न उमेरको सीमा, न विवाहको बन्धन : ६९ वर्षको उमेरमा विवाह नगरी सँगै बस्ने जोडीको कथा

न उमेरको सीमा, न विवाहको बन्धन : ६९ वर्षको उमेरमा विवाह नगरी सँगै बस्ने जोडीको कथा
तस्बिरहरू : बिबिसी हिन्दी।

भारतको पुनेस्थित वसन्तबाग क्षेत्रमा बस्दै आएकी ६९ वर्षका अनिल यार्दी र ६९ वर्षकी आसावरी कुलकर्णी पछिल्लो ६ वर्षदेखि ‘लिभ–इन रिलेसनसिप’मा छन्। उनीहरू सँगै बस्छन्। तर, विवाह गरेका छैनन्। 

यी दुवैको घर पुग्दा दुवैजना अन्तरवार्ताका लागि तयार थिए। अनिल आकाशे रंगको टी सर्टमा थिए। अनि आसावरी गुलावी रंगको लुगामा। आसावरीले अनिललाई गाढा रंगको टिसर्ट लगाउन आग्रह गरिन्। उनको मत थियो– गाढा रंग क्यामरामा राम्रो देखिन्छ। उनको आग्रहपछि अनिल गाढा रंगको टिसर्ट लगाउन तयार भए।

यी दुवै ७० वर्ष पुग्दैछन्। र, विवाह नै नगरी सँगै बसिरहेका छन्। यो उमेरमा यस्तो सम्बन्ध ? 

अनिलले भने, ‘लिभ–इन रिलेसनसिप’को अर्थ दुईजना साथीको रूपमा सँगै बस्नु हो। विवाहका लागि प्रस्ताव आवश्यक छ। तर, ‘लिभ–इन रिलेसनसिप’का लागि कुनै प्रस्ताव आवश्यक छैन। 

तपाईं जीवनभर ‘लिभ–इन रिलेसन’मा बस्न सक्नुहुन्छ?

कुराकानीलाई अगाडि बढाउँदै आसावरीले भनिन्, ‘जव हामी सँगै बस्न राजी भयौं त्यो बेला दुनियाले के भन्छ भन्ने सोचेनौं।’

उनीहरू सार्वजनिकरूपमा आफ्नो भनाई राख्न कुनै शंकोच मान्दैनन् पनि। उनीहरूको परिवार अनि समाजमा दुवैको सम्बन्ध लुकेको पनि छैन।

सात वर्षअघि सुरु भएको कहानी

सात वर्षअघि वरिष्ठ नागरिकका लागि आयोजना भएको एक कार्यक्रममा यी दुवैको भेट भएको थियो। माधव दामलेको संस्थाबाट एक ट्रिपको आयोजना भएको थियो। त्यही ट्रिपमा सहभागी हुने क्रममा यी दुवैको भेट भएको थियो। 

अनिलले भने, ‘म मेरो कारमा आइरहेको थिएँ। कारमा तीन जना महिला र एक पुरुष थिए। उनी मसँग थिइनन्। उनी केही ढिलो आइन्। तर, यस्तो अन्दाजमा आइन् कि म उनीप्रति आकर्षित भएँ। अनि फेरि हामी साथी भयौं र कुराकानी सुरु भयो।’

त्यसपछि हरेक दुई–चार दिनपछि यी दुवैको भेट हुन थाल्यो। अनिल पेशाले इलेक्ट्रिकल इन्जिनियर थिए। उनी जागिर गर्थे। कार्यालयबाट फर्कने बेलामा उनी चिया पिउन आसावरीको घरमा जान थाले।

केही दिनपछि आसावरीले उनलाई चियासँगै स्न्याक्स पनि दिन थालिन्। दुवैलाई एक–अर्कासँग कुरा गर्दा रमाइलो लाग्न थाल्यो। उनीहरूको सोचाई पनि एक–अर्कासँग निकै मिल्थ्यो।

आसावरीले भनिन्, ‘यो क्रम १० महिनासम्म चल्यो। त्यसपछि लाग्यो कि हामीलाई मन पर्ने र नपर्ने एकै खालको छ। हामीलाई पिरो अमिलो मासुको परिकार खान मन पर्थ्याे। कहिलेकाहीँ दुवै थोरै ड्रिंग्स पनि लिन्थ्यौं। हामीलाई घुम्न मन पर्थ्यो। हामी कहिलेकाहीँ एक दिनको यात्रामा पनि जान्थ्यौं। त्यसपछि हामीलाई लाग्यो कि हामी सँगै बस्न सक्छौं।’

