देश सोचेजस्तो भइदिए किन ताक्नुपर्थ्यो इजरायल !

देश सोचेजस्तो भइदिए किन ताक्नुपर्थ्यो इजरायल !

काठमाडौँ : हरेक दिन जस्तै आइतबार पनि खचाखच थियो वैदेशिक रोजगार विभाग। वैदेशिक रोजगारीका अनेकन् गुनासा बिसाउन आएकाहरू गेट बाहिरदेखि भित्रैसम्म थिए।

सोही क्रममा ५ जना युवाहरूको लर्को तेस्रो तल्लातिर उक्लियो। उनीहरू सरासर विभागका निर्देशक टिकामणि नेउपाने भएतिर लम्किए। निर्देशक नेउपानेको कार्यकक्ष खचाखच थियो। ३ जना मात्रै त्यहाँ अटाउने ठाउँ थियो।

‘तपाइहरू एकैचोटी आउनु भयो ? एउटै समूह हुनुहुन्छ ?’ निर्देशक नेउपानेले प्रश्न गरे। 

‘हजुर हामी एउटै कामको लागि आएको,’ एकजनाले जवाफ फर्काए। 

‘त्यसो भए अट्ने जति बस्नुस्। कोरोना जोखिम कायमै छ। बाँकी बाहिर बस्दै गर्नुस्,’ नेउपानेले भने। 

निर्देशक नेउपानेको कार्यकक्षमा ३ जना मात्रै बसे। 

‘ल भन्नुस् के का लागि आउनु भएको ?,’ निर्देशक नेउपानेले प्रश्न गरे। 

‘हजुर हामी इजरायलबारे बुझ्न आएको, एउटा तालिम सेन्टरमा केयरगिभरको तालिम लिँदैछौँ। त्यो तालिम सेन्टरबाट ३ महिना सिक्यो भने इजरायल जान पाउँछौँ कि पाउँदैनौँ ?’ ३ मध्येका १ जनाले प्रश्न गरे। 

‘केयरगिभर तालिम दिनका लागि सिटिइभिटीबाट मान्यताप्राप्त संस्थाबाट ३ महिनाको केयरगिभर तालिम लिँदा इजरायल जान मान्य हुन्छ। बाँकी अन्य प्रक्रिया पुरा भई तपाईँ छनोट हुनुभयो भने जान पाउनुहुन्छ,’ निर्देशक नेउपानेले जानकारी गराए। निर्देशक नेउपानले इजरायल जान आवश्यक उमेर हद, शैक्षिक योग्यता भाषा र प्रक्रिया लगायत सबै विषयमा बुझाइदिए।

रोजगारीबारे बुझेपछि उनीहरू निर्देशक नेउपानेको कार्यकक्षबाट बाहिरिए। मैले उनीहरूलाई पछ्याएँ।

केशवराज पौडेल (वर्ष ३५), नवराज ढकाल (वर्ष ३२), सञ्जय ढकाल (वर्ष २७) र अन्य दुई। उनीहरू ५ जना नै कालीगण्डकी गाउँपालिका गुल्मीका स्थानीय बासिन्दा रहेछन्। सबैको एउटै सपना रहेछ, इजरायल खुल्यो र छनोट भइहाले केयरगिभर काममा जाने। त्यही सपना बोकेर काठमाडौँ छिरेका उनीहरू एउटै तालिम केन्द्र गइरहँदा रहेछन्। 

हतारमा थिए उनीहरू। विभागको तेस्रो तल्लाबाट झर्न खोज्दै थिएँ। 

‘थोरै समय दिनुस् न,’ मैले भने। 

‘हजुर भन्नुस्, के होला ?’ उनीहरू रोकिए। 

‘एउटै गाउँको ५ जना इजरायल जाने सोच बनाउनु भएको रहेछ...’

मेरो प्रश्न नटुङ्गिँदै जवाफ आयो ‘यहाँ काम छैन। बल्लतल्ल काम पाइहाले कमाई छैन। केही व्यापार-व्यवसाय गरौँ भन्दा सुरक्षा छैन। देश सोचेजस्तो भइदिए किन ताक्नुपर्थ्यो इजरायल?’ यो जवाफ थियो कालीगण्डकी गाउँपालिका गुल्मीका ३५ वर्षीय केशवराज पौडेलको। 

रहर त उनलाई कहाँ थियो र परदेश जाने? तर कामको भोकले भौँतारिएका उनलाई बाध्यताले परदेश धकेलिरहेको थियो। सन् २००७ मा उनी पहिलो पटक कतार पुगेका थिए। कतारमा केही वर्ष बसे। कतारबाट फर्किएर पुनः दक्षिण कोरिया गए। त्यहाँ ५ वर्ष बिताए।

कोरियाभन्दा आफ्नै खोरिया ठिक ठानेर आफ्नै देशमा केही गर्ने सोच बनाए। उनले गाउँमै कृषि फर्म खाेले। तर उत्पादनले बजार नपाउँदा फर्म घाटामा जान थाल्यो। केही सीप चलेन। फर्म डुब्यो। विदेशबाट कमाएर ल्याएको थोरै पैसा पनि डुब्यो। 

‘देशमै केही गरौँ भन्ने नसोचेको कहाँ हो र सोचेको मात्रै होइन। काम पनि गरियो। तर सबै डुब्यो,’ ‘उनले प्रश्न गरे 'तपाईँ आफैँ भन्नुस् त अनि यो देशमा केको आसले बस्नु? बाँच्नु परेन?’

