नयाँ पुस्ताले जोगाएको पाटी !

नयाँ पुस्ताले जोगाएको पाटी !
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : कुनै समय थियो– काठमाडौँमा सामान किनबेचका लागि आएका बटुवा पाटीमा बास बस्थे। कारण– बास बस्न लज र गेस्ट हाउस थिएनन्।

२० को दशकसम्म बटुवाका लागि यी पाटी नै ‘लज’ र ‘गेस्ट हाउस’सरह थिए। तर, समय बित्दै जाँदा पाटीमा बस्ने चलन क्रमशः हराउँदै गयो। भएका पाटी मासिन थाले। कति व्यक्तिले नामनिसान मेटाए। कति सरकारले मास्यो। अहिले भने फाट्टफुट्ट रूपमा मात्रै पाटी देखिन्छन्। तीमध्ये एक हो– क्षेत्रपाटी।

क्षेत्रपाटी चोकमा छ यो पाटी। गोलाकार आकार अनि जस्ताले छाएको। केबल नाम मात्रैको पाटी !

राजधानीका विभिन्न पाटी मासिँदै गर्दा यो पाटी कसरी जोगियो त ?

स्थानीय एवं पूर्व वडाध्यक्ष विजयबहादुर माली आफू वडाध्यक्ष हुँदा पाटी संरक्षणको काम गरेको दाबी गर्छन्।

‘२०५३ सालमा वडाध्यक्ष हुँदा पाटीको संरक्षण काम गरेको थिएँ। त्यसैले अहिलेसम्म जोगिएको छ,’ उनी भन्छन्, ‘अहिले त पछिल्लो पुस्ता पनि यसको संरक्षणमा लागिपरेका छन्।’

२०१५ सालमा पीपलको बोट काटेर पाटी बनाएको उनी सम्झन्छन्।

पाटी बनाएपछि गोरखा, रसुवा, धादिङलगायत जिल्लाबाट काठमाडौँमा सामान किनबेच गर्न आउनेहरू पाटीमा बस्ने गरेको उनले बताए। ‘ती मानिसहरू रातभर पाटीमा बस्थे र बिहान भाले नबास्दै आफ्नो बाटो लाग्थे,’ उनले सम्झिए।

ती मानिसहरू नुन, जडीबुटीलगायत बिक्री गर्ने र मट्टितेललगायत सामग्री किनेर लैजाने गरेको उनी सुनाउँछन्।

बस्ती बढ्दै गयो, पाटी मासिँदै गए’

क्षेत्रपाटी आसपासका अन्य पाटी मासिएको माली सुनाउँछन्। बस्ती बढ्दै गएपछि ती पाटी मासिएको उनको भनाइ छ।

‘मैले देखेका कतिपय पाटीहरू अहिले मासिएका छन्। पाटी बनेका ठाउँमा अहिले घरैघर छन्,’ उनी भन्छन्, ‘पाटी संरक्षणमा सरकारले पनि चासो देखाएको छैन।’

वडाध्यक्ष नवीन मानन्धर स्थानीयले पाटी मासेर घर बनाएको बताउँछन्। ‘कतिले पाटी भएको जग्गा आफ्नो पुर्ख्याैली सम्पत्ति भन्दै पाटी मासेर घर बनाए। तर, अहिले त्यस्तो अवस्था छैन,’ वडाध्यक्ष मानन्धरले भने, ‘अहिले पाटी बनेका ठाउँमा हामी घर बनाउन दिँदैनौँ।’ 

पाटी संरक्षण गरिरहेको वडाध्यक्षको दाबी

वडाध्यक्ष मानन्धर वडा कार्यालयले पाटीको संरक्षण गरिरहेको दाबी गर्छन्। ‘पाटीको संरक्षणका लागि हरेक महिना सरसफाइ अभियानसमेत चलाएका छौँ,’ उनले भने, ‘यसको संरक्षण हाम्रो दायित्व पनि हो।’

उनले वडाभित्र अन्य पाटी भेटिए त्यसको पनि संरक्षण गर्ने बताए। ‘सम्पदा संरक्षण गर्ने हाम्रो अभियान नै छ,’ उनले भने।

१० फागुन, २०७७, ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।