सजिलो थिएन निर्णय गर्न

तर, यो निर्णय गर्न सहज थिएन। 

अनिलले भने, ‘मेरी श्रीमतीको निधन सन् २०१३ मा भएको थियो। त्योभन्दा पहिला मेरो बुबा–आमाको निधन भयो।

त्यसपछि मेरो भाइको निधन भयो। अनि फेरि मेरो छोराको निधन भयो। मेरो एक छोरी छन्। तर, म एक्लै बस्थे। मलाई एक जना साथीको अभाव महसुस भइरहेको थियो। त्यसैले मैले यो निर्णय गरें।’

आसावरी भारतीय जीवन बीमा निगममा काम गर्थिन्। सन् २०१२ मा उनले अवकास पाइन्। उनको श्रीमानको निधन सन् १९९७ मै भइसकेको थियो।

आसावरीले भनिन्, ‘श्रीमानको मृत्युपछि मेरो भाउजू र उनको छोरा मेरो घर नजिकै बस्थे। त्यो बेला मलाई कहिल्यै एक्लो अनुभव भएन। तर, जब छोरासँगै भाउजू पनि अन्त बस्न गइन्। म एक्लो महसुस गर्न थाले। यसै बेला पुनेको कलेजमा ज्येष्ठ नागरिकका लागि ‘लिभ–इन रिलेसनसिप’बारे एक सेमिनारको आयोजना भयो। म त्यसमा गएको थिएँ। मलाई लाग्यो कि बाँकी जीवन खुसीसाथ बिताउनका लागि यो नै राम्रो बाटो हो।’

सो सेमिनारमा सबै विषय बताइएको थियो, जस्तो : यो उमेरमा कसरी एक–अर्कासँग बस्न सकिन्छ।  

‘जब हामीले सँगै बस्ने निर्णय लियौं। त्यो बेलामा हाम्रो उमेर ६२ वर्षको थियो। सेमिनारमा भनियो कि सँगै बस्नका लागि यो उमेर सबैभन्दा उपर्युक्त उमेर हो। ७० वर्षपछि स्वास्थ्यमा समस्या आउन थाल्छ। अनि घुम्न पनि समस्या हुन थाल्छ,’ आसावरीले भनिन्।

समाजको डर लागेन

विवाह नै नगरी सँगै बस्ने जोडीलाई आज पनि समाजले त्यति राम्रो नजरले हेर्देन। 

आसावरीले भनिन्, ‘एकातिर मेरो दिमागका घुमिरहेको थियो कि मान्छेले के भन्लान्। अर्कोतिर म यो पनि सोचिरहेकी थिएँ कि मान्छेको बारेमा सोचेर म किन एक्लै बसुँ ? तनावका कारण म रातभर सुत्नै सकिनँ। म कोसँग कुरा गर्न सक्छु ? आवश्यक परेको बेलामा मलाई कसले सहयोग गर्छ ? हामी समाजको कुरा त गर्छाैं। तर, समाजले हरेक विषयको हेरचाह गर्न त सक्दैन।’

तर, यी दुवैले विवाह गर्ने निर्णय किन गरेनन् ? सँगै बस्ने मात्र किन निर्णय गरे ?

यसको उत्तरमा आसवरीले भनिन्, ‘हामी यो उमेरमा जोखिम लिन चाहँदैनौं। त्यसैले विवाह नगरी सँगै बस्न थाल्यौं। आवश्यक पर्यो भने हामी विवाह पनि गर्न सक्छौं। हामी बाँकी जीवन खुसीसँग बिताउन चाहन्छौं। यो हाम्रो प्रष्ट लक्ष्य हो। हामी समाजसँग डराउँदैनौं। यदि सबै कुरा ठिकठाक भयो भने विवाह गर्न कुनै समस्या पनि छैन। कहिलेकाहीँ विवाहपछि मान्छेले एक–अर्काको सम्मान गर्दैनन्। त्यसैले पनि हामी हाम्रो सम्बन्धलाई विवाहको बन्धनमा बाध्न त्यति जरुरी सम्झदैनौं।’

अनिलले भने, ‘हामीले यस बारेमा हाम्रो साथीहरूलाई भन्यौ। उनीहरू हाम्रो घरमा आउँछन्। हामी पनि सँगै उनीहरूको घरमा जान्छौं। समाजबाट अहिलेसम्म कुनै खराव अनुभव गर्नु परेको छैन।’

उनीहरू सँगै बसिरहेका छन्। दुवैको पहिलाका सन्तान पनि छन्। दुवैको आफ्नो अनुभव पनि छ अनि याद पनि। यस्तोमा दुवैले आफ्नो सम्बन्ध कसरी बलियो बनाइरहेका छन् ?

