फेसन डिजाइनर मञ्जुको प्रसव पीडा र खुसी : ठूलो पेट देखेर तिम्ल्याहा छन् भन्दा निकै डराए

फेसन डिजाइनर मञ्जुको प्रसव पीडा र खुसी : ठूलो पेट देखेर तिम्ल्याहा छन् भन्दा निकै डराए

एक दर्जन चल्तीका नेपाली फेसन डिजाइनरको नाम लिँदा मञ्जु ढकालको नाम छुट्दैन। १५ वर्षअगाडि कुपण्डोलमा बुटिक खोलेर उनी आफूलाई स्थापित गर्न संघर्षमा होमिएकी थिइन्। बच्चाहरू भएपछि नै उनी आफ्नो करिअरमा केन्द्रित भएकी थिइन्।

संयुक्त परिवारबाट एकल परिवारमा बिहे भएको थियो उनको। सानैमा बिहे भएर ३ वर्षको दौरानमा ३ बच्चाको जन्म अनि उनीहरूलाई हुर्काउनुको संघर्षका तीता–मिठा अनुभव छन् उनीसँग। एक दिन उनलाई लाग्यो– ‘भोलि मेरा बच्चाहरूले आमाबाहेक मेरो अर्को परिचय खोज्यो भने के दिने ?’ 

यही प्रश्नले उनलाई डिजाइनिङ क्षेत्रमा ल्यायो। 
अहिले उनको छोरा २१ वर्षको भइसके। १८ वर्षका दुई जुम्ल्याहा छोरी छन्। उनीहरू अहिले उनको सहयोगी बनेका छन्। उनै मञ्जुको प्रसव पीडा र खुसी :
०००
ठूलो परिवार अनि धेरै दिदीबहिनी भएको घरमा जन्मेकाले होला, म अलि लजालु स्वभावकी थिएँ। हुन त ठमेलमै मेरो जन्म भयो। तर, घरमा कडा नियम थियो। घरभित्रै राखिन्थ्यो छोरीहरूलाई। बाहिर पसल जानेसमेत अनुमति थिएन।

घरमा कोही आउँदा उनको अगाडि जानुपर्यो भने टाउकोमा सल ओढेर जानुपर्ने। मैले पाइन्ट त आइएस्सी पढेपछि लगाउन थालेको। 

मेरो रहर थियो– चिकित्सक बन्ने। त्यसैले बायोलोजी छाने पढाइमा। तर, सोचेजस्तो पढ्न सकिएन, पढाइ बिग्रियो। त्यो बेलामा बिहे टार्ने साधन भनेको पढाइ नै त थियो। बिहेको कुरा आयो कि अँ अहिले पढ्दैछु भनेर पन्छिन पाइन्थ्यो। पढाइ बिग्रिएपछि मेरो बहाना सकियो।

२० वर्षकै उमेरमा बिहे भइहाल्यो। जीवनलाई राम्रोसँग बुझेकै थिइनँ। एक वर्षमै आमा बनें। बच्चा कहिले पाउने कुनै योजना नै बनेन। दम्पतिबीच छलफल गर्नुपर्छ भन्ने नै थिएन। तीन महिना महिनावारी रोकिएपछि जचाउन जाँदा गर्भवती भएको थाहा पाएँ। 

पेटमा बच्चा छ भन्ने सुन्दा साह्रै डर लागेको थियो। अहो बच्चालाई कसरी हुर्काउने होला ? पेटमा बच्चाले के–के गर्छ होला ? भोलि कसरी स्याहार्ने होला भन्ने चिन्ता हुने रहेछ।

म संयुक्त परिवारमा हुर्किएको। बिहेपछि भने हामी दुई जना मात्रै बस्न थालेका थियौं। त्यसले पनि आपत् परिहाल्यो भने के गर्ने होला भन्ने लाग्दो रहेछ। मनभरी डरैडर भए पनि मेरो गर्भमा अर्को ज्यान छ भन्ने सम्झँदा नै रमाइलो लाग्ने रहेछ। म कसैलाई आफैंभित्र हुर्काइरहेको छु भन्ने सम्झँदा नै रमाइलो लाग्ने। कस्तो छ होला ? के गरिरहेको छ होला भन्ने उत्सुकता जाग्ने।

हिँड्दा उसलाई अप्ठ्यारो होला भनेर सुस्तरी हिँड्थे। सुत्दा पनि कोल्टो फेरेर मात्रै सुत्ने। पिरो नखाने। केही खान मन लाग्यो भने उसलाई मनपर्छ कि पर्दैन होला भन्ने लाग्ने क्या। 

मेरो परिवार धर्ममा अलि बढी नै आस्था राख्ने। गर्भवती भएपछि आमाले यो बेला जस्तो सोच्यो त्यसको असर बच्चामा पर्छ भन्दै राम्रो मात्र सोच्नु भन्नुभयो। भजन सुन्नु राम्रो हुन्छ भन्नुभयो। दिनभरी भजन सुनेर बसें नि त्यसपछि त।
पहिलो पटक गर्भवती हुँदा दुःख टन्नै पाइयो। सात महिनासम्म त केही खायो कि उल्टी भइहाल्ने। दिनमा ९÷१० चोटी उल्टी हुन्थ्यो। खाना रुच्दै नरुच्ने। ८ महिना भएपछि भने खाना रुच्न थाल्यो। 

