तीन पुस्तै कलामा

तीन पुस्तै कलामा
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं : बाजे झसेन्द्र विक्रम राणा, बुबा सुदर्शन विक्रम राणा, आमा सुनिता राणा अनि छोरी प्रधि राणा। यी तीन पुस्ताको हातको चमत्कार टाँसिएको छ नेपाल आर्ट काउन्सिलको भित्तामा।

‘विरासत’ टाइटल छानेर एकाघरका तीन पुस्ते कलाकार आफूले बुझेको समाजलाई ६० वटा चित्रमा प्रस्तुत गरेका छन्।

उही समाज, उही जीवन, उही प्रकृति। तर बुझाई एक हुन्छ त ? उही रङ्ग, उही क्यानभास, ब्रस उही, माध्यम पनि उही। भित्तामा सजिएका चित्र हेर्दा बुझाउँछ के हो जेनेरेसन ग्याप भनेको।

भैरव अनि गौतम बुद्ध आफैमा विवादित थिम हुन्। भैरव हिन्दु धर्ममा शिवको आक्रोशको अवतारको रूपमा लिइन्छ। गौतम बुद्ध शान्तिको दूत। तर कला प्रदर्शनीमा झसेन्द्रले यी दुई पात्रकै सिरिजमा काम गरेका छन् ।

८४ वर्षका उनी बाल्यकालदेखि नै मठ मन्दिरमा पुग्दा त्यहाँको कलाकृतिमा रमाउँथे। मन त कुची समाउने नै थियो। तर घरको दबाबले उनको हातमा बन्दुक आइपुग्यो।

अवकाश जीवन सुरु भएसँगै उनी बन्दुक फ्याँकेर फेरि कुचीमा आइपुगे। २०६६ मा एकल कला प्रदर्शनी गरेका उनी अहिले तीन पुस्तासँग मिसिए आर्ट काउन्सिलको भित्तासँगै छन्।

दुई विपरीत स्वभावलाई सिरिजमा उतार्नुको कारणबारे उनी भन्छन्‘ हिन्दु, बुद्धिस्ट जुन धर्म माने पनि भगवान् त एउटै हुन् भन्ने थिममा काम गरेको हो।’

सुदर्शन विक्रम राणा र सुनिता राणा त चित्रकार दम्पतीका रूपमा परिचितै कलाकार हुन्।

सुदर्शन आफूले गर्दै आएको मूर्तिकलाको कामसँगै कुचीमा पनि रमाउँछन्। उनले प्रदर्शनीमा मूर्तिसँगै चित्रकला पनि राखेका छन्। 

कलाकार सुनिता राणाले मेटामर्फाेसिस सिरिजलाई प्रदर्शनीमा राखेकी छिन्। झुसिल्किरा पुतली बन्दासम्मको उसका सङ्घर्ष अनुभव गर्न सकिन्छ उनको कलामा।

लामो समयदेखिको कलामा सक्रिय उनका चित्रमा रङ्गको सम्मिश्रण आफैमा अर्थपूर्ण देखिन्छन्। पहिलेको कुरा सम्झेर खुसी हुने नोस्टाल्जिया सिरिजमा काम गरेकी छन् उनले। 

‘मलाई अँध्यारो र प्रकाशको थिममा काम गर्न रमाइलो लाग्छ’ उनले भनिन्।

उनका चित्रहरूमा रङको सम्मिश्रण बेजोडका देखिन्छन्। सुनिता आर्ट मिडियामा बाँधिनु हुन्न भन्नेमा प्रस्ट छिन्। मूर्ति, पेन्टिङ, इन्सलेसन, परफरमेन्स आर्ट, कविता, गीत हरेकमा उनी संलग्न छिन्।

तेस्रो पुस्ताकी प्रधी भने महिलावादलाई अगाडि बढाउँदैछिन कलामार्फत। समानता र स्वतन्त्रताविना मानवको अस्तित्व के होला र? यही प्रश्न नै उनका चित्रहरूले बोल्छन्। महिलाको इमोसन र स्वतन्त्रताको चाहलाई कुचीमार्फत व्यक्त गरेकी छिन् उनले।

उनीहरूको घरै आर्ट स्टुडियो बराबर छ। तल्लो तलामा सुदर्शन र सुनिताको संयुक्त आर्ट स्टुडियो छ। जहाँ बसेर यी दम्पती आ–आफ्नो कलाकृतिमा घोत्लिन्छन्। 

दोस्रो तलामा प्रधीको कोठा छ। उनी आफ्नै कोठामा क्यानभास र कुची चलाउन रुचाउँछिन्। अनि पालो आउँछ झसेन्द्रको आर्ट स्टुडियोको।  एकले अर्काको आर्टलाई सल्लाह र सुझावहरू दिइरहन्छ तर हरेकलाई हरेकको थिममा काम गर्ने स्वतन्त्रता छ ।

राणा फेमिलीबाट विरासतमा

केही वर्ष अघि उनीहरूले ‘राणा फेमिली’ शीर्षकमा कला प्रदर्शनीको योजना बनाएका थिए। एमबी श्रेष्ठ फाउन्डेसनले कला प्रदर्शनीलाई सम्भव बनाइदियो। नाम बदलियो विरासत।

प्रदर्शनीमा क्यान्सर पीडितहरूको सहयोगार्थ हरेक कलाकारका ३, ३ वटा चित्र गरी १२ वटाको बिक्रीबाट जति आउँछ त्यसको आधा रकम फाउन्डेसनले पाउँछ।

१३ फागुन, २०७७, ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।