ललितपुर वडा १२ को बदमासी : टोल सुधारको आवरणमा अवैध पार्किङ

ललितपुर वडा १२ को बदमासी : टोल सुधारको आवरणमा अवैध पार्किङ
तस्बिर : कृष्पा श्रेष्ठ।

ललितपुर : स्थानीय सरकारले अधिकारको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिलाई कसरी भोटर प्रोजेक्ट बनाउन सक्छ भन्ने उदाहरण बनेको छ ललितपुर महानगरपालिकाको वडा नम्बर १२। सार्वजनिक सम्पत्तिको उपयोगको अधिकार पाएको वडा १२ ले सडक डिभिजन कार्यालयले बनाएको सार्वजनिक बाटोलाई ‘भोटर प्रोजेक्ट’ बनाउँदै आफू निकटहरूलाई सशुल्क पार्किङ चलाउने छुट दिएको छ।

वडाले स्थानीयरुपमा टोल सुधार समितिलाई सरकारी जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने अनुमति दिएको छ तर मौखिक। आर्थिक कारोबारको अनुमतीदिँदा न कुनै सम्झौता भएको देखियो न कुनै मापदण्ड र सर्त नै तोकियो। वडा अध्यक्षले पार्किङ चलाएर पैसा उठाऊँ भन्ने मौखिक सहमतीयै आधारमा वडाको ६ स्थानमा सशुल्क पार्किङ चलिरहेको छ अहिले।

‘टोल–टोलले विभिन्न प्रयोजनमा पैसा माग्न आउँछन्। सबैलाई वडाले पैसा दिन सक्दैन,’ वडा १२ का वडा अध्यक्ष नारायणलाल अवालेले भने‘ स्थानीय टोल सुधार समिति मिलेर पार्किङको पैसा उठाउँछन्। १५ हजार नगरपालिकामा तिर्छन्। बाकिँ टोलको विकासमा खर्च गर्छन्।’ 

उनले चार पाङग्रे सवारीको १० रुपैंया शुल्क र दुई पाङग्रेको पाँच रुपैंया शुल्क तोकेको र यो वडाकै सस्तो शुल्क रहेको उनको दाबी छ।

अवैध रूपमा चलिरहेको पार्किङमा शुल्क पनि उनले दाबी गरेझैँ निश्चित थिएन। 

दुई पाग्रें सवारीसाधनकै प्रति घण्टा २० रुपैयाँसम्म र चार पाग्रेंको ५० रुपैंयाभन्दा भन्दा शुल्क लिने गरेको उकेराको अनुगमनमा देखियो।

०००

२०७६ असोज १३ मा वडा कार्यालयको बैठकले ‘पार्किङ व्यवस्थापन सम्बन्धमा’ शीर्षकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को उल्लेख गर्दै  मंगलबजार टोल सुधार समिति, हःखा टोल सुधार समिति, हौगल टोल सुधार समिति, चक्रवहल टोल सुधार समिति, टंगाल टोल सुधार समिति र लगनखेल टोल सुधार समितिलाई पार्किङ व्यवस्थापनको जिम्मा दिने निर्णय गरेको देखियो।

सो निर्णय अनुसार सबैले सशुल्क पार्किङ चलाए। तर कसैसँग पनि वडाले लिखित सहमति गरेको भेटिएन।

२०७७ कार्तिक २५ को वडाको बैठकले पार्किङ व्यवस्थापनको लागि टोल सुधारको सङ्ख्या बढायो। उक्त बैठकले थति टोलमा पार्किङ गर्ने थप निर्णय गर्यो। र, त्यसको भोलि पल्टै थति टोल सुधार समितिको नाममा लगनखेलबाट मंगलबजार जाने बाटोमा पार्किङको जिम्मेवारी दियो। 

थतीसँग भने वडाले लिखित सहमति गरेको छ। 

वडा अध्यक्ष अवाले पार्किङ व्यवस्थापन गर्ने, स्थानीय बेरोजगार युवालाई रोजगारी दिने र  खर्च कटौती गरेर बचेको रकम टोल हितमा लगाउने सर्तमा पार्किङको जिम्मेवारी दिएको दाबी गर्छन्।

कतै निःशुल्क

वडाले सम्झौताबिनै जिम्मेवारी दिएकोमध्ये चक्रर्वति टोल सुधार समितिले निःशुल्क पार्किङ चलाई रहेको भेटियो। हःखा र टंगालको पार्किङ कोरोना महामारीपछि बन्द छ। सञ्चालनमा रहेका तीन पार्किङमध्ये मंगलबजार टोल सुधार समितिले पार्किङको रकमले जात्रा –पर्व, पूजाआजामा  खर्च गर्ने गरेको देखियो। 

उसले महानगरलाई १० हजार मासिक बुझाउँदै आएको छ। मासिक ८० हजारसम्म सङ्कलन हुने देखियो।

छाडा समिति, निरीह वडा

मंगलबजारमा सञ्चालित पार्किगं

उकेराको खोजमा हौगल टोल सुधार समितिले वडा र महानगर दुवैलाई रकम बुझाएको देखिएन। हौगल टोल सुधार समितिका अध्यक्ष प्रेमलाल महर्जनले भने ‘वडाले चला भन्यो । हामीले चलायौँ।’ 

