भद्रकालीको प्रश्न : बलात्कार शब्द किन यति सस्तो ?

भद्रकालीको प्रश्न : बलात्कार शब्द किन यति सस्तो ?

काठमाडौं : ‘किशोरीको’ लास बोकेका मलामी । अघि अघि शंख र चामल छर्ने युवा ।यो यात्रा अघि बढ्यो बसन्तपुरबाट रत्नपार्क हुँदै सिंहदरबारको लागि । अलि पछाडि लेखक तथा सामाजिक अभियन्ताहरूको जुलुस ।

‘बलात्कारीलाई कारबाही गर’, ‘प्रतिगमन मुर्दावाद’ ‘ए सुन्नुस् त मैले श्वास फेर्न कसको सिफारिस लिनुपर्छ’ भनेर नारा लगाइएका थिए ।
आन्दोलनको नेतृत्व मोहन अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता शाह, प्रकृति भट्टराई बस्नेत र रिता परियारलगायतले मार्च पासको अगुवाइ गरेका थिए।
सिंहदरबारको लागि ताकिएर हिँडेको जुलुसलाई नेपाल प्रहरीले भद्रकालीमा नै रोक्यो । उनीहरू अडिए । जबरजस्ती गरेनन् । त्यही भद्रकालीको मन्दिर पछाडि कोण सभा भयो । कोण सभामा शिल्पी थिएटरले नाटक देखायो भने राजनीतिक अभियन्ता प्रकृति भट्टराईको समूहले ‘बलात्कारी होस् त’ भन्दै मार्च पास देखायो ।

'माई भजाइना योर भजाइना विल भोट यु आउट'
अभियन्ता हिमा विष्टले सरकारले नागरिकको सुरक्षा दिन नसकेको बताउँदै भनिन् ‘आज आएको समाचारमा पाँच हजार ७ सय ३५ जना बलात्कृत भएको समाचार छ । निर्मला पन्त बलात्कार हुँदादेखि भागरथी भट्ट बलात्कृत भएर हत्या हुँदासम्म गृहमन्त्री प्रधानमन्त्री उही छन् । उनीहरूलाई यो कुराले पोलेको छैन । न्याय हामीले पाएका छैनौँ ।

उनले भनिन्  ‘उनीहरूलाई हाम्रो कुराले  केही फरक पारेको छैन । गाउँ गाउँ बाट कराइरहेका छौँ । बालुवाटारलाई फरक पर्दैन। हामीलाई मात्रै फरक पर्छ ।’

उनी यतिकैमा रोकिनन् ‘मेरो शब्द तिर नजानु म भन्न चाहन्छु माई योर भजाइना विल भोट यु’ जब उनले यो भनाइ भनिन् मास जुरुक्क भएको थियो ।

बिस्टले भर्खरै अध्यागमन विभागले  ४० वर्ष मुनीको महिलालाई विदेश जान वडाको र परिवारले अनुमति दिएको पत्र चाहिने प्रस्ताव तिर इङ्गित गर्दै के अब सन्तान जन्माउन पनि वडाको सिफारिस चाहिने हो’ भन्दै प्रश्न गरिन् ।

कार्यक्रममा नेपाल भाषा कवि  रजनी मिलाले  आफूहरूको  कसैको भेडा नभएको बताउँदै प्रतिगमनका विरुद्ध र बलात्कारका विरुद्ध आन्दोलन गरिएको बताइन् ।

राष्ट्रपति विद्या भण्डारी महिला भए पनि  बलात्कार,हत्या हिंसा हुँदा एक शब्द नबोलेको भन्दै भण्डारीको राजीनामा मागिन् ।

‘राष्ट्रपति महिला हुनुहुन्छ । उहाँ राष्ट्रपति हुँदा हामी खुसी भएका थियौँ,'  मिलाले भनिन् ‘उहाँ राष्ट्रपति भए पनि नभए पनि कुनै अर्थ भएन कठपुतली हुनुभयो । उहाँले राजीनामा दिए हुन्छ ।’
लेखक डा. अर्चना थापाले प्रधानमन्त्रीले महिला बोल्दा ट्याउँट्याउँ भन्ने गरे पनि आफूहरू ट्याउँट्याउँ गर्न नछाड्ने बताइन् ।

‘महिला उभिएर बोल्न थाल्यो भने हाम्रो सरकारले त्यसलाई ट्याउँ–ट्याउँ भन्छ । के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौँ ?’उनले भनिन् ‘प्रधानमन्त्रीज्यूलाई हामी बोलेको ट्याउँ–ट्याउँ लाग्न सक्छ । हामी त्यही ट्याउँ–ट्याउँ अर्थ नै बुझाउन चाहन्छौँ । यो आवाज निभ्न नदिउन् ।’

उखान, तुक्का बोली, शब्द र सङ्केतले पनि हिंसाको कारण हुन सक्ने उनको भनाइ छ ।

सरकारले संसद् विघटन गरेपछि विरोध गर्नेहरूले बलात्कार भयो ,चीरहरण भयो भन्ने शब्दहरू प्रयोग गर्न नहुने र सञ्चारकर्मीलाई बलात्कृतको फोटो खिच्दा कमजोर देखाउने गरेको भन्दै यस्तो फाटो नखिच्न आग्रह गरिन् ।

त्यस्तै मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले नेताहरूले बाटो बिराइसकेकाले युवाहरूले बाटो देखाउनु पर्ने बेला आएको बताइन्  ।

अन्सारीले केही समय अघि गृहमन्त्री राम बहादुर थापा बादलले पुँजी बादले बलात्कार बढाएको भन्ने भनाइलाई इङ्गित गर्दै समाजबादउन्मुख संविधानमा लेखिए पनि बलात्कार किन बढेको भन्ने प्रश्न गरिन् ।

‘पुँजीवादले बलात्कार बढेको भन्नेहरूले हामीलाई जवाफ दिउन्,’ अन्सारीले भनिन्,  ‘समाजवाद संविधानमा लेखिएको छ तर किन बलात्कार बढेको छ ?’

३० माघ, २०७७, २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।