इजरायलको सपना देखेर उनीसँगै काठमाडौँ छिरेका ३२ वर्षीय नवराज ढकालको गुनासो पनि मिल्दोजुल्दो नै छ। उनी पनि यस अघि जापान गएका थिए। जापानमा ५ वर्ष काम गरे। त्यसपछि देशमै केही गर्ने सोचले फर्किए। २ वर्ष बित्यो तर सोचेजस्तो केही काम भएन। भौँतारिएर बसिरहेका उनले इजरायलमा रोजगारी खुल्दैछ भन्ने सुने। इजरायलमा केयरगिभर काममा कमाई पनि ठिकै हुने सुनेपछि उनले इजरायल जाने सोच बनाए। 

‘देशमा रोजगारी छैन, अहिले विदेशमा पनि राम्रो अवसर आएको भनेको इजरायलमा हो, केयरगिभरमा अलिअलि ज्ञान पनि छ त्यही भएर हुन्छ कि भनेर यता सोचियो,’ उनले भने। 

२७ वर्षीय सञ्जय ढकालले पनि गाउँमै हार्डवेयरको पसल चलाउँथे। पहिले त ठिकै चल्दै थियो। तर जब कोरोना महामारी सुरु भयो। लामो समय पसल बन्द भयो। केही समयपछि पसल त खुल्यो तर व्यापार भएन। पसल घाटामा जान थाल्यो।

‘कोरोनापछि त पसल डुब्यो। केही सीप नचलेपछि यता हुन्छ की भन्ने आसले निस्किएको,’ उनले सुनाए। उनीहरू सबैको कथा उस्तै उस्तै थियो। देशमै काम गर्ने चाहाना नभएको होइन तर केही सीप नचलेपछि उनीहरू इजरायलको सपना देख्न बाध्य भए। हतारमा भएकाले यति मात्रै कुरा भयो। उनीहरू निस्किए। 

इजरायल रोजगारी प्रति युवाको चासो 

पछिल्लो समय इजरायल रोजगारीप्रति युवा वर्गको चासो बढ्न थालेको छ। नेपाल र इजरायलबिच श्रम सम्झौता भएसँगै इजरायलको रोजगारीमा युवाहरूको चासो बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार दैनिक १० जनाभन्दा बढी युवायुवती इजरायलको रोजगारीका बारेमा बुझ्न विभाग पुग्ने गरेका छन्। कतिपय युवायुवती इजरायलको रोजगारीका बारेमा बुझ्न वैदेशिक रोजगार बोर्डसम्म पनि पुग्ने गरेका छन्।

इजरायलले नेपालबाट पहिलो पटक केयरगिभर कामका लागि ५०० नेपाली लैजाने गरी इम्प्लिमेन्टेशन प्रोटोकलमा हस्ताक्षर गरे पनि हजारौँको सङ्ख्यामा युवाहरू रोजगारीका लागि इजरायल जाने लाइनमा छन्। 

विभागका निर्देशक टिकामणि नेउपाने पनि इजरायल रोजगारीप्रति युवाहरू आकर्षित रहेको बताउँछन्। निर्देशक नेउपानेले रोजगारीका लागि इजरायल पठाउने कार्यविधि अन्तिम चरणमा पुगेको बताए । 

‘केही दिनमै कार्यविधि तयार हुन्छ । त्यसपछि कामदार छनोट प्रक्रिया सुरु हुन्छ,’ उनले भने । 

के–के हुनुपर्छ इजरायल जान? 

इजरायल जानका लागि २५ वर्षदेखि ४५ वर्ष ननाघेको हुनुपर्नेछ। उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्नेछ। त्यस्तै मान्यताप्राप्त प्रशिक्षण केन्द्रबाट कम्तीमा ३ महिनाको केयरगिभर तालिम लिएको हुनुपर्नेछ। अथवा नर्सिङ तालिम वा अन्य सामुदायिक औषधोपचार सहायक तालिम वा सुँडेनी सम्बन्धी तालिम लिएको हुनुपर्नेछ। अङ्ग्रेजी भाषामा समेत दखल हुनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

यो भन्दा पहिला इजरायलमा कुनै काम नगरेको हुनुपर्नेछ। शारीरिक तथा मानसिक रूपमा स्वस्थ। कुनै पनि दीर्घ रोग नलागेको तथा लागूपदार्थ सेवन नगर्ने हुनुपर्नेछ। छोराछोरी, पतिपत्नी इजरायलमा काम गरिरहेकाहरू पनि जान पाउँदैनन्। इजरायलमा गैह्रकानुनी रूपमा बसोबास गरी फर्किएकाहरू पनि रोजगारीमा सहभागी हुन पाउने छैनन्।

१० फागुन, २०७७, ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।