त्यति बेला मेरो पेट निकै ठूलो थियो। सामान्य गर्भवतीको भन्दा ठूलो। सबैले पेटमा जुम्ल्याहा बच्चा छ कि भन्थे। तर, जुम्ल्याहा रहेनछ। बच्चाचाहिँ ठूलो रहेछ। त्यसैले प्राकृतिकरूपमा जन्माउन सकिनँ पहिलो बच्चा। अप्रेसनै गर्नुपर्यो ।

बच्चा लिएर घर गएपछि अर्को तनाव। बच्चा समात्न नै डर लाग्ने। केही भइहाल्छ कि भन्ने लाग्दो रहेछ त्यो बेलामा। 
हामी (श्रीमान र श्रीमती) मात्रै भएकाले बच्चा हुर्काउन ममीले सघाउनुभयो। आमा बनेपछि विस्तारै परिवर्तन आउने रहेछ। सोच नै बदलिने रहेछ। ममा पनि परिवर्तन आयो। अब मेरो सपना नै यही बच्चा हो भन्ने लाग्ने रहेछ। पूरै

ध्यान बच्चामा जाने। आफूलाई के मन पर्छ हैन, उसलाई के मन पर्छ भन्ने सोच आउने। बच्चा हाँस्दा संसारै जितेजस्तै खुसी लाग्ने।
०००

मलाई बच्चाबच्ची खुब मन पर्ने पहिल्यैदेखि। पहिलो सन्तान छोरा भएर मात्र चित्त बुझेन। हैन अर्को सन्तान पनि चाहिन्छ भन्ने लाग्यो। तर, कहिले पाउने भन्ने योजनाचाहिँ बनेन।

छोरा तीन वर्षको भएको थियो। एकाएक महिनावारी रोकियो। तीन महिनासम्म पनि महिनावारी नभएपछि चिकित्सककोमा गएँ। चिकित्सकले त महिना गन्न गडबड भयो होला भने। तर, गडबड छैन भन्नेमा मचाहिँ पक्का थिए। 
५ महिना पनि महिनावारी नभएपछि फेरि जचाउन गएँ। चिकित्सक आफै बाथरुममा लडेकाले देखाउन पाइनँ। पहिल्यै दिएको औषधी खाने त होला भनेर त्यही खाइरहे। 

खासै समस्या केही भएन। तर पेटचाहिँ  पहिलो गर्भ बस्दाको भन्दा पनि ठूलो थियो। मेरो तौल बढेर एक सय ६ किलो पुग्यो। 

त्यतिबेला मेरो पेट देख्नेहरूचाहिँ तिम्ल्याहा छ भन्थे। पहिला जुम्ल्याहा छ भन्दा छोरा मात्र जन्मिएको थियो। यो पालि पनि बच्चाचाहिँ ठूलो होला। तर, तीन वटा त के होला र भन्ने लाग्थ्यो। 

ममीले ‘तिम्रो पेट निकै ठूलो छ एकपटक देखाउन जाऊ’ भन्नुभयो। घर नजिकैको क्लिनिकमा अल्ट्रासाउण्ड गर्न गएँ। चिकित्सकले अचम्म मान्दै ‘ल, ल’ भने। म त तर्से । के भो डक्टरसा’ब भनेको उहाँले ‘जुम्ल्याहा छ त पेटमा’ भन्नुभयो।

साढे ६ महिना भइसकेको थियो गर्भ बसेको। जुम्ल्याहा भन्नासाथ टाउको जोडिएको गंगा– जमुनालाई पो सम्झें। चिकित्सकलाई सोधीहालें, ‘टाउको जोडिएको त छैन ?’ उहाँले ‘छैन, नर्मल नै छ’ भनेपछि ढुक्क भएँ।

डेलिभरीको समय नजिकै आउन थालेपछि भने पहिलाभन्दा गाह्रो हुन थाल्यो। जिउ ठूलो भएर सुत्नै नसक्ने। सुते उठ्नै नसक्ने। सास फेर्ने नि गाह्रो। साह्रै भएपछि चिकित्सकसँग सल्लाह गरेर अप्रेसन गराएँ। 

अहो फूल जस्ता दुईवटा छोरी। छातीको दायाँ–बायाँ उनीहरूलाई टाँस्दाको आनन्द के भन्नु र ! 

छोरा सानै थियो। अस्पताल बस्दा उसको धेरै याद आयो। कतिखेर घर जाउँ भइरह्यो। तीन दिनमै डिस्चार्ज भएर घर आएँ। प्रसूति गृहमा हो अप्रेसन गरिएको। अस्पतालको लिफ्टै बिग्रिएको रहेछ। भर्याङ झरेरै आए म त।
०००
अहिले त २४ वर्षमा बिहे पनि गर्दैनन्। म त २४ वर्षमा आमा बनिसकेकी थिएँ। त्यो पनि तीन जनाको। सम्झँदा नै कस्तो कस्तो लाग्ने क्या ! 

