खेतीयोग्य जमिन माग्दै दैलेखका वादी समुदायद्वारा मुख्यमन्त्री कार्यालयअघि धर्ना 

खेतीयोग्य जमिन माग्दै दैलेखका वादी समुदायद्वारा मुख्यमन्त्री कार्यालयअघि धर्ना 

काठमाडौं : खेतीयोग्य जमिनको माग गर्दै दैलेखको तल्लो डुंगेश्वरका वादी समुदायले सुर्खेतस्थित कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। 

वादी समुदायका दुई सयभन्दा बढी जना मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बसेका हुन्।

उनीहरू दैलेखबाट दुई दिन हिँडेर सोमबार वीरेन्द्रनगर पुगेका थिए। 

खेतीयोग्य जमिन नहुँदा भारी बोकेर र माछा मारेर जीविका चलाउनुपरेको गुनासो छ उनीहरूको। त्यसकारण खेतीका लागि जग्गाको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीपछि जीवनयापनमा समस्या भएपछि प्रदेश सरकारको सरणमा आएको उनीहरू बताउँछन्। 

प्रदेश सरकार भने जग्गा दिने अधिकार आफ्नो नरहेको बताउँछ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जमिन उपलब्ध गराउने अधिकार प्रदेश सरकारसँग नरहेको तर संघ र स्थानीय तहलाई भएको बताउँछन्। 

‘हामी जमिन दिन सक्दैनौं। बरु स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी लिन्छौं।’ 

तर, वादी समुदायको मागबारे पहल गरिने उनले बताए। 

धर्नामा बसेका वादी समुदायका व्यक्तिले भने खेतीयोग्य जमिनको व्यवस्था नभएसम्म नफर्किने अडान लिएका छन्। 

दैलेखमा वादी समुदायका ४ सय २ परिवार र १ सय १२ घरधुरी छन्।
 

११ फागुन, २०७७, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।