महर्जनका अनुसार हौगल क्षेत्रमा पार्किङले मासिक ८० हजार आम्दानी हुने गरेको छ। ‘एउटा भाइले पैसा उठाउँछ। उठेकोमध्ये ५० प्रतिशत उसैलाई दिन्छौ, ५० प्रतिशत हामी राख्छौँ’ महर्जनले भने।

५० प्रतिशतको हिसाब गर्ने हो भने पनि न्यूनतम मासिक ४० हजार रुपैयाँ आउने देखियो। त्यो रकम केमा खर्च हुन्छ भन्ने जिज्ञासामा महर्जनले भने‘टोल सुधार।’

सुधारको कामबारे जिज्ञासा राख्दा उनको उत्तर थियो‘ टोलमा परिआएको बेला खर्च गरिन्छ।’ 

वडा १२ का वडा सचिव सागर शाही पार्किङको नाममा उठेको रकमबारे वडालाई जानकारी नभएको स्वीकार गर्छन्। उनले वडाको अनुमति नलिई रकम मनोमानीरुपमा खर्च हुने गरेको पनि स्वीकार गरे।

‘टोल हित होला भन्ठानेको, सञ्चालनको मौखिक अनुमति पछि चालचुल छैन। यस्तै छ’ उनले भने। 

महानगरलाई छैन जानकारी 

ललितपुर महानगरपालिकाले उपलब्ध गराएको सूचना अनुसार वडा १२ ले लगनखेल र मंगलबजार भीमसेन मन्दिर अगाडीको स्थानमा मात्र पार्किङ चलाइरहेको देखिन्छ। तर यो सङ्ख्या ६ छ। बाँकी ४ स्थानबारे त महानगरै बेखवर देखियो।

वडाले एकातिर महानगरलाई नै जानकारी नदिने अर्कोतिर वडाको विकासको आवरणमा आफू निकटकालाई मनलाग्दी गरी आर्थिक कारोबार गर्ने अनुमति दिएको देखियो। पार्किङ सञ्चालकहरूले शुल्क नबुझाए पनि त्यसमा वडाको चासो समेत देखिएन। 

पार्किङको कर किन तिरेनन् भन्ने जिज्ञासामा वडा अध्यक्ष अवालेको तर्क छ‘ स्थानीय सरकारको  अधिकार प्रयोग गरेर टोल विकास होला, स्थानीयले रोजगारी पाउँछन् भनेर गरेका हौँ। मंगलबजार र थतिले तिरिरहेका छन्। अरूले पनि तिर्छन्।’ 

अध्यक्षलाई नै थाहा छैन आफैले गरेको सम्झौता 

थति टोल सुधार समितिका अध्यक्ष दिनेश देउलाको दाबी अनुसार सम्झौता भएयता थतिले दुई महिनाको ५० हजार महानगरको खातामा राखेको छ। उनले सबै खर्च कटाएर एक हजार जोगिने दाबी गरे।

देउलाले मासिक २५ हजार बुझाउने गरेको बताए पनि वडा अध्यक्ष अवालेले भने मासिक १५ हजार मात्र तिर्ने गरेको बताए।

तर २०७७ कार्तिक २६ गते अवालेकै हस्ताक्षरमा थतिसँग भएको सम्झौतामा मासिक २५ हजार  तिर्नुपर्ने उल्लेख छ। ‘बढी हुँदा ८० सम्म उठ्छ। ५ जनालाई १२ हजार देखी १५ हजार सम्म दिएका छौँ। हामीलाई पैसै छैन’ देउलाले दाबी गरे।

देउलाको दाबीलाई पत्याउने हो भने पनि सबै खर्च कटाएर न्यूनतम ३५ हजार भन्दा बढी पैसा टोल सुधारको खातामा जम्मा हुनुपर्ने हो। 

सम्झौता गर्न मान्दैन महानगर

हःखा टोल सुधार समितिका पूर्व अध्यक्ष शरणकुमार शाक्य हःखाको पार्किङ पुरानो पार्किङ मध्यको हो। ठुलो क्षेत्रमा छ यहाँ। करिब २० वर्ष पुरानो पार्किङ ललितपुर उपमहानगरहुदाँ देखी नै नगरकै मातहतमा सञ्चालन भइरहेको थियो। सो सम्झौता अनुसार हःखा टोल सुधार समितिले १८ हजार रुपैँया मासिक बुझाउदै आएको थियो।

‘हाम्रो टोल सुधार समिति पार्किङकै पैसा बाट चल्ने गर्थ्यो,’ शाक्य भन्छन्‘  कोरोना आए सँगै सम्झौता भङ्ग भयो।’  महानगरले एकलौटी पैसा असुल्न खोज्दा सम्झौता भङ्ग हुन पुगेको शाक्यको दाबी छ।

त्यसपछि, महानगरलाई सम्झौता गरौँ भन्दा अनेक उल्झन आउँछ भनेर महानगरले टार्ने गरेको शाक्यको दाबी छ।

‘महानगर पैसा चाँही तिरिराख् भन्छ तर कुन आधारमा तिर्ने? उनले भने‘ पैसा तिर्न त आधार चाहियो नि। सम्झौता गर्दा के समस्या हुने हो बुझ्न सकेको छैन।’ सम्झौता हुन नसकेपछि अहिले पार्किङ शुल्क उठाउनै छाडेको उनले बताए।

३ फागुन, २०७७, १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।