कभर स्टोरी

'सिद्धबाबा' फैसलाको चिरफार : यो ब्याख्या सदर हुने हो भने भोली बलात्कारी जेल पर्ने छैनन्

गिरीले दिएको बयान झुटो भएको स्वीकार गर्दागर्दै अदालतले त्यसलाई उनीमाथिको अभियोगको प्रमाणको रूपमा नलिई सफाइको रूपमा महिला नै दोषी हुन् भन्ने कोणबाट व्याख्या गरेको छ।

केपी ढुंगाना


काठमाडौँ : आफ्नी अनुयायीलाई करकापमा पारेर बलात्कार गरेको आरोपबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक भयो। 

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासबाट २०७७ मङ्सिर २२ मा भएको फैसलाको ७५ पृष्ठको पूर्णपाठ जसरी पनि गिरीलाई निर्दोष ठहर गर्न केन्द्रित भएको देखिन्छ। 

पूर्णपाठमा उल्लेखित तथ्य, प्रमाण र अदालतको इजलासले गरेको व्याख्या जसरी पनि सो घटना बलात्कार नभई उमेर पुगेका महिला पुरुषबिच सहमतिमा भएको यौन सम्बन्धको रूपमा पुष्टि गर्ने प्रयास गरिएको छ।

यो घटना दुवैको सहमतिमा भएको तर पछि महिलाको श्रीमानले मेसेन्जर हेरेर चाल पाएपछि अर्को मोड लिएको भन्नेमै केन्द्रित छ। यदि यो फैसला बलात्कारको घटनामा नजिर बन्ने हो भने भोलिका धेरै बलात्कारका घटना प्रभावित हुने देखिन्छ। 

पूर्ण पाठमा टेकिएका आधार र प्रमाणको व्याख्या हेर्दा इजलास पिडकप्रति अति उदार देखिन्छ। महिलाको हरेक दाबीमा शङ्का र गिरीको हरेक दाबीमा समर्थन देखियो। कतिसम्म भने गिरीले अदालतमा गरेको झुटो बयानलाई समेत‘बाध्यताको रूपमा’ व्याख्या गरेको छ अदालतले। 

पूर्ण पाठमा लेखिएको छ ‘प्रतिवादीले जाहेरीवालको मोबाइलमा एसएमएस पठाउनु, पीडितले तुरुन्तै फेसबुक मेसेन्जर कल गर्नु, तुरुन्तै आश्रमभित्र एक्लै जानु, कुनै पनि आवाज ननिकाल्नु, घटना घटेपछि कुनै पनि प्रतिक्रिया नदिई गुरुकुटी आश्रमदेखि महिला बस्ने गरेको कोठासम्मको दुरी ६ सय २३ फिट वर आएर सोही आश्रमको परिसरमा सोही राती र भोलिपल्ट पनि त्यहाँ बस्नु, फेसबुक मेसेन्जरमा घटना घटेपछि सन्देश पठाउनु, पतिलाई ढाँटेर प्रतिवादीसँग निरन्तर सम्पर्कमा रहनुबाट जाहेरवाली आफ्नो कर्तुत लुकाउन स्वयम् उद्धृत रहेको भन्ने देखिन्छ।’

सहमतिमा सम्बन्ध भएको पुष्टिका लागि अदालतले गरेको व्याख्यामा ‘जाहेरवाली र प्रतिवादी पूर्ण रूपमा स्वस्थ एवं सक्षम रहेको र आफूले गरेको काम एवं परिणामको बारेमा स्पष्ट रूपमा थाहा जानकारी पाउने अवस्थामा रहँदा रहँदै निजहरू बिच रातको १२ बजेको समयमा जाहेरवाली आफैँ प्रतिवादीको बैठक कक्षमा गई स्वेच्छाले शारीरिक सम्पर्क भएको देखिएको हुँदा त्यस्तो कार्यमा जाहेरवालीको मन्जुरी नरहेको भनी भन्न मिल्ने अवस्था देखिँदैन।’

