भागरथी केसबारे डिआइजीको दावी ‘आन्दोलनको दबाबले आरोपी सार्वजनिक गर्न बाध्य भएँ।’

भागरथी केसबारे डिआइजीको दावी  ‘आन्दोलनको दबाबले आरोपी सार्वजनिक गर्न बाध्य भएँ।’

प्रहरीले ती किशोरलाई आरोपीको रूपमा सार्वजनिक गरे पनि भागरथीको परिवारले समेत विश्वास गरेको छैन। अनुसन्धानमा खटिएका प्रदेश प्रहरीका प्रमुख डिआइजी उत्तमराज सुवेदी माला लगाएर गाउँबाट फर्किसके। तर परिवारले ‘विश्वास लागेन’ भन्दै भट्टको शव बुझ्न मानेको छैन।

प्रहरीले आरोपी किशोर नै घटनामा संलग्न रहेको प्रमाणको रूपमा ‘घटनास्थलतिर आरोपी गइरहेको प्रत्यक्षदर्शी, उसको मोबाइलको लोकेसन र उसैको साविती बयान’ लाई आधार बनाएको छ।

तर सामान्य रूपमा पुष्टि हुनसक्ने ती आरोपीको उमेर कति हो भन्ने समेत खुलाउन नसक्दा प्रहरी अनुसन्धानमा फेला परेको तथ्य परिपक्व हुनु अगाडि नै आरोपी सार्वजनिक गर्न हतारिएको देखियो।

उमेर समेत कति हो भन्ने यकिन नगरी किन पत्रकार सम्मेलन गर्न किन हतार गरेको भन्ने उकेराको जिज्ञासामा डिआइजी सुवेदीले भने ‘अधिकारकर्मीले पनि घटनाको अनुसन्धान गर्न खोज्ने, पत्रकारले पनि घटनाको अनुसन्धान गर्न खोज्ने देशैभरि आन्दोलन चर्काउने अनि बाध्य भएर हुलदगां नहोस् भन्नका लागि आरोपी सार्वजनिक गर्याै।’ 

उनले पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएका काँचो तथ्यले पक्राउ आरोपीको आरोप पुष्टि गर्न नसक्ने भन्दै विश्लेषण भइरहेको सुनाउँदा उनले उल्टो प्रश्न गरे ‘प्रहरीले आफ्नो अनुसन्धान गरिहाल्थ्यो नि, किन आन्दोलन गर्नुपरेको थियो त?’

पत्रकार सम्मेलन गर्दा प्रहरीले ती किशोरको उमेर कति हो सम्म यकिन बताएको थिएन। प्रहरीले उनलाई चार दिनदेखि दैनिक हाजिरीमा राखेको थियो। मङ्गलवार बेलुका नियन्त्रणमा लिएर बुधवार सार्वजनिक गरेको थियो।

प्रहरीका अनुसार उनी कक्षा ११ मा अध्ययनरत थिए। कक्षा ११ मा पढ्न एसइईको मार्क सिट चाहिन्छ नै। एसइईको मार्क सिटमा जन्म मिति उल्लेख हुन्छ। मार्क सिट त ती किशोरको घरमै हुन सक्थ्यो। 

११ मा पढ्न विद्यालयमा एसइईको मार्क सिट बुझाउनुपर्छ। उनी पढ्ने विद्यालय गाउँ नजिकै नै हो। विद्यालयमा उनको उमेरको रेकर्ड पक्कै थियो। तर प्रहरी त्यतातिर नलागी पत्रकार सम्मेलन गर्दै भन्यो‘ अन्दाजी १८ वर्ष उमेरका आरोपी।’

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी सुवेदीले अन्दाजी १८ भनेको २४ घण्टा बित्न नपाउँदै बुधवार बेलुका प्रहरी प्रधान कार्यालयले जारी गरेको बुलेटिनमा उनको उमेर १६ उल्लेख थियो।