पहिलो बच्चा हुर्काएको अनुभव भए पनि एकै पटक दुई जना सन्तान हुर्काउँदा पाउनुसम्म दुःख पाएँ। बच्चापिच्छे फरक स्वभाव हुने रहेछ। छोराले त्यति दुःख दिएको थिएन। छोरीहरूचाहिँ रातभर नसुत्ने। बेलुका ११ बजे बिउँझिएपछि बिहान ५ बजे मात्र सुत्ने। अब उनीहरू नसुतेपछि म पनि रातभर जाग्राम !

त्यो बेला रातभर ब्युझेकोले होला अहिले पनि राति ब्युझिराख्छु। अनि एक पटक ब्युझिएपछि निद्रै लाग्दैन अहिले पनि।

छोरो पनि हुर्कदै थियो। १८ दिनको सुत्केरी थिएँ। स्कुल गएको छोरा फर्किंदा हनहनी ज्वरो आएको रहेछ। जाँच्दा त १ सय ३ डिग्री। छोरीहरूलाई घरमै छोडेर अस्पताल दौडिहाले। ज्वरो कमै भएन। अस्पतालै भर्ना गर्नुपर्यो। जिउभरी तेल दलेको सुत्केरी शरीर, शारीरिक र मानसिक रूपमा नै थाकेकी थिएँ। मलाई देखेर डाक्टरहरूले ‘सुत्केरी मान्छे किन आएको’ भने। मसँग उत्तर थिएन।

ज्वरो घट्दै गएपछि डाक्टरहरूले घर जानुस् भनेर बिहान ३ बजे एम्बुलेन्स बोलाइदिनुभयो। म सुत्केरी देखेर माया गर्नुभएको थियो। फेरि ज्वरो बढे फोन गर्नु, आउनु पर्दैन भन्नुभएको थियो। ती डाक्टर अहिले पनि सम्झन्छु।

छोरो स्कुल गएको देखेर छोरीहरू पनि स्कुल जान खोज्थे। रोक्नै सकिएन। २२ महिनामै डे केयरमा राखिदिएँ।
०००

तीन जना बच्चा स्कुल जान थालेपछि फुर्सद भयो। पाँच वर्ष भइसकेको थियो बच्चाहरूलाई समय दिएको। काम नभएपछि दिमाग अलि बढी चल्ने रहेछ। म को हुँ, मेरो परिचय के हो ? भन्ने लाग्न थाल्यो।

नाम थियो नि मेरो मञ्जु ढकाल। बिहे अगाडिको परिचय फलानाको छोरी, बिहेपछिको परिचय फलानाको श्रीमती, फलानाको आमा। म मञ्जु भनेर चिनाउनै नपाइने। कसरी चिनिने भन्ने दिमागमा घुमेको घुम्यै गर्यो।

मैले दुईवटा बाटो देखें। त्रिचन्द्र कलेजवाटै सोसोलोजीमा ब्याचलरमा भर्ना हुने। वा कुनै सीपमूलक काममा लाग्ने। सिलाइकटाइमा रुचि थियो। यसो सोचे फेसन डिजाइनिङ किन नसिक्ने ?

बच्चाहरूलाई बिहान स्कुल पठाएर बसमा झुण्डिँदै फेसन कलेज पुग्न थालें। उनीहरू फर्कनुअघि नै घर पुगिसक्थे। कोर्स सकिएपछि आत्मविश्वास पलायो। 

बुटिक खोल्न मन लाग्यो। तर, बच्चाहरू सानै थिए। अब बुटिक खोलेपछि त दिनभर त्यतै व्यस्त हुनु परिहाल्यो। तर, उही प्रश्नले घच्घच्यायो ? बच्चाबच्ची मात्र भनेर घरमै बस्ने हो भने आफ्नो परिचयचाहिँ कहिले बन्ने ? कसरी बनाउने ? 

त्यसपछि बुटिक खोले।
०००
सक्रिय आमा देख्दा बच्चाहरूलाई रमाइलो लाग्ने रहेछ। आमा के गर्नुहुन्छ भन्दा घरमै बस्नुहुन्छ भन्नु र फेसन डिजाइनर हो भन्नुमा फरक त पर्ने नै भयो नि। आफ्नै परिचय बनेकोमा म त मक्ख हुने नै भए। छोराछोरीहरू पनि मक्ख छन्। 

उनीहरू हुर्किइसके। अहिले आमा र सन्तानभन्दा साथीको सम्बन्ध छ हामीबीच। उनीहरू यसो गर्नुस्, उसो गर्नुस् भनेर सुझाव दिन्छन्। धेरैलाई हाउसवाइफ कसरी सफल हुन सक्छन् भनेर मेरो उदाहरण दिन्छन्।
धेरैलाई लाग्न सक्छ – बच्चाबच्ची भएपछि करिअरको ढोका बन्द हुन्छ। तर, मेरो ढोका त बच्चाहरूले नै खुलाइदिएका हुन्।
 

फागुन ९, २०७७ आइतबार २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।