यसलाई थप पुष्टि गर्न अदालतले ‘पीडितको उमेर २९ वर्षको भन्ने जाहेरीमा उल्लेख भए पनि बयानमा ४६ उल्लेख गरिएकाले उमेर पुगेका महिला र पुरुषबिच सहमतिमा नै यौन सम्पर्क भएको भन्ने देखिन्छ’ भनेको छ। 

अदालतले गिरीले घटनापछि महिलासँग गरेको संवादको अडियो रेकर्डलाई प्रमाणको रूपमा स्वीकार गरेको छ। ‘म बाट एक पटक गल्ती भयो, माफ पाउँ। अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिङ्ग नै काटेर फालिदिन्छु’ भन्ने गिरीको संवाद उसैको हो भनेर स्वीकार गरेको अदालतले यसलाई बलात्कार गरेकोमा माफी नमागी घटना बाहिर आए मात्र पनि उनमा गम्भीर असर पर्ने भन्दै त्यही भएर माफी मागेको र गिरीका अनुयायीहरूले पीडितलाई भेटेर घटना बाहिर नल्याउन भनेको, तर जाहेरवालाले घटनालाई अतिरञ्जित रूपमा करणीको आभास दिई योजनाबद्ध रूपमा ल्याउन लागिपरेको व्याख्या गरेको छ।

गिरीको झुटलाई छुट, महिलाको सूक्ष्म विश्लेषण

प्रहरी होस् या अदालत कतै पनि गिरीले महिलासँग यौन सम्बन्ध भएको स्वीकार गरेका छैनन्। उनले सबैतिरको बयानमा आफू ब्रह्मचारी भएको, महिलालाई छुन समेत नछुने भन्दै दाबी गरेका छन्। उनले मोबाइल पनि नबोक्ने, महिलासँग फोनमा कुरा पनि नगरेको, मेसेन्जरमा सन्देश आफूले नभई अनुयायीले पठाएको दाबी गरेका छन्।

उनले बयानमा भनेका छन् ‘म बौद्धिक सनातनी रामानन्दीय श्री वैष्णव सम्प्रदायअन्तर्गत दीक्षित अवाल ब्रह्मचारी वैष्णव सन्न्यासी भई फोन तथा सामाजिक सञ्जाल समेत प्रयोग नगरेको, मोबाइल मेरो शिष्यहरूले चलाई पाशुपत सिद्ध महायोग नामक फेसबुक पेज चलाउने गरेको। महिलालाई व्यक्तिगत रूपमा भेटेको छैन।  एक वर्षदेखि निरन्तर म्यासेज गर्ने गरेको। शिष्य र भक्तजनको आग्रहले जाहेरवालीसँग मैले फोनमा वार्तालाप गरेको हुँ करणी गरेको छैन।’

उनको अर्को दाबी यस्तो छ ‘म साधु भएकाले स्त्रीले पकाएको खाना र स्त्रीहरूलाई मेरो चरण स्पर्श समेत गर्न दिन्न। जाहेरीमा उल्लेखित म्यासेज, फोन कल , लगायतका जवर्जस्ती करणीका सम्पूर्ण ब्यहोरा झुटो हो । मेरो मिसन तुहाउन षड्यन्त्र भएको हो।’

अदालतको व्याख्यामा उनका यी सबै दाबी झुटो हो भनेर स्वीकार गरिएको छ। पहिलो गिरीले महिलालाई भेट्दै नभेटेको दाबी अदालतले अस्वीकार गर्दै पीडित महिलाले जाहेरीमा उल्लेख गरेको दिन र समयमा आश्रममा दुबैबिच यौन सम्बन्ध भएको उल्लेख गरेको छ। 

पूर्ण फैसलामा लेखिएको छ ‘ निजहरू बिच रातको १२ बजेको समयमा जाहेरवाली आफैँ प्रतिवादीको बैठक कक्षमा गई स्वेच्छाले शारीरिक सम्पर्क भएको देखिएको।’

