ओली सच्चिएर आए पार्टी एक हुनसक्छ : नारायणकाजी

ओली सच्चिएर आए पार्टी एक हुनसक्छ : नारायणकाजी

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहको स्थायी समितिको बैठकले नेकपाको ओली समूहमा लागेका नेता– कार्यकर्तालाई आफ्नो समूहमा फर्किएर पुरानै जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भ्रममा परेर फुटवादी र प्रतिगामी गुटमा लागेका साथीहरूलाई पार्टीमा फर्किएर आ–आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गर्ने बैठकले निर्णय गरेको हो।

बैठकले प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाको उच्च मूल्याङ्कन गर्दै सबैप्रति आभार व्यक्त गरेको भन्दै‘ संविधान विरोधी गतिविधि तत्काल असफल पारिए पनि यस्ता गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने निष्कर्ष निकालिएको उनले बताए।

उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफूले गरेको गल्तीमा माफी माग्दै सच्चिएर आए पार्टी एक हुनसक्ने बताए। सर्वोच्चबाट संसद् पुनर्स्थापनाको फैसला आए लगत्तै पार्टीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन भने पनि अस्वीकार गरेर बसेकाले ओलीमा सुधारको सम्भावना नरहेको उनले बताए।

‘संविधान र लोकतन्त्रमाथि प्रहार, पार्टी चोइटाउने प्रयास ओलीले गरेको हो। हामी त अहिले पनि  पार्टी एकताको पक्षमा छौँ। तर गुट र फुटमा रमाउने र संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने काम रोक्नुपर्छ’ उनले भने। 

ओलीमा आत्मालोचनासहितको रूपान्तरणको सम्भावना नदेखिएको भन्दै उनले भने‘अदालतबाट आदेश आइसक्दा पनि राजीनामा दिन तत्परता देखाउनु भएको छैन। तत्काल राजीनामा दिएर मैले गल्ती गरे भनेर प्रस्तुत हुनुपर्यो।’ 

१२ फागुन, २०७७, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।