आन्दोलन गर्न पैसा छैन भनेका देउवालाई पौडेल र कोइरालाकाे जवाफ : आन्दोलन रोकिन्न 

आन्दोलन गर्न पैसा छैन भनेका देउवालाई पौडेल र कोइरालाकाे जवाफ : आन्दोलन रोकिन्न 

इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले संसद् पुनर्स्थापनाको पक्षमा भएको आन्दोलन नरोकीने दाबी गरेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले पैसा नभएको कारण आन्दोलन गर्न नसक्ने बताइरहँदा दुई नेताहरूले आन्दोलन नरोकिने दाबी गरे।

प्रदेश १ का विभिन्न जिल्लामा कार्यकर्ता भेटघाटमा सक्रिय दुवै नेताहरूले फरक÷फरक कार्यक्रमबाट बोले पनि उनीहरूको निष्कर्ष एकै थियो‘सभापतिले चाहे पनि नचाहे पनि आन्दोलन रोकिन्न।’

सुनसरीमा आयोजित कार्यक्रममा नेता पौडेलले पैसा अभावमा आन्दोलन हुँदैन भन्नु  बेतुकको तर्क रहेको बताए । देश र संविधान बचाउने अभियानमा काँग्रेस रहेकोले पैसाको बहानामा आन्दोलन रोक्न नहुने उनको तर्क थियो। उनले सभापति देउवाका यस्तै वक्तव्यले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी भएको उनको आरोप थियो।

उनले पार्टीको केन्द्रीय समितिको बैठकबाट प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको निर्णय गरिसकेकोले संसद् पुनर्स्थापना गर्नुपर्ने मागमा पार्टी एक रती पनि लचिलो हुन नहुने उनले बताए। 

‘अदालतलाई हामीले भन्नुपर्छ ‘संविधान हेरेर न्याय पाउँ श्रीमान्,’ उनले भने‘मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गर्नु हुँदैन ।’

उता नेपाली काँग्रेस सुन्दरहरैचाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले पनि संसद् पुनर्स्थापनाको आन्दोलन कुनै हालतमा नरोकिने बताए । 

‘हुन त म संसद् हैन तर संविधान बाँच्यो भने भोलि त संसद् हुन सक्छु। संविधान नै रहेन भने पार्टी पनि बाँच्दैन देश पनि बाँच्दैन,’ उनले भने‘त्यसैले संविधानको रक्षाका लागी संसद् पुनर्स्थापनाको विकल्प छैन ।’

संसद् विघटनमा ओली समूहसँगै दाहाल–नेपाल समूह पनि समान दोषी रहेको कोइरालाको भनाई छ। संसद् पुनर्स्थापनाले यो बदनियत सच्चिन सक्ने उनको बुझाई छ । 

९ फागुन, २०७७, २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।