अदालतले माफी माग्नै गरेको गिरीको अडियो रेकर्ड, सिडी, मेसेन्जरको कुराकानी र एसएमएसलाई प्रमाणको रूपमा ग्रहण गरेको छ। गिरीले बयानमा आफूले मोबाइल प्रयोग नगर्ने, अनुयायीले प्रयोग गर्ने दाबी गरे पनि अदालतले भनेको छ‘ एक फोटोमा गिरीको हातमा मोबाइल समेत रहेकाले उनले मोबाइल प्रयोग नगर्ने भन्ने दाबी विश्वसनीय देखिएन।’

गिरीले दिएको बयान झुटो भएको स्वीकार गर्दागर्दै अदालतले त्यसलाई उनीमाथिको अभियोगको प्रमाणको रूपमा नलिई सफाइको रूपमा महिला नै दोषी हुन् भन्ने कोणबाट व्याख्या गरेको छ। 

म्यासेजलाई प्रमाणको रूपमा ग्रहण गरेको अदालतले ‘ पहिला भक्ति भाव, बिस्तारै यौन चाहना राख्ने गरेको व्याख्या गर्‍यो। सन्देशबाट उनले माया प्रेम गर्ने गरेको देखिएको तथा पति र ससाना सन्ततिप्रति दायित्व र जिम्मेवारीलाई बिर्सिएर बिवाहेत्तर सम्बन्ध बनाउन आतुर भएको स्पष्ट देखिएको’ उल्लेख छ।

‘प्रारम्भमा जाहेरीकर्ताको आग्रहलाई गिरीबाट अस्वीकार भएको तर अनुनय विनय गरेपछि तृष्णाजन्य कार्य र इच्छा र चाहना देखाएपछि प्रतिवादीले पनि त्यसमा मौन स्वीकृतिको भाव प्रकट गरेको संवादमा देखियो’ फैसलाको पूर्ण पाठमा उल्लेख छ‘ जाहेरीकर्ताको तुलनामा प्रतिवादीबाट प्रेषित भएका संवादहरू यसमा दिशामा नगण्य र न्यून रहेको देखियो।’

गिरीलाई घटनाबाट छुटकारा दिलाउन फैसलामा व्याख्या गरियो‘ जाहेरीवाली स्वयम्ले भावनात्मक हिसाबले प्रतिवादीमा समर्पित भई यस्ता आपसी प्रेममय संवाद प्रेषित गरेको देखिँदा यी जाहेरवाली प्रतिवादीसँग मनमनै एकाकार भइसकेको र सशरिर पनि प्रतिवादीको समीपमा रहन बस्न चाहेको स्पष्ट देखिन्छ।’

अगाडि भनियो‘ घटनापछि पठाएको सन्देशबाट सो शारीरिक सम्पर्कको अवस्था वा घटनालाई सहज रूपमा लिँदै अझै थप सम्बन्ध राख्न चाहेको भन्ने भाव प्रकट गरेको देखिन्छ।  निजको मन्जुरी बेगर प्रतिवादीबाट कुनै कार्य भएको भन्ने देखिँदैन।’

घटनापछि गिरी टाढिन खोजेको तर महिलाले धम्क्याउन थालेको भन्दै फैसलामा सफाइका आधार टेक्न यस्ता आधार लिएको देखियो :

–प्रतिवादीले जाहेरीवालको मोबाइलमा एसएमएस पठाउनु ।

–महिलाले तुरुन्तै फेसबुक मेसेन्जर कल गर्नु र तुरुन्तै आश्रमभित्र एक्लै जानु ।

–कुनै पनि आवाज ननिकाल्नु, घटना घटेपछि कुनै पनि प्रतिक्रिया नदिई गुरु कुटी आश्रमदेखि महिला बस्ने गरेको कोठासम्मको दुरी ६ सय २३ फिट वर आएर सोही आश्रमको परिसरमा सोही राती र भोलिपल्ट पनि त्यहाँ बस्न ।

–फेसबुक मेसेन्जरमा घटना घटेपछि सन्देश पठाउनु, पतिलाई ढाँटेर प्रतिवादीसँग निरन्तर सम्पर्कमा रहनु ।

