जागिरको लोभ देखाएर महिलालाई श्रीलङ्का ओसार्ने व्यक्ति पक्राउ 

जागिरको लोभ देखाएर महिलालाई श्रीलङ्का ओसार्ने व्यक्ति पक्राउ 

काठमाडौँ : वैदेशिक रोजगारीको प्रलोभनमा महिलाहरू विदेश ओसार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न मोरङ जिल्ला कटहरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल चक्रपथ काठमाडौँ बस्ने रामकुमार चौधरीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले यही फागुन ९ गते पक्राउ गरेको हो । 

निज चौधरी चाबहिल स्तुपा एरियामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

निज अभियुक्त चौधरीले चद्रप्रकाश राई तथा सविन शाह लगायत व्यक्तिको मिलेमतोमा नेपाली महिलाहरूलाई भारत हुँदै श्रीलङ्का पुर्याएका थिए । 

विदेशमा आकर्षक तलब हुने प्रलोभन देखाएर अभियुक्त चन्द्र प्रकाश राईले १२ जना महिलाहरूलाई निज चौधरीसँग सम्पर्क गराएका थिए । 

निज चौधरीले महिलाहरूलाई धुलाबारी हुँदै भारतको सिलगढीस्थित सविन शाहको कोठामा पुर्याएर १७ दिन राखी श्रीलङ्का पुर्याएका थिए । श्रीलङ्कामा अलिआक्स भन्ने मानिसलाई भेट गराई निजको अपार्टमेन्टमा पुर्याइ २ महिनासम्म बन्धक बनाएर राखिएको थियो । बन्धक बनाएर राखेको अवस्थामा ती महिलाहरूले आफूहरूलाई नेपाल फर्काउन आग्रह गरेका थिए । नेपाल नफर्काए प्रहरीलाई खबर गर्छौँ भनेपछि श्रीलङ्कामा रहेको अलिआक्सले राहदानी दिएका थिए ।

त्यसपछि नेपाल फर्किएका महिलाहरूले ब्युरोमा दिएको उजुरीको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखनमा संलग्न चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेको ब्युरोले जनाएको छ । सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेको उल्लेख गरिएको छ । निज चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान गरी कारबाही हुने प्रहरीले जनाएको छ ।

११ फागुन, २०७७, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।