साई ग्लोबललाई हराउँदै तिलोत्तमा डिभिजन ‘ए’मा

साई ग्लोबललाई हराउँदै तिलोत्तमा डिभिजन ‘ए’मा

नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत सिद्धार्थ रंगशालामा आज (बिहीबार) सम्पन्न ‘बी’ डिभिजन अन्तर्गतको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ६४ रनले हराउँदै तिलोत्तमा ‘ए’ डिभिजनमा प्रवेश गरेको हो। 

१ सय १३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको साई ग्लोबल १५.१ ओभरमा ४८ रनमा अलआउट भयो। उसका लागि अजय रसाइलीले सर्वाधिक २० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले सर्वाधिक ५ विकेट लिए। ४.१ ओभरमा बलिङ गरेका उनले २ मेडन राख्दै ९ रन खर्चिए। यस्तै, विष्णु कटेरिया र यम क्षेत्रीले समान २ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको तिलोत्तमाले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनको योगफल बनाएको थियो। उसका लागि कृष्ण भुसालले २८ र विष्णु कटेरियाले १४ रन बनाए। 

बलिङमा साई ग्लोबलका आकाश त्रिपाठीले ४, इमरान पठान र दुर्गेश कुर्मीले २/२ विकेट लिए।

खेलको म्यान अफ दि म्याच कृष्ण पराजुली घोषित भएको आयोजक रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।

६ फागुन, २०७७, १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।