डिआइजी सुवेदीले उकेरालाई दिएको जानकारी अनुसार प्रहरी आरोपीको उमेरको पुष्टिको प्रयासमै लागेको देखिएन। उनीहरूले जाहेरीमा दाबी गरिएको उमेरलाई नै किशोरको उमेरको आधार मान्ने प्रमाणको रूपमा ग्रहण गरेको देखियो।

आरोपी पक्राउ परेपछि नै जाहेरी परेको थियो। यस्ता अपराधमा प्रहरीले आरोपी पक्राउ गरेपछि पीडित परिवारलाई आरोपीको नाम किटान गरेर जाहेरीका लागि आग्रह गर्ने प्रचलन छ। भागरथीको केसमा पनि आरोपी पक्राउपछि उनको दाइले जाहेरी दर्ता गराएको देखिन्छ।

भागरथी केसमा पक्राउ किशोरको उमेरबारे प्रहरी अन्यौलमा : डिआइजी- १८, प्रहरी बुलेटिन-१६

उमेर पक्का गर्ने प्रक्रिया बलात्कार र हत्याको आरोपी बनाउनुभन्दा कठिन हो र ?

डिआइजी सुवेदीले आरोपी सार्वजनिक गरेको २४ घण्टापछि पनि आरोपीको उमेर कति हो खोजी भइरहेको दाबी गरे। उनले जाहेरीको आधारमा आरोपीको उमेर भनिएको खुलाउँदै भने‘ आरोपीको उमेर कति हो अनुसन्धान भइरहेको छ।’

‘हामीले जाहेरीको आधारमा उमेर भनेका हौँ। उमेर ठुलो कुरा हैन,’ डिआइजी सुवेदीले भने ‘आज मैले अड्कल काट्दा साँढे १६ वर्षको हो की भन्ने लागेको छ।’

डिआइजी सुवेदीले भनेजस्तै अपराधमा उमेर ठुलो कुरा हैन ?

नेपालमा क्रियशिल कानुन अनुसार अपराध अनुसन्धानमा उमेरको निक्कै महत्त्व राख्छ। १८ वर्षभन्दा कम उमेरको हकमा त यो झन् संवेदनशील पक्ष हो। 

बाल न्याय समन्वय समितिकी उप सचिव अनुपमा पन्त यदि आरोपी बालबालिका भए उनीहरूलाई प्रयोग गर्ने शब्ददेखि पक्राउ गरेर अनुसन्धान गर्दासम्मको प्रक्रिया नै फरक भएको बताइन्

‘बालबालिका अधिकार ऐन २०७५को परिच्छेद ४ को बाल न्याय सम्बन्धी व्यवस्थामा पक्राउ कसरी गर्ने, सोधपुछ कसरी गर्ने, नियन्त्रणमा लिएपछि कसरी राख्ने भन्ने सम्बन्धमा उल्लेख छ,’ पन्तले भनिन् ‘उमेर कै आधारमा अनुसन्धान हुने भएकाले उमेर गौण हैन महत्त्वपूर्ण हो।’

भागरथी घटनामा आरोपीसम्म कसरी पुग्यो प्रहरी ? डिआइजी सुवेदीले सार्वजनिक गरेको विवरण

ऐनले के भन्छ ?

बालबालिका सम्बन्धी ऐन २०७५ले १८ वर्ष मुनीकालाई बालबालिका मानेको छ।

ऐनको परिच्छेद २ मा बालबालिकाको अधिकार शीर्षकको ११ नम्बर बुँदामा ‘कसैले बालबालिकाको चरित्रमा आघात पर्ने निजलाई लाज ग्लानि हुने अपहेलन हुने किसिमको व्यक्तिगत सूचना विवरण फोटो भिडियोको सिर्जना गर्ने सूचना सङ्कलन प्रकाशन मुद्रण प्रदर्शन विक्री वितरण वा कुनै माध्यमबाट प्रवाह गराउन हुँदैन’ भनेको छ।