यी आधार टेक्दै न्यायाधीशले फैसला गरे‘ यसबाट जाहेरवाली आफ्नो कर्तुत लुकाउन स्वयम् उद्धृत रहेको भन्ने देखिन्छ। जाहेरवाली र प्रतिवादी पूर्ण रूपमा स्वस्थ एवं सक्षम रहेको र आफूले गरेको काम एवं परिणामको बारेमा स्पष्ट रूपमा थाहा जानकारी पाउने अवस्थामा रहँदा रहँदै निजहरू बिच रातको १२ बजेको समयमा जाहेरवाली आफैँ प्रतिवादीको बैठक कक्षमा गई स्वेच्छाले शारीरिक सम्पर्क भएको देखिएको हुँदा त्यस्तो कार्यमा जाहेरवालीको मन्जुरी नरहेको भनी भन्न मिल्ने अवस्था देखिँदैन।’

करकाप हैन सहमतिमा

महिलाले बयानमा गिरीले ‘मेरो कुटीमा भेट्न आउँ भनेको र  भेट्न जाँदा जवर्जस्ती करणी गरेको, करणीपछि यो कुरा बाहिर कसैलाई नभन्नु, यदि भनेमा अनिष्ट हुन्छ भनेर डर देखाएको’ बयान दिएकी छिन्।

‘कसैले मन्जुरी नलिई करणी गरेमा, करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई मन्जुरी नमानिले’ मुलुकी अपराध संहिता २०७४ मा रहेको दफा उल्लेख गरे पनि ‘जाहेरीकर्ताले मौकामा हारगुहार नगरेको र घटनाबारे अन्यलाई बताउनु पर्नेमा सो नगरेको,रुदैं कोठामा गएको भनिएकोमा रातको सन्नाटामा रोएको अरूले सुन्नुपर्नेमा एक जना पनि साक्षी नरहेको’ भन्दै काटेको छ।

उसले गिरीले माफी मागेको ‘अडियो को आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग सम्पर्क नभएको भए त्यसरी माफी मागी बोल्नुपर्ने अवस्था नभएको’ भन्दै ‘वारदातको राती यौन सम्पर्क भएको तथ्य स्थापित हुन्छ’ भनेको छ।

तर त्यो करकाप नभई सहमतिमा भएको पुष्टिका लागि व्याख्या गर्दै भनेको छ :

‘श्रीमानले म्यासेज देखेपछि बाध्यात्मक रूपमा जाहेरी दिएको भन्ने देखिन्छ। यसरी आफ्नो पतिले मेसेन्जर हेरेपछि उत्पन्न परिस्थितिका कारणबाट सोचविचार गरी जाहेरी परेको भन्ने देखिएकाले त्यस्तो प्रमाणमा सतर्कता लिनुपर्ने हुन्छ।’

यसलाई बल पूर्याउन अदालतले नेपाल सरकारविरुद्ध गोपाल राना भएको मुद्दामा ‘जबरजस्ती करणी मुद्रामा पीडितको कागज ब्यहोरा, सबुतको रूपमा रहने भए तापनि अकाट्य प्रमाणको रूपमा भने लिन मिल्ने अवस्था हुँदैन’ भन्ने नजिर समातेको छ।

स्वास्थ्य परीक्षणको प्रतिवेदन व्याख्याबाट काटियो

‘जाहेरकर्ताको दाबी प्रतिवादीले इन्कार गरेको अवस्थामा जबरजस्ती करणी भएको हो होइन भन्ने तथ्यको यकिन गर्न मिसिल संलग्न अन्य सम्बद्ध प्रमाणतर्फ दृष्टिगोचर गर्नुपर्ने हुन आएको’ भन्दै उसले स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत स्वीकार गरेको देखियो।

