भागरथी बलात्कार–हत्या प्रकरणका आरोपित किशाेर सार्वजनिक 

भागरथी बलात्कार–हत्या प्रकरणका आरोपित किशाेर सार्वजनिक 

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका किशोरलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका भागरथी पढ्ने सनातन माविकै कक्षा ११ मा अध्ययनरत *किशाेरलाई सार्वजनिक गरिएको हो। 

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं डिआइजी उत्तमराज सुवेदीले प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा *उनलाई पक्राउ गरिएको बताए। उनलाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आरोपितले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन्।

घटनास्थलको प्रमाण त्रुटिरहित ढंगले संकलन गरिएको र केहीलाई प्रयोगशालामा प्रमाण पठाइएको डिआइजी उत्तमराजले  बताए। उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

ती *किशाेरविरुद्ध भागरथीले दाइले किटानी जाहेरी दिएका थिए। 

गत माघ २१ गते सनातन माविमा पढ्न गएपछि भागरथी साँझसम्म घर नफर्किएपछि परिवारले उनको खोजी थालेको थियो। त्यसको भोलिपल्ट अपराह्न उनको शव लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। 

* प्रहरीले पत्रकार सम्मेलनमा पक्राउ आरोपीको  एकिन उमेर नखुलाएको र १८ वर्ष मुनीका आरोपीको नाम उल्लेख गर्न नहुने संहिता अनुसार आरोपीको नाम हटाइएको छ।

५ फागुन, २०७७, १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।