यसबारे आसावरीले भनिन्, ‘हामीलाई एक– अर्काप्रति भरोसा छ। यत्रो वर्षमा हामीमध्ये कसैले भरोसा तोड्ने काम गरेन।’

अनिलले कानमा खुसुक्क भने, ‘हामी एक– अर्कालाई पागलपनको हदसम्म प्रेम गर्छाैं।’

परिवारको विरोध

अन्तरवार्ताको पूरै समय आसावरी र अनिल हाँसेर बसे। हामी प्रेम, भरोसा, समाजबारे कुरा गर्दै बस्यौं। अन्तमा हामीले उनीहरूलाई सम्बन्धमा कुनै प्रकारको विरोध आयो कि भनेर सोध्यौं।

दुवैले भने कि यो सम्बन्धबारे पहिला दुवैको परिवारबाट विरोध भएको थियो।

अनिलले भने, ‘पहिला मेरो छोरी यो सम्बन्धको विपक्षमा थिइन्। हामी उनको घर गयौं किनकी आसावरीसँग उसको परिचय होस्। तर, उनी स्वीकार गर्न तयार भइनन्। पछि हामीले उनलाई मनायौं। हामीले उनलाई भन्यौ कि यो हाम्रो दोस्रो विवाह हैन। हामी केवल सँगै बसेका हौं।’

आसावरीले भनिन्, ‘सात वर्षदेखि हामीलाई सँगै देखेर हाम्रो बच्चाहरू खुसी छन्। उनीहरू हाम्रो सम्बन्धमा विश्वास गर्छन्। बच्चाको जन्मदिनमा सबै परिवार जम्मा हुन्छ। हामी हाम्रो नातेदारकोमा पनि सँगै जान्छौं। मान्छेहरूले हामीलाई सम्मान दिन्छन्। अहिलेसम्म त सबै राम्रो चलिरहेको छ।’

वरिष्ठ नागरिकबारे धेरै संस्थाहरूले काम गर्छन्। तर, आसावरीको सोचमा सबैभन्दा राम्रो ‘लिभ–इन रिलेसन’ नै हो। योभन्दा अर्को राम्रो बाटो नभएको उनको निष्कर्ष देखियो।

तर, यसमा पनि दुवैको समान मत छ। विवाह नगरीसँगै बस्ने निर्णय गर्नु अगाडि राम्ररी विचारचाहिँ गर्नुपर्छ। यसलाई गम्भीररूपमा लिनुपर्छ।

जब दुवै सँगै बस्छन् त घर खर्च पनि महत्त्वपूर्ण हुन्छ नै। 

आसावरीले भनिन्, ‘यो बारेमा हामी प्रष्ट छौं। महिनाको खर्च हामी बराबरी बाड्छौं। कपडा, गहना, आफ्नो पैसाले किन्छौं। त्यसैले अहिलेसम्म पैसालाई लिएर हाम्रो झगडा भएको छैन। सम्बन्धमा जानुभन्दा अगाडि पैसाको विषयमा प्रष्ट हुन आवश्यक छ। सँगै सन्तानको पनि सहमति आवश्यक छ।’

अनिलले भने, ‘कसैले पनि ‘लिभ–इन रिलेसन’लाई हल्का रूपमा लिन हुन्न। हामीलाई सम्बन्ध बलियो बनाएर राख्न सक्नुपर्छ। सँगै बसेको केही समयमै अलग हुन थाल्यौ भने समाजले प्रश्न सोध्छ। तर, आफ्नो जीवनको अन्तिम समयसम्म सँगै बस्यो भने कसैले पनि औला उठाउन पाउँदैन।’

दुवैको मान्यता यो छ कि हरेक सम्बन्धमा प्रेम सबैभन्दा महत्त्वपूर्ण छ। त्योसँगै चाहिने भनेको अलिकति त्याग अनि अलिकति सम्झौता त हो।

–बिबिसी हिन्दी
 

८ फागुन, २०७७, १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।