२०७६ कात्तिक ४ गते राती भएको भनिएको घटनाको सम्बन्धमा २०७६ माघ ११ मा ३८ दिन व्यतीत भएपछि जाहेरी दर्ता गराएको, । जाहेरीपछि मात्र शारीरिक परीक्षण भएको , ज्यादै नै विलम्ब गरेर भएको शारीरिक परीक्षण प्रतिवेदनमा हाइमेनल टिस्यु नभएको र ताजा कुनै चोट पटक नदेखिएको उल्लेख भएको विश्लेषण गर्दै स्वास्थ्य परीक्षण प्रतिवेदनलाई आफू अनुकूल व्याख्या गरेको छ।

‘जाहेरवाली विवाहित भएको र सन्तान समेत जन्माई सकेकी र निजको उमेर २९ वर्षको भन्ने देखिन्छ। सन्तान जन्माइसकेकी कन्या जालीमा निको भएको देखिनु नौलो हुँदैन। यौनाङ्गमा र शरीरमा कुनै ताजा घाउ चोट नदेखिएकाले जवर्जस्ती करणीका कुनै चिन्ह वा दाग रहेको भन्ने शारीरिक परीक्षणमा उल्लेख भएन’

बयानमा महिलाले बलात्कृत भएको प्रमाणको रूपमा गिरीको शरीरमा लागेको चोटबारे समेत जानकारी दिएकी छिन्। गिरीको स्वास्थ्य परीक्षणमा चोट रहेको समेत पुष्टि भयो। तर त्यसलाई अदालतले शङ्काको रूपमा लियो। 

‘प्रतिवादीको शारीरिक परीक्षणमा घुँडामा खत रहेको तर सो नयाँ हो कि पुरानो हो भन्ने उल्लेख नभएको’ भन्दै इजलासले ‘जाहेरीमा घुँडामा खत रहेको भनेर उल्लेख गरेको। घटनाको दिन गोडा मालिस गर्दा घुँडाको साइडमा दाग थियो भनेर बकपत्रमा ब्यहोरा लेखाएकाले पीडितलाई सो बारे जानकारी भएको’ स्वीकार गर्‍यो।

गिरीको पक्षलाई विश्वास, श्रीमानलाई अविश्वास

आश्रममा बेलुका १२ बजेपछि घटना भएको उसको ठहर छ। बलात्कारलाई ‘गम्भीर यौन हिंसा’ स्वीकार गर्दै उसले ‘यसबाट पीडित महिलाले शारीरिकसँगै मानसिक पिडा बोध गर्दछन्’ भन्ने व्याख्या समेत गरेको छ।

तर त्यसलाई गिरीको पक्षमा देखाउन ‘त्यस्तो पिडाबाट गुज्रिएको व्यक्तिले अन्य कुरा सोचविचार गर्न नसक्नुहुँदा वारदात लगत्तै हारगुहार माग्ने, कराउनले। चिच्याउने जस्ता व्यवहार प्रकट गर्नु स्वाभाविक हुन्छ। तर त्यस्तो नभएको भन्दै गिरीलाईलाई बल पुग्ने व्याख्या गरेको छ।

गिरीको पक्षबाट बयान गर्नेले करणी गरेको हैन, फसाउन वा बदनाम गर्न खोजेको हो भन्ने बयान अनि उनको चेला प्रशान्तले घटनाको दिन गुरुसँगै आश्रमको बैठक कोठामा सुतेको, फेसबुक र मोबाइल आफूले चलाउने र म्यासेज आफूले पठाएको भन्ने दाबीलाई प्रार्थमिकतासाथ उल्लेख छ।

तर महिलाको श्रीमानले गरेको बयानलाई ‘पीडितको श्रीमान् आफ्नो श्रीमतीलाई कसैले जवर्जस्ती करणी गरेको भन्ने कुरामा विश्वस्त भएको अवस्था भए तत्काल प्रहरीमा जाहेरी दिन जानु स्वाभाविक हुनेमा उल्टै आश्रमसँग सम्बद्ध व्यक्तिहरूसँग नै पटक पटक वार्तालाप गर्न र प्रतिवादी चाइनाबाट फर्कने बेलासम्म कुर्नुपर्दाको कुनै विवेकसम्मत आधार खुलाउन सकेनन्’ भन्दै शङ्का गरेको छ।

