‘अदृश्य’ माग राखेर आन्दोलनमा नेविसंघ 

‘अदृश्य’ माग राखेर आन्दोलनमा नेविसंघ 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयको मूल ढोकाअघि भुइँमा कार्पेट ओछ्याएर विद्यार्थीहरू बसिरहेका छन्।

भित्तामा ब्यानर टाँगिएको छ। ‘त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा अनिश्चितकालीन रिले अनसन’ लेखिएको ब्यानरमा विभिन्न मागहरू लेखिएका छन्। ब्यानरको छेउको भित्तामा टाँसिएको कागजमा रिले अनसनको २२ औं दिन उल्लेख गरिएको छ।  

उपकुलपति कार्यालयमा आज देखिएको दृश्य हो यो। 

नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थीहरू हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म पालैपालो रिले अनसन बसिरहेका छन्। 

आजको रिले अनशनमा थिए, कृष्ण उपाध्याय, विवेक खड्का, वरुण खड्का र प्रवीणकुमार रावल। 

अनसन बसेका रावलले आफूहरूको मागमा उपकुलपतिले वास्ता नगरेको भन्दै आक्रोश पोखे। ‘हाम्रो मागमा त्रिविले कुनै वास्ता गरेको छैन,’ रावलले भने, ‘उपकुलपतिले हाम्रो माग पूरा नगरुन्जेल आन्दोलन जारी राख्छौं।’

ब्यानरमा ५ बुँदे माग छन्, जसमा स्ववियु चुनाव तत्काल घोषणा गर्नु पर्ने, कोभिड–१९ का कारण परीक्षा र नतिजा प्रकाशनमा भएको ढिलाइका कारण शैक्षिकसत्र गुम्ने खतरा भएकाले एक महिनाभित्र नतिजा प्रकाशन गर्ने सुनिश्चित गर्नु पर्ने छन्।

यस्तै, त्रिविको वार्षिक क्यालेन्डर अनुसार भर्ना प्रक्रिया सुरु गर्नु पर्ने, नेविसंघ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्न र त्रिविको प्राध्यापक, विद्यार्थी संगठनका नेतृत्वहरूलाई बदनाम गराउन र झुटो मुद्दा लगाउन बन्द गर्नुपर्ने छन्। 

त्रिविका शिक्षाध्यक्ष शिव भुसाल भने विद्यार्थीले राखेको माग पूरा गर्न कुनै आपत्ति नभएको बताउँछन्।

‘ब्यानरमा लेखिएका माग पूरा गर्न त्रिवि तयार छ। हामीले वार्ताको लागि त्रिवि अनुगमन निर्देशानलयका सदस्य विष्णु वाग्लेको नेतृत्वमा वार्ता समिति बनाएका छौं,’ भुसालले भने, ‘विद्यार्थीहरूले खोइ किन हो उहाँसँग वार्ता गर्न मानेका छैनन्।’

त्रिविले वार्ता गर्न विश्वविद्यालयको अनुगमन निर्देशानलयका सदस्य विष्णु वाग्लेको नेतृत्वमा चार सदस्यीय समिति बनाएको छ। 

समिति संयोजक वाग्ले आफूले विद्यार्थीसँग वार्ता गर्न चाहे पनि विद्यार्थीले नै नमानेको बताउँछन्। ‘हामीले उहाँहरूलाई वार्तामा बोलाएका हौं,’ वाग्लेले भने ‘उहाँहरू हाम्रो समितिसँग वार्ता नगर्ने बताउनु हुन्छ।’

आन्दोलनमा सक्रिय नेविसंघकी पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगर भने आफूहरू उपकुलपतिसँग मात्रै वार्ता गर्ने बताउँछिन्।

‘केही समयपहिले पनि यही नेतृत्वसँग नेविसंघले २३ बुँदे सम्झौता गरेको हो,’ रानाले भनिन्, ‘ती सम्झौताहरू कार्यान्वयन भएनन्। पटक–पटक आन्दोलन गर्नु नपरोस्  भन्नकै लागि उपकुलपतिसँग वार्ता गर्ने अडान लिएका हौं।’ 

ब्यानरमा एउटा माग, वार्तामा अर्कै !

नेविसंघले ब्यानरमा राखेका माग अनौपचारिक वार्तामा भने नराखेको त्रिविको उपकुलपति कार्यालय स्रोत बताउँछ।

स्रोतका अनुसार विद्यार्थीले समाजशास्त्र विभागका उपप्राध्यापकले राजीनामा दिनुपर्ने, विद्यार्थीमाथि ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा फिर्ता हुनुपर्ने र त्रिविका विभिन्न पदमा प्रजातान्त्रिक निकटका व्यक्तिहरूलाई नियुक्ति दिनुपर्ने माग राख्दै आएको छ। 

‘उहाँहरूले विद्यार्थीको मागभन्दा पनि त्रिविका पदहरूमा भाग खोज्ने किसिमले आन्दोलन गर्नुभएको छ,’ उपकुलपति कार्यालय स्रोतले भन्यो, ‘नदेखिने माग राख्ने अनि कसरी माग सम्बोधन हुन्छ ?’

