सत्ताको केन्द्रमा काँग्रेस : नेकपाका दुवै समूह देउवा फकाउँदै 

सत्ताको केन्द्रमा काँग्रेस : नेकपाका दुवै समूह देउवा फकाउँदै 

काठमाडौँ : प्रतिनिधि सभा पुनर्स्थापनाको फैसलासँगै भावी सरकार गठनका लागि नेकपाको दाहाल–नेपाल समूहका दुवै अध्यक्ष सक्रिय भएका छन्। सर्वोच्चबाट संसद् विघटन बदरको फैसला आउँदा  पुष्पकमल दाहाल र माधव नेपाल चितवनमा थिए। उनीहरू बुधवार काठमाडौँ आए लगत्तै भावी सरकार लक्षित राजनीतिक संवादलाई तीव्र बनाएका छन्।

उनीहरूले बुधवार पहिला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन्।  देउवा निवास बुढानीलकण्ठमा भएको छोटो भेटमा उनीहरूबिच सत्ता समीकरणबारे छलफल भएको थियो।

भेटमा भएको छलफलबारे जानकार स्रोतका अनुसार दाहाल र नेपालले संसद् विघटनविरुद्ध आन्दोलित भएकोमा धन्यवाद दिँदै अब सहकार्य गरेर सरकार बनाउन प्रस्ताव गरेका थिए। उनीहरूले सरकारको नेतृत्वबारे भने खुलेर छलफल नगरेको स्रोतले बतायो।

‘ओलीले राजीनामा नदिएको अवस्थामा अविश्वासको प्रस्ताव लैजानुपर्ने र सो पारित गराउन पनि काँग्रेसको साथ चाहिन्छ नै,’ बुढानीलकण्ठ स्रोतले भन्यो‘काँग्रेस सहकार्यमा तयार हो भने ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन आवश्यक प्रक्रिया अगाडि बढाउन तयार रहेको सन्देश दिनुभएको थियो।’

देउवाले उनीहरूलाई प्रस्ट जवाफ भने दिएनन्। आफू संसद् विघटनको विपक्षमा रहे पनि सर्वोच्चबाट आउने फैसलाको पर्खाइमा रहेको र अदालत कतैबाट प्रभावित नबनी संविधान अनुसार फैसला गरेको भन्दै उनले दाहाल–नेपालको प्रस्तावबारे पार्टीमा छलफल गर्ने जवाफ दिएका थिए। 

तीनै समूह बैठक केन्द्रित

मङ्गलवारको अदालतको फैसलापछि बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बिहीबार पदाधिकारीको बैठक राखेका छन्। दाहाल–नेपाल समूहले पनि स्थायी कमिटीको बैठक सकाएर संसदीय दलकाे बैठक राखेका छन्। उता ओली समूहले पनि संसदीय दल लगायतको बैठक राखेर बदलिएको परिस्थितिबारे छलफल गर्दछ।

ओली समूह दाहाल–नेपालको रणनीति हेर्दै

नेकपा व्यवहारिक रूपमा विभाजित भए पनि कानुनी रूपमा भने अझै एकै छ। पार्टी विभाजनको प्रक्रियामा दुवै समूह प्रवेश गरेका छैनन्। उनीहरूले केवल आफू आधिकारिक हुँ मात्र भनिरहेका छन्। बुधवार बसेको नेकपा ओली समूहको स्थायी समितिको बैठकले प्रतिनिधि सभा पूनर्स्थापनाबारे सर्वोच्चबाट आएको फैसलाको कार्यान्वयन गर्ने निर्णय गरे पनि सरकारमा बस्ने र छाड्नेबारे भने केही उल्लेख गरेन। उनीहरू अन्य दलसँग संवादको रणनीतिमा देखिन्छन्।

सकेसम्म विवाद समाधान गरेर पार्टीलाई एकै राख्ने प्रयास गर्ने, नभए बहुमत पूर्याएर आफ्नो समर्थनको नयाँ सरकार बनाउने ओली समूहको रणनीति देखिन्छ। उता दाहाल–नेपाल समूह भने ओलीसँग सहकार्य गर्ने मनस्थितिमा छैन। बिबिसी नेपालीसँगको अन्तर्वार्तामा सो समूहका अध्यक्षमध्ये एक दाहालले अर्को दलको रूपमा ओलीसँग संवाद हुनसक्ने भए पनि सहकार्य भने हुनै नसक्ने बताइसकेका छन्।

केन्द्रमा काँग्रेस

प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने मागबाट नेकपामा सुरु भएको किचलोले तल्लो तहसम्म दुवै समूहको समानान्तर पार्टी संरचना बनिसकेको छ। दुवैको नाम एकै भए पनि गतिविधि विरोधी पार्टी समानै छ। यो अवस्थामा दुवै समूह एकीकृत भएर अगाडि जाने सम्भावना देखिन्न।

नेकपा विभाजित भएको अवस्थामा कुनै समूहसँग पनि एकल बहुमत पुग्दैन। अन्य साना दलसँग सहकार्य गरेर बहुमतको सरकार सम्भव छैन। कि अल्पमतको सरकार या प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितको बहुमतको सरकार गठनमै दाहाल–नेपाल र ओली केन्द्रित हुने देखिन्छ।

उता नेपाली काँग्रेसमा सरकारमा जाने–नजानेबारे एकमत देखिन्न। एक पक्ष पाँच वर्ष प्रतिपक्षमा बस्ने जनमत आएकाले सोही अनुसार निर्वाचनमा जाँदा प्रमुख प्रतिपक्ष दलकै हैसियतमा जानुपर्ने पक्षमा देखिएका छन् भने एक पक्ष सरकारको नेतृत्वको अवसर आए तयार हुनुपर्ने पक्षमा देखिएका छन्। सरकारमा नजाने तर कुनै समूहलाई बाहिरैबाट समर्थन गर्नुपर्ने धारणा बोकेको समूह पनि  देखिन्छ काँग्रेसमा।

१२ फागुन, २०७७, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।