भागरथी केसमा पक्राउ किशोरको उमेरबारे प्रहरी अन्यौलमा : डिआइजी- १८, प्रहरी बुलेटिन-१६

भागरथी केसमा पक्राउ किशोरको उमेरबारे प्रहरी अन्यौलमा : डिआइजी-  १८, प्रहरी बुलेटिन-१६

काठमाडाैं :विद्यालयबाट घर फर्कनेक्रममा हत्या गरिएकी किशोरी भागरथीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार सार्वजनिक गरेको किशोरको उमेरबारे प्रहरी नै अन्यौलमा देखिएको छ। बुधबार किशोरलाई सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले उनको उमेर अन्दाजी १८ बताएका थिए। 

तर प्रहरी प्रधान कार्यालयको समाचार कक्षको समाचार बुलेटिनका आरोपीको उमेर १६ उल्लेख छ। 

बुलेटिनमा भनिएको छ‘ दोगडाकेदार गाउँपालिका(७ बस्ने करिब १८ वर्षीया भागरथी भट्टलाई जबरजस्ती करणी पछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।’

अपराधमा उमेर 

अपराधमा यदि उनी १८ वर्षको भए बालि  मानिन्छ र सोही अनुसार अनुसन्धान र मुद्दा प्रक्रिया अगाडि बढ्छ। १८ मुनीको भए बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको परिभाषाभित्र पर्छन्। बालबालिकाको हकमा पक्राउ, हिरासतदेखि सजाय भए पनि सजायको प्रकृति नै फरक हुन्छ।

१८ वर्ष उमेर नपुगेकोका हकमा बाल अदालतमा सुनुवाइ गर्नुपर्ने ऐनमा व्यवस्था छ। जिल्ला प्रहरी कार्यालय बैतडीले आरोपित किशोरलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ।

१८ वर्ष भन्दा कम उमेरकालाई हिरासतमा राख्न पाइँदैन। निगरानी कक्षमा राख्नुपर्ने कानुनी प्रावधान छ। अपराधमा संलग्नताको अनुसन्धानमा समेत १८ वर्ष मुनीको बालबालिकाको हकमा छुट्टै इकाई गठन गर्नुपर्ने यदि इकाई नभए सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रहरीले अनुसन्धान गर्ने तर ती अधिकृत बाल न्याय सम्बन्धी तालिम प्राप्त हुनुपर्ने कानुनी प्रावधान छ।

१८ वर्ष नाघेका अभियुक्तको हकमा पुर्पक्षका लागि कारागार पठाउन सकिन्छ। तर १८ वर्ष भन्दा तलको हकमा बाल सुधार गृह पठाउनुपर्छ।

बालबालिका सम्बन्धी ऐनले सजायमा समेत १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको हकमा उमेर पुगेका व्यक्तिले पाउने सजायको दुई तुहाई मात्र पाउने व्यवस्था गरेको छ।

ऐनले विचाराधीन बालबालिकाको परिचय खुल्ने कुनै पनि गतिविधि गर्न बन्देज गरेको छ। तर प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दा आरोपी किशोरसँग वयष्कझै व्यवहार गर्दै पत्रकार सम्मेलनमा ल्याएर सार्वजनिक गर्ने, उनी अध्ययनरत विद्यालय र कक्षा र उनी बस्ने स्थान समेत सार्वजनिक गरेको थियो। 

५ फागुन, २०७७, २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।