेको रकमबाटै भाडा तिरिरहेका छन्। सरकारबाट केही सहुलियतको आश्वासन आएको भए पनि सहुलियत पाइएला भन्ने विश्वास नै छैन उनलाई। 

देशको मुख्य पर्यटन केन्द्र ठमेलको समग्र व्यापार व्यवसाय चौपट छ। पछिल्लो समय रात्रिकालीन व्यवसायमा केही चहलपहल देखिए पनि अन्य व्यापारी व्यवसायीहरू पर्यटकको पखाईमा छन्। 

ठमेलका ४० प्रतिशत व्यवसाय अझै बन्द 

लकडाउन हटेको लामो समय बितिसक्दा पनि ठमेलको व्यापार व्यवसाय सामान्य अवस्थामा नफर्किएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ। ठमेलका ६० प्रतिशत व्यवसायहरू मात्रै अहिले सञ्चालनमा रहेको र बाँकी ४० प्रतिशत व्यवसायहरू अझै बन्द रहेको परिषद्का उपाध्यक्ष भविश्वर शर्मा बताउँछन्। 

भाडा महँगो तर व्यापार शून्य हुँदा तिर्न नसक्ने अवस्थाका होटेल, रेस्टुराँ ट्राभल एन्ड टुर्स तथा विभिन्न पसलहरू बन्द भएको उपाध्यक्ष शर्माले जानकारी दिए। 

‘घर भाडा तिर्न नसक्ने, कर्मचारीहरू व्यवस्थापन गर्न कठिनाइ भएका ४० प्रतिशत व्यापार व्यवसाय, होटेल सञ्चालनमा आउन सकेका छैनन्,’ उनले भने, ‘ऋण लिएर सञ्चालन भएका होटलहरु महामारीका कारण डुबेपछि बन्द भएको अवस्था छ।’ 

७०० व्यवसायी विस्थापित 

ठमेलबाट ७ सय व्यवसायी विस्थापित भएका छन्। होटेल, रेस्टुराँ, ट्राभल एन्ड टुर तथा पसलहरू गरेर ७ सयको हाराहारीमा व्यवसायीहरू विस्थापित भएका ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ। यो सङ्ख्या गत भदौसम्म विस्थापित भएका व्यवसायीहरूको हो। पछिल्लो समयको तथ्याङ्क सङ्कलन गर्न नसकिएको परिषद्ले जनाएको छ। 

रात्रिकालीन व्यवसायमा भने चहलपहल 

रात्रिकालीन व्यवसाय शतप्रतिशत खुल्ला रहेको परिषद्ले जनाएको छ। लकडाउनपछि पनि रात्रिकालीन व्यवसायमा भने राम्रो चहलपहल हुन थालेको व्यवसायीहरू बताउँछन्। ‘रात्रिकालीन व्यवसाय धेरै विदेशी ग्राहकमा भर नपर्ने भएकाले सहज देखिन्छ,’ व्यवसायी भविश्वर शर्मा भन्छन्, ‘शुक्रवार र शनिवार रात्रिकालीन व्यवसायमा ८० देखि ९० प्रतिशत हाराहारीमा व्यवसाय भएको देखिन्छ।’

पाएनन् सबैले भाडा छुट 

लामो समयसम्म ठमेलको बजार चलायमान हुन नसकेपछि थला परेका ठमेलका सबै व्यवसायीहरूले सटर भाडा छुट पाएका छैनन्। घरभेटीअनुसार कसैले छुट पाएको तथा कसैले छुट नपाएको परिषद्ले जनाएको छ। 

‘लकडाउन अवधिको भाडा समायोजन सम्बन्धी कार्यक्रम चलाएका थियौँ त्यसमा ७०  प्रतिशत घरधनीबिचमा भाडा समायोजन भयो, कतिले सीमित अवधिका लागि ३० प्रतिशत देखि ६० प्रतिशतसम्म भाडा छुट दिनु भयो, कति घरभेटीले भाडा छुट नदिएको अवस्था पनि छ,’ परिषद्का उपाध्यक्ष शर्माले भने। अहिले त छुट भएको भाडा तिर्न समेत असहज भएको उनले बताए।

सरकारबाट छैन राहत 

आफूहरू धराशायी भएको अवस्थामा पनि सरकारले राहत उपलब्ध नगराएको व्यवसायीहरूको गुनासो छ। सरकारले व्यवसायीहरूलाई पुनः कर्जा, कर छुट, सहुलियतपूर्ण कर्जा लगायत राहत प्याकेज उपलब्ध गराउने आश्वासन दिएको थियो। तर व्यवसायीहरूले सरकारबाट कुनै पनि सहुलियत नपाएको गुनासो गरेका छन्। 

सरकारले अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई सहजीकरण समेत नगरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष समेत रहेका व्यवसायी भविश्वर शर्मा बताउँछन्। 

ट्रेकिङ एजेन्सिसज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम बहादुर सुवेदी पनि सरकारले धराशायी रहेका पर्यटन व्यवसायीहरूको समस्यामाथि रमिता हेरेको बताउँछन्। 

‘पर्यटन जस्तो महत्त्वपूर्ण व्यवसायलाई सरकारले नजरअन्दाज गरिरहेको छ, थलिएको पर्यटन व्यवसायलाई पुर्न स्थापना गर्ने हो भने सरकारले पर्यटन आगमनमा सहज बनाउनुपर्छ,’ अध्यक्ष सुवेदीले भने। 

पर्यटनको सिजन सुरु भए पनि सुरक्षा निर्देशिका लगायत झन्झटिलो व्यवस्थाका कारण पर्यटकहरू नेपाल आउन नसकेकाले सरकारले त्यसमा पनि सहजीकरण गरिदिनुपर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईँ बताउँछन्। 

विदेशी पर्यटक नेपाल आउँदा ७२ घण्टाको पिसीआर रिपोर्ट लिएर आउँनेहरुको हकमा ५ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने व्यवसायीहरूको माग छ। 

हालसम्म खोल्न बाँकी सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू खुल्ला गरी पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारले सहजीकरण गर्नुपर्ने पर्यटन व्यवसायीहरूको माग छ । 

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति बनाउन जोड : बोर्ड 

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति बनाउन सरोकारवालाहरूसँग सहकार्य गरिरहेको जनाएको छ। 

जतिसक्दो छिटो पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन योजनाहरू बनाइरहेको बोर्डको भनाई छ। 

‘हामीले पर्यटन पुनरुत्थानका लागि कार्यक्रम अगाडी बढाएका छौँ,’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी भन्छन्, ‘पर्यटकीय क्षेत्रमा नयाँ पूर्वाधार विकास गर्न तथा क्षेत्रगत रूपमा पर्वतारोहण, ट्रेकिङ, पर्यटकीय हब र तराईमा क्यासिनोसहितका पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने सोचका साथ अवधारणा तय गरिरहेका छौँ।’ 

राष्ट्र बैङ्कलाई सोध्नुस् पर्यटन विभाग 

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ कोरोना महामारीले थलिएका पर्यटन व्यवसायीहरूको राहत तथा सहुलियतका सम्बन्धमा आफूलाई जानकारी नभएको बताउँछन्। 

‘यो मलाई थाहा हुँदैन, कार्यविधि पनि बनेको छ, राष्ट्र बैङ्कलाई सोध्नुस्,’ उनले भने। 

१३ फागुन, २०७७, १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।