प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ओली समूहद्वारा संसद् बैठक बहिस्कार 

प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ओली समूहद्वारा संसद् बैठक बहिस्कार 

इटहरी : प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव राखेको छ।

प्रदेशसभा सचिव गोपाल पराजुलीले जारी गरेको कार्यसूची सम्बन्धी सूचनामा नेपालको संविधानको धारा १८८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९(१) वमेजिम दर्ता भएको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावलीको नियम १२९(४) बमोजिम पेस हुने उल्लेख गरिएको छ ।

संसद्मा अविश्वास प्रस्ताव दर्ता हुने भएपछि सत्तारुढ नेकपा ओली समूहले बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको ओली समूहका सांसदहरूको छलफलले बैठकमा सहभागी नहुने निर्णय गरेको हो । 

प्रदेशसभामा सरकार गठनमा निर्णायक देखिएको काँग्रेसलाई फकाउन नेकपाको दुवै पक्ष प्रयासरत छन् । दिउँसो २ बजे सुरु हुने भनिएको सातौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक २ घण्टा बित्दासमेत सुरु हुन सकेको छैन ।

यसअघि मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई संसद् बैठक रोक्न दबाब दिएका थिए । आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएको सभामुख भण्डारीले जानकारी गराए । अघिल्लो बैठकमा पनि राईले भण्डारीलाई भेटेरै बैठक रोक्न आग्रह गरेका थिए । भण्डारीले राईको दबाब नमानेपछि सत्तारुढ दलका सांसदल बैठक अवरुद्ध गरेका थिए । 

यसलाई विपक्षी दलहरूले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्। जसरी पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्ने काँग्रेसको धारणा छ । सरकारले संसद् छल्न नहुने भन्दै लोकतान्त्रिक विधिबाट नयाँ मुख्यमन्त्री चयनको बाटो खुल्ला गरिनुपर्ने काँग्रेसले बताउँदै आएको छ । 

अझैसम्म संसद् बैठक नचलेपछि नेपाली नेकपा प्रचण्ड नेपाल र ओली समूहको छुट्टाछुट्टै छलफल सुरु भएको छ । काँग्रेस संसदीय दलका नेता ओली समूहको छलफलमा छन् भने प्रमुख सचेतक केदार कार्की प्रचण्ड नेपाल समूहसँगको छलफलमा छन् । 

 

९ फागुन, २०७७, १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।