७१ वर्षदेखि सँगसँगै

७१ वर्षदेखि सँगसँगै

भक्तपुर : मध्यपुर थिमी चपाचोका चन्द्रकुमार प्रजापतीले बा–आमालाई चिनेका छैनन् केवल नाम सुनेका मात्र छन्। बा–आमा कस्ता थिए ? आफन्तले जे भने त्यही हो उनको बुझ्ने मेलो। 

टुहुरा हुन् उनी। तर, कहिल्यै टुहुरो अनुभव गर्नु परेन। बा–आमाको अभाव महसुस हुनै दिइनन् उनकी फुपूले। हुकाइन्, बढाइन् अनि पढाइन् पनि फुपूले नै। 

पढ्नमा त्यति रुचि भने भएन उनको।

०००

उनी जहाँ बस्थे त्यसको नजिकै थियो रत्नमाया प्रजापतीको जेठी आमाको घर। उनको घरचाहिँ पल्लो टोलमा। 

रत्नमाया फुर्सदमा जेठी आमाको घरमा आइरहन्थिन्। उनीहरू दुवै पाहुना त्यो टोलका। मिल्ती भयो बाल्यकालमै। सँगै भाडाकुटी खेले। बाल्यकाल बित्दै गयो।

उमेर बढेसँगै चन्द्रकुमारको जिम्मेवारी पनि बढ्यो। उनी खेतीसँगै पुस्तैनी पेशा माटाको भाँडा बनाउनतिर लागे। त्यसैमा दिन बित्थ्यो उनको। बेलुकाको रमझम अहिलेको जस्तो रेस्टुरेन्टमा हैन, भजनघरमा हुन्थ्यो।

बेलुका प्रायः उनी घरनजिकै रहेको भजन घर पुगिरहन्थे। अनि जेठीआमाको घर आएको बेला रत्नमाया पनि जान्थिन् भजन सुन्न। दुवैको देखादेख त्यही हुन्थ्यो। 

दुवै हुर्किसकेका थिए। तर, भेटेरै कुराकानी भएन।

१६ वर्षको उमेरमै टोलकै एक किशोरीसँग चन्द्रकुमारको बिहे भयो। रत्नमायाले भने बिहे गरिसकेकी थिइनन्। 

कहिले पल्लो टोलको घर, कहिले नजिकै रहेको मावली र जेठीआमाको घर गरेरै दिन कटिरहेको थियो उनको।

चन्द्रकुमारले बिहे गर्दा उनलाई त्यस्तो नौलो केही लागेन रे। रत्नमायाको किशोर मनमा माया उम्रिसकेको रहेनछ।

‘बिहे भएको थाहा थियो। तर, लेनादेना थिएन। चासै भएन,’ ८५ वर्षकी रत्नमायाले पुलुक्क ८७ वर्षका चन्द्रकुमारतिर हेर्दै उकेरासँग भनिन्।

उता चन्द्रकुमार भने पारिवारिक जिम्मेवारीमा व्यस्त हुन थाले। उनी माटोका भाडा बनाउनै व्यस्त भए। १० महिना माटाको भाँडा बनायो अनि दुई महिना त्यही बोकेर काठमाडौंको खाल्डो बाहिर पुग्थे उनी।

त्यही दुई महिनाले बाँकी महिनाका लागि चाहिने सरजाम जुटाउँथे। बिहेपछि पनि फुपूसँगै थिए उनी। नुन–तेलकै खाँचो त थिएन रे उनलाई। तैपनि आफ्नो कमाइ भनेको आफ्नै हुन्छ नि।

जीवनको लय ट्रयाकमै थियो। नवविवाहित दुलही। घरजम। माटाको भाँडाको व्यापार सबै राम्रै चल्दै थियो।

एकाएक उनकी श्रीमती बिरामी परिन्। औषधीमुलो सबै गरे। तर, केही जोर चलेन उनको। बिहे भएको एक वर्षमै उनी विदुर भए।

०००

उमेर हुँदै श्रीमती गुमाउने पीडाले उनको मन बिथोलियो। सहारा त्यही भजनको त थियो। भजन सुन्दा बरालिने मन शान्त हुन्थ्यो रे। उनको भजन घर जाने क्रम बढ्यो।

भजनघरमा रत्नमायाको मामा पनि आइरहन्थे। चन्द्रकुमार र उनको मामाको भेट बाक्लिँदै गयो। पत्नी वियोगमा परेका चन्द्रकुमारलाई एकाएक रत्नमायाको मामाले प्रस्ताव गरे, ‘मेरो भान्जीसँग बिहे गर्छाैं त ? 

