बुर्जुवा शिक्षामा भविष्य खोज्दै पूर्वलडाकुका सन्तान 

बुर्जुवा शिक्षामा भविष्य खोज्दै पूर्वलडाकुका सन्तान 

जनवादी शिक्षा लागु गर्ने लडाइमा आमा गुमाएका अभिषेक बुर्जुवा शिक्षामै भविष्य खोजिरहेका छन्। अभिषेक अहिले कक्षा ९ मा अध्ययनरत छन्।

‘आमाको माया नपाई बाल्यकाल बित्यो, साथीहरूका आमाले गरेको माया देखेर आफ्नी आमा भएको भए भनेर सम्झना आउँछ’ उनी भन्छन्। 

‘बुबाको आर्थिक अवस्था कमजोर छ, उच्च शिक्षा पढाउन सक्ने क्षमता छैन,’ उनी भन्छन्, ‘खान लाउनै धौधौ पर्ने अवस्थाका कारण भविष्यबारे चिन्तित छु।’

अभिषेकको चाहना इन्जिनियर बन्ने छ। ‘१० कक्षासम्म त निःशुल्क पढ्न पाइन्छ त्यसपछिको शिक्षा कहाँबाट खर्च जुटाएर लिने होला?’ उनी प्रश्न गर्छन्। 

कक्षा ९ कै जेहेन्दार छात्रा हुन सुस्मीता लिम्बु। उनका बुबाको पनि युद्धकै क्रममा मृत्यु भयो। बुबा गुमाएको खास सम्झना नभए पनि अहिले सुन्दा निकै नराम्रो मान्छिन् उनी । त्यही साइनोले सहिद विद्यालयमा पढ्नै मौका पाएकी छिन् उनले। घरको आर्थिक अवस्था कमजोर भएकाले उनकी आमा वैदेशिक रोजगारीमा छिन्। 

सुम्मीता र अभिषेक श्री सहिद स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत छन्। बुर्जुवा शिक्षाको विरुद्धमा लडेको तत्कालीन माओवादी लडाकुका सन्तानले भने जनवादी शिक्षाको सुईको पनि पाउन सकेनन्। उनीहरूका लागि सहारा बनेको छ सहिद स्मृति विद्यालय। नेपालभरि यस्ता विद्यालय ५ वटा सञ्चालनमा छन्। 

विद्यालयको स्थापना कालदेखिकै शिक्षिका हुन् रिता फुयाँल। सहिद परिवारकी सदस्य उनका बुबा जनवादी शिक्षाका योद्धा हुन्। जनवादी शिक्षाकै लागि युद्धरत अवस्थामा उनका बुबाले बलिदान दिए। तर उनी अहिले त्यही शिक्षा प्रणाली मार्फत ज्योति फैल्याउने अभियानमा छिन्। 

अहिले उनी बाबुआमा गुमाएका विद्यार्थीको अभिभावक हुनुमा गर्भ गर्छिन्। सशस्त्र युद्धलाई नजिकबाट नियालेकी उनी युद्धले धेरै सामाजिक परिवर्तन गरेको बताउँछिन्। जनवादी शिक्षाको माग भए पनि बुर्जुवा शिक्षा बाध्यता भएको उनको तर्क छ। उनले भनिन्, ‘नेपालको शिक्षा पद्धति कामयाबी भएको छ छैन भन्ने कुरा अझै बहसकै विषय हो।’ 

युद्धमा अभिभावक गुमाएका छोराछोरीका लागी भनेर खोलिएका विद्यालयमा अहिले आफन्तहरूले समेत ठाउँ पाउन थालेका छन्। सुरुमा ८६ जनाबाट सुरु भएको विद्यालयमा अहिले ५ सयको हाराहारीमा विद्यार्थी छन्। 

राज्य र युद्धरत दुवैतर्फका पीडित अहिले सहिद स्कुलमा अध्ययनरत छन्। द्वन्द्व पीडित बालबालिकालाई एक्लोपन महसुस हुन नदिन विद्यालयले विभिन्न रचनात्मक काम गर्ने गरेको प्रधानाध्यापक शिवचन्द्र राई बताउँछन्।

१ फागुन, २०७७, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।