दर्शकको नोटिसमा नपरेका होमनाथ नयाँ सिरियलको तयारीमा  

दर्शकको नोटिसमा नपरेका होमनाथ नयाँ सिरियलको तयारीमा  

काठमाडौँ : टेलिभिजनको हास्य सिरियलमा अभिनय गरेका मध्ये धेरैले नचिन्ने नाम हो होमनाथ तिमल्सिना। उनी २०६२ सालबाट नेपाल टेलिभिजनको विभिन्न हास्य सिरियलमा अभिनय गर्दै आएका छन्।

उनले हालसम्म १६ वटा भन्दा बढी सिरियल र दर्जन फिल्ममा अभिनय गरिसकेका छन्। 

जितु नेपालको मुन्द्रेको कमेडी क्लबमा व्यवस्थापकको काम गरिरहेका उनी शिव हरी पौडेलको इमेज टेलिभिजनबाट आइरहेको हास्य टेलिचलचित्र ‘खुराफाती’मा अभिनय गरिरहेका छन्। अभिनय मात्र होइन व्यवस्थापनको जिम्मा समेत उनैको हातमा छ। आधा दर्जन चलचित्रको व्यवस्थापन सम्हालेका उनी कलाकारितामा उतिकै सक्रिय छन्।  

अभिनय सँगसँगै व्यवस्थापनको जिम्मेवारी बोकेका होमनाथ भन्छन्, ‘पहिला कलाकार बन्ने रहर थियो, कलाकार बनेर मात्रै जीविका नचल्ने देखेपछि व्यवस्थापकमा हात हालेको हुँ, अहिले अभिनय र व्यवस्थापक दुवैको जिम्मेवारी समाल्दा आनन्द आउँछ।’

डाइलोक बोल्न नजान्दाको त्यो क्षण 

होमनाथले १५ वर्षदेखि कलाकारितालाई निरन्तरता दिइरहेका छन्। उनलाई कलाकार बन्न खुब रहर थियो, तर सोचजस्तो कहिल्यै हुन नसकेको उनी बताउँछन्। २०६२ सालमा उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा एउटा बिहेको सिनमा अभिनय गर्ने मौका पाएका थिए । 

त्यो समयमा दमन रुपाखेतीले नै यस टेलिचलचित्रको निर्देशन गर्थे। होमनाथले त्यो समयको कुरा सम्झिँदै भने ,‘मेरी बास्सैमा अभिनय गर्ने अवसर खोजिरहेको थिए, बल्ल तल्ल मैले माग्ने बुढा अर्थात् केदार घिमिरे मार्फत अवसर पाए।’ 

‘मेरी बास्सैको सुटिङ त्यो बेला बुढानीलकण्ठ आसपासमा हुन्थ्यो, धुर्मुस सुन्तलीको बिहे भएको सम्झिने सिनमा मैले डाइलोक बोल्नै सकिन्, उनले भने, बोल्न नसकेपछि दमन दाइले अभिनय सिकेर आए राम्रो हुन्छ भने।’

रेसम फिरिरिको त्यो एक सुझाव  

उनलाई कलाकार रेसम फिरिरिले जिरे खोर्सानी कला केन्द्र कोटेश्वरमा जान सुझाव दिए। उनी भोलि पल्टै कोटेश्वरमा रहेको जिरे खोर्सानी कला केन्द्रमा भर्ना हुन गए। यहाँ कलाकार जितु नेपाल, गोपाल नेपाल फिस्टे, नीरज नेपालले अभिनय सिकाउँथे। उनीहरूको टिममा बसेर अभिनय सिकेका होमनाथले यही टिममार्फत जिरे खोर्सानीमा अभिनय गर्ने मौका पाए। 

अहिले पनि यही टिममा आबद्ध रहेका होमनाथले ‘जिरे खोर्सानी, मेरी बास्सै, तितो सत्य ,गोलमाल, लगन जुर्ला जस्तो छ, ब्रेक फेल, कुल बहादुर काका  लगायत १६ वटा हास्य सिरियलमा काम गरिसकेका छन्। तर पनि उनी दर्शकको नजरमा पर्न भने सकेका छैनन्। 

उनी आफू दर्शकको नजरमा पर्न नसक्नुमा दुख मान्दैनन्। उनी भन्छन्,‘जति दर्शकले हेर्नुहुन्छ, जिरे खोर्सानीको नामले चिन्नुहुन्छ तर, लोकप्रिय बन्न सकिन जस्तो आफूलाई महसुस हुन्छ।’

उमेर ५० हाराहारी पुगेका होमनाथ अव आफै सिरियल बनाउने तयारीमा छन्। उनले भने,‘ आफै पनि एउटा सिरियल बनाउने सोचमा छु, सायद नयाँ वर्षबाट नयाँ सिरियलको तयारी गर्छु होला।’

उनले आफूले अहिले गरिरहेको कार्यक्रम पनि नछाड्ने बताए। समय मिलाएर सबैलाई लैजाने उनको भनाई रहेको छ। 

११ फागुन, २०७७, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।