नरम करणी र कठोर करणी

अदालतले फैसलामा जबरजस्ती करणीको घटनामा कसुरदारले गर्ने व्यवहारको आधारमा कठोर र नरम भनेर विभाजित गरेको देखिन्छ। 

‘कठोर पद्धतिमा जबरजस्ती करणीको वारदात घटाउनका लागि शारीरिक बलको प्रयोग गरिएको वा बल प्रयोग गर्ने धम्की दिएको हुने र यो पद्धतिलाई आवेगशील पनि मानिने’ उल्लेख छ।

‘यौनको आवेगमा आई पीडितलाई नियन्त्रणमा लिन निज उपर कुटपिट लगायतका हिंश्रक व्यवहार गरी वा शक्तिको आडमा धम्की, डर, त्रास वा हिंश्रक कार्यको दबाब दिई पीडितलाई शिथिल बनाएर वा शारीरिक सम्पर्कका लागि विवश भनाई करणी गरेको हुन्छ।’

यो व्याख्या पनि गिरीलाई सफाइ दिने उद्देश्यले नै गरिएको देखियो। अदालतले ‘जाहेरीवालालाई अपहरण गरी वा शरीर बन्धकमा लिई वा होस ठेगानामा नरहेको अवस्थामा पारी जबरजस्ती करणी गरेको भन्ने निजको भनाइ रहेको छैन’ भन्दै गिरीको प्रमाण बनाइयो।

डर त्रास र अनुचित प्रभावमा पारेर प्रतिवादीले जवर्जस्ती करणी गरेको र प्रतिवादीको हैसियत र समाजमा रहेको प्रभावका कारण तत्काल घटना बाहिर ल्याउन नसकेको भन्ने आशयको जाहेरवालीको भनाई रहेको’ उल्लेख छ।

त्यसलाई काट्न अदालतले ‘सिद्ध बाबा भनिने प्रतिवादीले ठुलो आश्रम चलाई बसेको, हजारौँ अनुयायी रहेको भन्ने तथ्य मिसिलमा उजागर भएको, जाहेरवाली स्वयम् पनि प्रतिवादीले अघि सारेको धार्मिक मान्यताको भक्त वा अनुयायी भएको उनीहरूबिच गुरु शिष्यको सम्बन्ध रहेको’ उल्लेख गरेको छ।

यसैलाई थप व्याख्या गर्दै फैसलामा लेखियो ‘ जाहेरवाली र प्रतिवादीबिच आदान–प्रदान भएको म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग  दाबी बमोजिम जवर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन।’

यो करणी नै हैन भन्न अदालतले थप व्याख्या गर्दै भनेको छ : जाहेरवाली शारीरिक परीक्षणबाट निज उपर जवर्जस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा रहेकी,  उनले लामो समयदेखि विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनय अनुरूप जाहेरवालीलाई भेटेको र भेटमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बिच सहमतिमा भएको भन्ने देखियो।’

उसले निष्कर्ष दियो :‘अत सहमतिमा भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादी उपरको अभियोग स्थापित हुन आएन।’

गिरीलाई शङ्काको सुविधा

फैसलाले गिरीलाई अप्ठ्यारो पर्न सक्ने पक्षतिर केन्द्रित भएको देखिएन। उसलाई अदालतले प्रशस्त शङ्काको सुविधा दिएको फैसलाको पूर्ण पाठले नै देखाउँछ। 

अदालतले सो दिन दुवै बिच शारीरिक सम्बन्ध भएको पुष्टि गरे पनि गिरीले आफ्नो बयानमा यो स्वीकारै गरेका छैनन्। 