चन्द्रकुमारबाट सकारात्मक संकेत पाएपछि मामा रत्नमायालाई फकाउन लागे।

‘एक्लो छोरो। कसैलाई बाँड्नु पर्दैन। इमान्दार छ। मेहनती छ। बिहे गर भन्नुहुन्थ्यो,’ रत्नमायाले मामाले भनेको सम्झिइन्।

रत्नमायाले पनि बाल्यकालमै बाबु गुमाएका। 

सानैमा बाबु गुमाएकी उनलाई हजुरबुबाले ‘सानो उमेरमा बिहे गर्न हुँदैन’ भनेर सम्झाइरहेका थिए।

‘१६ वर्षकी थिएँ। उतिबेला बिहे गर्नु भनेको काम कति गर्न सक्छ। बलियो कति छ भन्नेले फरक पाथ्र्यो,’ रत्नमायाले भनिन्, ‘हजुरबुबाले म कमजोर छु भनेर बिहे गर्न मान्नुभएको थिएन।’

‘केटो पक्का छ। घर गरी खान्छ,’ मामाको यही बोलीको भरमा रत्नमायाले चन्द्रमा मन लगाइन् रे।

एक दिन चन्द्रकुमारले जाउँ भन्दै उनलाई ताने। उनले नाइनास्ती गरिनन् र चन्द्रकुमारको घर आइन्। सँगै थिए उनको मामा।

‘मामाले केटो ठिक छ भनेपछि जे पर्ला–पर्ला भन्ने लाग्यो,’ रत्नमायाले भनिन्, ‘बिहे गरौं भनेर तान्नु भो। सगुन पनि गर्न पाइएन।’ 

०००

उनीहरूको बिहे भएको ७१ वर्ष पुगिसक्यो। दुवै खुसी छन्। उस्तै प्रेमिल छ दुवैको सम्बन्ध। 

‘हामी जोईपोई राम्रै छौं। सबै मनको कुरा रहेछ। पछि ऊ (रत्नमाया) मामासँग आई। हामी त्यसपछि बूढाबूढी भयौं,’ रत्नमायातिर हेर्दै चन्द्रकुमार हांँस्दै भने। रत्नमाया पनि हाँसिन्।

त्यस्तो बिहे नै भनेर कुनै औपचारिक केही भएन। घर भित्र्याएपछि पूरा गर्नुपर्ने संस्कार भने निभाए चन्द्रकुमारले। 

परम्परा अनुसार दुलहीको परिवारलाई सगुन दिनुपर्थ्याे, दिए। कूलमा भित्र्याउन देवालीमा दाजुभाइलाई भोज दिनुपर्थ्याे, त्यो पनि दिए।

‘खेती किसानी गर्यो, माटोको भाँडो बनायो,’ चन्द्रकुमारले भने, ‘जीवन त हासखेलमै गयो।’ 

०००

चिया खाँदै गर्दा उनीहरूका जेठा छोरा चन्द्रमान कोठामा आइपुगे। 

उनले बा–आमाको प्रेमलाई व्याख्या गर्दै भने, ‘सानातिना कुरामा आमा कराउनु हुन्छ। बा सुनिरहनु हुन्छ। बा रिसाउन थालेपछि आमा चुप बस्नु हुन्छ।’

हासोको माहोल बन्यो।

दुवैबीच ठाकठुक पर्दा फकाउने रत्नमाया नै रहिछिन्। ‘मेरो चिनामै उहाँलाई फकाउनुपर्ने रैछ। अब रिसाएपछि फकाउनु त पर्याे नि,’ उनले भनिन्।

‘घुमफिर गर्दै हिँड्ने मान्छे। अर्को बिहे पनि गरौं जस्तो कहिल्यै लागेन ?’ 

हासोको माहोलबीच रत्नमायाले जवाफ दिइन्, ‘हाम्रो कूलमा धेरै जनासँग बिहे गर्दैनन्।’

चन्द्रकुमार बाहिर हिँड्दा मनलाई बाँधेर हिँड्थे रे उनी। 

‘घर बनाउनुथ्यो, परिवार पाल्नुथ्यो,’ चन्द्रकुमार भन्छन्, ‘मन एकातिर भएपछि अन्त मन जादैनन् रहेछ।’ 

०००

चन्द्रकुमारलाई रत्नमाया अहिले पनि उतिकै राम्री लाग्छिन् रे। व्यवहारिकताले पनि सम्बन्धलाई टिकाउँछ जस्तो लाग्छ उनलाई। 

बा–आमाको पुस्ताको सम्बन्ध यति लामो समय टिक्नुको पछाडि उति बेलाको समाजको ठूलो भूमिका रहेको लाग्ने रहेछ उनीहरूका ६४ वर्षीय जेठा छोरा चन्द्रमानलाई। 

‘घर र माइती दुवैतिरकाले सम्झाइबुझाई गर्थे। जसरी हुन्छ सम्बन्ध बलियो बनाउन दबाब हुन्थ्यो,’ उनले भने, ‘अहिले त कसले कसलाई सुन्ने र?’