सोही ऐनमा कुनै कसुरमा पक्राउ परेका आरोपीको उमेर १८ भन्दा कम रहेको अवस्थामा पक्राउ गर्ने विधि, उसलाई राख्ने स्थान, उसमाथि लागेको आरोपको सुनुवाइको प्रक्रिया अनि अनुसन्धान गर्ने अधिकारीको योग्यता समेत तोकेको हुन्छ।

उमेरै नखुलाई प्रहरीले आरोपी सार्वजनिक गरेको विषयमा जिज्ञासा राख्दा केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवरले भने‘ घटनाको आरोपी पत्ता लाग्नु ठुलो कुरा हो, उमेरमा नजानुस्।’

जसरी आरोपीलाई सार्वजनिक गरियो त्यसबारे प्रधान कार्यालयको धारणाबारे जिज्ञासा राख्दा उनले भने‘यसबारेमा म बोल्दिन।’

केन्द्रीय बाल कल्याण परिषद्का सूचना अधिकारी राम बहादुर चन्दले पनि बालकले विज्याँइ गरेपछि केही न केही त गुम्ने बताउँछन्। 

‘गम्भीर किसिमको अपराध गरेको हुनाले बालकलाई सार्वजनिक गर्नु ठिकै हो,’ चन्दले भने ‘सार्वजनिक गरेपछि अन्यको मनोबल नबढ्न सक्छ नि।’

तर, बाल न्याय समन्वय समिति सचिवालयकी उपसचिव पन्तले आरोपीको उमेर १८ भन्दा कम हो भने बुधवार जसरी प्रहरीले पत्रकार सम्मेलन ग¥यो त्यो गलत भएको बताइन्।

‘बैतडीको घटनामा आरोपी बालक हुन् भने जसरी पत्रकार सम्मेलनमा गरियो त्यसरी गर्न हुन्थेन,’ उपसचिव पन्तले भनिन् ‘१८ वर्ष मुनीको भएको हुनाले उसले गरेको जुन घटना छ त्यसलाई बाल बिज्याँइ भनिन्छ । प्रहरीले त्यसरी सार्वजनिक गर्दा त बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार भएन ।’

बुधवार दुई बजे गरिएको पत्रकार सम्मेलनमा आरोपीलाई नकाब लगाएर सार्वजनिक गरियो। पत्रकार सम्मेलनमा उनको नाम बाहेक बाँकी सबै परिचय खुलाइयो। 

सुदूरपश्चिम प्रहरी प्रमुख सुबेदीले भट्ट हत्याका आरोपीले अन्तिम कक्षा नपढी  हिँडेको, साथीहरूसँग नगई मार्ने उद्देश्यले घटनास्थलमा कुरेर बसेको, सडकबाट तल धकेलेर बलजफती नियन्त्रणमा लिएर पाइन्ट घुँडा मुनीसम्म तानेको तर करणी नगरेको र घाँटी थिचेर हत्या गरेको भनेर बयान दिएको बताए ।

भागरथी घटनामा प्रहरीले खुलाएकाे आरोपी पक्राउका तीन आधार

उपसचिव  पन्त बालकले गरेको जस्तोसुकै बिज्याँइमा पनि उसको साङ्केतिक नाम राख्नुपर्ने, वर्ष खुलाउन पाउने, बसोबास गर्ने ठ्याक्कै स्थानको नाम भन्न पाउने भए पनि सार्वजनिक गर्न भने नहुने बताउँछिन्।

कानुनी प्रावधानबारे जानकारी दिएपछि सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी ‘देशै भरिको  दबाब थेग्न नसकेर आरोपीलाई सार्वजनिक गरिएको’ दाबी गरे।

‘अभियुक्त बालक भएपछि सार्वजनिक गर्न हुँदैन भन्ने त मलाई पनि थाहा छ,’ सुवेदीले भने ‘तर देशैभरि आन्दोलन चर्किएपछि आरोपीलाई सार्वजनिक नगरी रहन सकेनौँ ।’

६ फागुन, २०७७, १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।