उनले बयानमा ‘महिलालाई व्यक्तिगत रूपमा नभेटेको, त्रिदण्ड धारण गरेको साधु सन्वासी भएकाले अग्नि र स्त्रीलाई स्पर्श समेत गर्न नहुने भन्दै करणी गरेको मिथ्या आरोप भएको दाबी गर्दै फोनमा कुरा गरेको विषयमा ‘ उनले एकोहोरो म्यासेज गरेको र शिष्य, भक्तजनहरूको आग्रहले गर्दा निज जाहेरीवालीसँग फोनमा वार्तालाप गरेको हुँ’ भनेका छन्।

उनले किन झुट बोले ? अदालतले त्यसलाई महिलासँग सहमतिमै सम्बन्ध भएको भए पनि सो बाहिर आए ख्यातिमा प्रभाव पर्ने भएकाले झुट बोलेको भन्दै आफैँ व्याख्या गरेको छ। जबकि अदालतमा प्रमाण हुँदाहुँदै ठाँट्नु पनि अपराध हो।

‘धाक धम्की दिई थप्पड हानेर बोल्न कराउन नदिई, अँगालोमा बाँधी, जवर्जस्ती उचाली कोठामा रहेको सोफामा लगेर पल्टाई, मैले लगाएको कुर्था सुरुवाल जवर्जस्ती खोलेर मलाई बन्द कोठाभित्र थुनेर जवर्जस्ती करणी गरेको’ भन्ने महिलाको बयानलाई पत्यारै गरेन अदालतले। शङ्काले मात्र हेर्‍यो यो बयान।

यस्तो अवस्था हुनसक्छ कि सक्दैन भन्ने व्याख्यालाई उसले घटना अगाडि र घटना पछाडि महिलाले पठाएको सन्देशलाई आधार बनायो।

जबकि काठमाडौँको ठमेलमा एक होटेल सञ्चालकविरुद्ध एक विदेशी महिलाले दिएको बलात्कारको उजुरीमा‘पहिला यौन सम्बन्धका लागि सहमति भएको हो तर सम्बन्ध राख्नु अगाडि केटासँग कन्डम नभएपछि आफूले हुन्न भन्दा जवर्जस्ती गरेको’ बयानलाई समेत अदालतले स्वीकार गरेको थियो।

गिरीले दिएको ‘मोबाइल नबोक्ने, सामाजिक सञ्जाल प्रयोग नगर्ने, मोबाइल शिष्यले मात्र बोक्ने, कात्तिक ४ गते बेलुका ८ बजेदेखि साढे १० बजेसम्म सत्सगं गरेको अनि अनि प्रधान उत्तराधिकारी, उत्तराधिकारी र सेवकसँग छलफल गरेर राती साढे १ बजेपछि सुत्न गएको’ बयान पनि झुटो ठहरियो अदालतकै व्याख्यामा ।

पीडितसँग गिरीले माफी मागेको रेकर्डको आवाज परीक्षणमा ७६ प्रतिशतसम्म उनको आवाजसँग मिल्यो अदालतले पनि उनकै आवाज हो भन्यो। तर सहमतिमै सम्बन्ध राखेको हो भने किन माफी मागेको ? किन लिङ नै काट्छु भनेको भन्नेतर्फ ध्यानै दिएको देखिएन।

जबकि प्रारम्भमा जिल्ला अदालतबाट २०७६ पुस १४ मा तीन लाख  धरौटीमा छाड्ने आदेशविरुद्ध आएको पुनरावेदनमा उच्च अदालत विराटनगरले ‘पीडितले भनेरै गिरीको घुँडामा कालो दाग रहेको, मैले मौका दिँदा किन चुप भन्ने म्यासेज, श्रीमानको बयान, २०७६ मङ्सिर १३ मा गिरीले पीडितसँग ‘म बाट एक पटक गल्ती भयो, माफ पाउँ। अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिगं नै काटेर फालिदिन्छु’ भनेको अडियो रेकर्ड र  रञ्जन पौडेल र भोला बरालले पीडित र गिरीको कुरा भएको स्विकारेको बयानलाई आधार बनाउँदै धरौटी रुद्ध गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