समस्याको चुरो 

गत असोज २० गते त्रिवि परिसरमा समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने कुटिए। नेविसंघका विद्यार्थीले उनलाई रड प्रहार गरेर मरणासन्न हुने गरी कुटपिट गरे। उनी कुटिनुको कारण थियो– त्रिविको समाजशास्त्र विभागमा विद्यार्थीले लगाएको ताल्चा फोर्नु। 

गत भदौमा समाजशास्त्र विभागको प्रमुखमा डा. युवराज लुइँटेल नियुक्ति भएपछि नेविसंघले त्यसको विरोधमा विभागमा ताला लगाएको थियो। 

कुटपिटपछि चलाउनेको खुट्टा भाँचियो र टाउकोमा गम्भीर चोट लाग्यो। उनको लामो समय मेडिसिटी अस्पतालमा उपचार गराइयो। 

उपप्राध्यापक कुटेको अभियोगमा नेपाल विद्यार्थी संघका रविन लामा, रूपेश शाहलगायत सातजनाविरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्दा चलिरहेको छ। उनीहरू जनही ५० हजार रूपैयाँ धरौटीमा रिहा भएका हुन्। 

त्रिवि स्रोतका अनुसार अनौपचारिकरूपमा नेविसंघले ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दालाई फिर्ता लिनुपर्ने लगायतको माग पनि राखेको छ। 

तर, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिना आफूहरूले नेविसंघ कार्यकर्तालाई झुटो मुद्दा लगाएकाले मुद्दा फिर्ता गर्नुपर्ने बताउँदै आए पनि त्रिविसँग भने यस्तो माग नराखेको दाबी गर्छन्। उपप्राध्यायपक चलाउनेमाथि कुटपिटको मुद्दा अदालतमा रहेकाले आफूहरूले त्रिविसँग यस्तो माग नराखेको उनको भनाइ छ। 

‘त्रिविले नियतवस नेपाल विद्यार्थी संघका कार्यकर्तालाई मुद्दा दर्ता गरेको छ,’ उनले भने, ‘विश्वविद्यालयलाई कम्युनिस्टीकरण गदै निषेधको राजनीति गरिएको छ।’

गत मंसिरमा नियुक्ति भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले क्याम्पस प्रमुखदेखि त्रिविका विभागसम्ममा ओली निकट नेकपालाई प्राथामिकता दिएको नेविसंघको आरोप छ। 

त्रिविका शिक्षाध्यक्ष शिव भुषाल भने यसपालिको त्रिवि पदधिकारीले विभिन्न पदहरूमा सिनियारिटीको आधारमा नियुक्ति दिएको दाबी गर्छन्। 

‘विद्यार्थीले शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने हो। नियुक्ति दिएको व्यक्तिहरूको क्वालिटी हेर्नुपर्ने हो,’ भुसालले भने, ‘विश्वविद्यालयले राजनीतिक आस्थालाई आधार बनाएर नियुक्ति दिएको छैन। र, दिनु पनि हुँदैन।’

नेविसंघ नेत्रीको आरोप– माग विषयान्तर गर्न खोजियो 

नेपाल विद्यार्थी संघकी नेत्री प्रेमिका रानामगर त्रिविले नेविसंघका माग विषयान्तर गर्न खोजेको आरोप लगाउँछिन्। ‘त्रिविले नेविसंघका ‘अदृश्य’ माग छन् भन्दै माग विषयान्तर गर्न खोजेको छ,’ उनले भनिन्। 

नेविसंघले स्वतन्त्र विद्यार्थी युनियन चुनावको मिति तोक्न, संगठनसँग गरेका २३ बुँदे माग पूरा गर्न, क्यालेण्डर अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्नलगायत माग राखेको उनको दाबी छ। 

‘त्रिवि हामीले राखेका मागहरू पूरा गर्न त्रिविले गम्भीर छैन। बरु अरु नै माग छन् भनेर हल्ला पिटाउन थालेको छ,’ रानाले भनिन्, ‘स्ववियु चुनावको मिति तोक्नुस् भन्दा उहाँहरूले मान्नुभएको छैन। काम नगर्ने तर अनेक थरी हल्ला चलाउने ?’

‘विद्यार्थी संगठन मिले स्ववियु चुनावको मिति तोक्न समस्या छैन’ 

२०६५ सालमा त्रिविका प्रायः सबै आंगिक क्याम्पस र मान्यता प्राप्त क्याम्पसहरूमा चुनाव भयो। त्यसपछि त्रिविले सबै क्याम्पसहरूमा स्ववियुको चुनाव गराउन सकेको छैन। 

नेविसंघले स्ववियु चुनावको मिति तोक्नु पर्ने माग राख्दै आएको छ।

त्रिविका शिक्षाध्यक्ष भुषाल सबै विद्यार्थी संगठन मिलेर आए चुनावको मिति तोक्न समस्या नहुने बताउँछन्। ‘स्ववियु चुनावको मिति तोक्न कुनै ठूलो कुरा हैन,’ भुषालले भने, ‘पहिले विद्यार्थी संगठन मिलेर आउनुपर्याे। स्ववियु नभएर पनि विद्यार्थीका मागहरू पूरा गर्न गाह्रो भइरहेको छ।’
 

१२ फागुन, २०७७, २३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।