चन्द्रमानको पनि बिहे भएको ४५ वर्ष भइसक्यो।

सम्बन्ध लामो समय टिक्नुको कारण एकअर्काप्रति मन बस्नु पनि हो जस्तो लाग्दो रहेछ चन्द्रकुमारलाई। 

‘सबै कुरा मन नै हो। मन भएपछि सबै राम्रो हुन्छ,’ चन्द्रकुमारलाई यस्तै लाग्छ।

रत्नमायाको निष्कर्षमा पनि बिहे लामो समय टिक्नुको रहस्य एक–अर्काप्रतिको सम्मानै हो।

‘एक–अर्कालाई बुझ्न पर्छ। हाम्रो त कहिले ठूलो स्वर हुँदा पनि झगडा हुन्छ। त्यसैमा त माया छ,’ रत्नमायाले भनिन्।

०००

कुराकानी गर्दागर्दै उनीहरूकी बुहारी पनि आइपुगिन्। छोरा–बुहारी, नातिनीको बीचमा चन्द्रकुमार दम्पतीले आफ्नो दाम्पत्य यात्राको निष्कर्ष सुनाउन थाले।

‘हामीले सानै उमेरबाट एक–अर्कासँग जीवन सुरु गर्यौ। दुःखले जीवन धान्नु पथ्र्यो। सुख–दुःख गर्यौं,’ चन्द्रकुमारले भने। 
रत्नमायाले थपिन्, ‘माया भनेको व्यवहार मिल्दै गएपछि हुने रहेछ।’

७१ वर्षदेखि एक–अर्काको सारथि बनिरहेका चन्द्रकुमार र रत्नमाया अहिलेका पुस्तालाई लामो समय सँगै रहने उपाय सुल्झाउँछन्, ‘सबै मनको खेल हो। मन स्थिरमा हुनु पर्छ।’

‘पहिलेको जस्तो जमाना रहेन अब,’ रत्नमाया भन्छिन्, ‘पहिला केटीले फकाउनु पर्थ्याे। केटाले जे भन्यो त्यही मान्नु पर्थ्याे। अहिले केटाले फकाउनु पर्छ। केटीले जे भन्यो त्यही मान्नु पर्छ।’ 

०००
सात दशक लामो उनीहरूको सम्बन्धमा सम्झिन लायक गुनासो प्रजापति दम्पतिको स्मरणमा रहेनछ। तर, आफू बाँचेको समय तस्बिरमा कैद नहुँदा कताकता रत्नमायाको मन खिन्न भने हुने रहेछ। 

रत्नमायालाई जवानीमा बूढाबूढीसँगै बसेर फोटो खिँच्ने धोको थियो रे। 

‘उति बेलाको फोटो खिँचिएन। अहिले हेर्न हुन्थ्यो। रमाइलो हुन्थ्यो। फोटो हेरे कुरा सम्झनामा आउँथ्यो,’ रत्नमायाले भनिन्।

जीवनमा अरु केही गुनासो छैन रत्नमायालाई । बस एक गुनासो छ, ‘सँगै फोटो खिँच्न पाइएन।’ 

उति बेला चन्द्रकुमारलाई फोटो खिँच्न निकै आग्रह पनि गरेकी रहिछिन् उनले।

त्यति बेला फोटो खिँच्न भनेको लाजको काम थियो भन्छन् चन्द्रकुमार। फोटो खिँच्न बूढाबूढी सँगै हिँड्दा लाज लाग्थ्यो रे उनलाई।

‘यसलाई फोटोसँग अचाक्ली प्रेम छ। भुइँचालोको बेला एकजनाले उसको फोटो खिँचेछ,’ रत्नमायाको फोटो प्रेम सुनाउँछन् चन्द्रकुमार, ‘उसले(रत्नमाया)ले ती व्यक्तिलाई २० रूपैयाँ दिएर फोटो मागी छ। त्यो मान्छेले पैसा लियो। तर, फोटो दिएन।’

तर, रत्नमायालाई अझै ती फोटो खिच्ने मान्छे आउँछन् र फोटो दिन्छन् जस्तो लाग्छ रे।

‘आफू मरेसी छोराछोरीले हेर्छन् भनेर फोटो मागेको। हुन्छ भन्यो। पैसा पनि दिए। फोटो ल्याइदिन्छु आमा भन्थ्यो। फर्किएर आएन,’ रत्नमायाले हाँस्दै भनिन्। 

चन्द्रकुमार रत्नमायालाई हेर्दै हाँसे। हामी (संवाददाता र फोटो पत्रकार कृष्पा श्रेष्ठ) पनि उनीहरूसँगै हास्यौं।

हाँसो नसकिँदै रत्नमायाले प्रश्न गरिन्, ‘तपाईंहरूले त फोटो दिनु हुन्छ नि?’

१० फागुन, २०७७, १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।