ठहर खण्डमा गिरी पक्ष हाबी

पूर्ण फैसलाको ठहर खण्डमा वादी र प्रतिवादीको पक्षबाट बहसकर्ताहरूले गरेको बहसमा गिरीको पक्षका कानुनी सहयोगीको मात्र उल्लेख छ। वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, हेमराज पोखरेल, अधिवक्ता सरोजकुमार गिरीले उनी निर्दोष दाबी गरेको बहस अंश उल्लेख छ। तर पीडितको तर्फबाट भएको बहस नै छैन। किनभने पीडितको तर्फबाट सरकारी पक्षले सो दिन बहसको मौका नै पाएनन्।

एकतर्फी बहसलाई आधार मान्दै न्यायाधीश अर्जुनप्रसाद कोइरालाले फैसला गरे‘ अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दाबी स्थापित हुन आएन। तसर्थ प्रतिवादी सिद्ध बाबा रामकृष्णचार्य वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ।’

०००

७५ पेज धेरै पटक पढ्दा निष्कर्ष निकाले यदि यो फैसला अदालतको माथिल्ला निकायबाट पुनरावलोकन नहुने हो र यसलाई भोलिका दिनमा बलात्कार घटनाको न्यायिक निरूपणमा नजिर मान्ने हो भने बलात्कारमा जोडिएका धेरै घटनाका अभियुक्त कानुनी कठघरा बाहिरै रहनेछन्। मिसिल नआइपुग्दा बहसमा जान सकिएन भन्ने सरकारी पक्षको तर्क उत्तिकै शङ्कास्पद छ नै। तर उनीहरूले यो फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनमा जाने बताइरहेका छन्। पुनरावेदनमा गए उच्च हुँदै सर्वोच्चसम्मको व्याख्या बलात्कार घटनामा लिइने प्रमाण, वादी र प्रतिवादीमा कसले कति शङ्काको सुविधा पाउने त्यसबारे पक्कै नजिर बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

निर्मलाले न्याय नपाएको ३ वर्ष :   अब त आमालाई आस पनि छैन

के-के भएन र यो बिचमा। दोषीको पक्राउको माग गर्दै कञ्चनपुरदेखि काठमाडौँसम्मका सडकदेखि सदनसम्म तात्यो। छानबिन समिति बन्यो। पटक-पटक आरोपी भन्दै विभिन्न व्यक्ति पक्राउ परे र....

सम्बन्धन नपाएका विद्यालयलाई प्रदेश २ सरकारको २४ करोड अनुदान

तर, सम्बन्धन स्वीकृति र जनशक्ति व्यवस्थापनको सुनिश्चितता नभई प्रदेश सरकारले प्रदेशका ४८ विद्यालयलाई आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ मा जनही ५० लाख (पहिलो र दोस्रो....

हेटौंडा कपडा उद्योग- ८ : काठमाडौंमा घुमेर प्रतिवेदन बनाइयो, त्यो पनि मन्त्रालयमै अलप

समितिलाई रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने कार्र्यादेश दिइएको थियो। समितिले हेटौंडा कपडा उद्योग लगायत देशभरका रुग्ण उद्योगबारे प्रतिवेदन....

कान्ति हराएको मेलम्ची : फर्किएला रौनक ?, फेरि बन्ला व्यापारिक हब ?

हरेक बर्खामा आउने बाढीकै स्वरुपमा सुरु भएको बाढीले विस्तारै लेदो पनि बोकेर ल्यायो। र, मेलम्ची नगरपालिका वडा नम्बर ६, ७, ९, १०, ११ र १२....

ट्रमा-वीर छानविन प्रतिवेदन : ट्रमाको तथ्यभन्दा प्रशंसा बढी, वीरको छानविन अख्तियारले गरोस्

ट्रमा र वीरमा भएको अनियमितताबारे उकेराले श्रृंखलावद्ध समाचार प्रकाशित गरेको थियो। दुवै अस्पतालका जिम्मेवार अधिकारीले गरेका बदमासी उजागर भएपछि मन्त्रालयले छानविनका लागि समिति गठन गरेको....