शिक्षककै सर्टिफिकेट नक्कली !

शिक्षककै सर्टिफिकेट नक्कली !

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन हेर्ने हो भने छक्कै पार्ने एक तथ्य छ शिक्षक सम्बन्धी। अख्तियारको प्रतिवेदन उसले आर्थिक वर्ष २०७६÷७७ मा परेका उजुरी छानबिन गर्दै अदालतमा शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दा लग्यो। जसमा सबैभन्दा धेरै शिक्षक छन्।

आयोगको तिसौँ वार्षिक प्रतिवेदन अनुसार २७ जना शिक्षक÷शिक्षिकालाई झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता भयो। त्यो सूचीमा १ जना विद्यालय निरीक्षक र अर्को एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई समेत परे।

इन्जिनियर पनि कम छैनन्

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी जागिर खानेमा २१ जना इन्जिनियर,सब इन्जिनियर सहित विभिन्न प्राविधिक पद, प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक (डिएसपी) देखि जवानसम्म छन्। यस्तो सङ्ख्या ११ छ।

अन्य सरकारी कार्यालयमा कार्यरत अधिकृतदेखि कार्यालय सहयोगीसम्म गरी २७ जना नक्कली प्रमाणपत्रका भरमा कार्यरत रहँदै आएको देखिन्छ।

भारतका नक्कली प्रमाणपत्रको भर 

आयोगले दायर गरेका मुद्दामध्ये ४८ जनाले नक्कली भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेको देखिन्छ। यसरी उनीहरूले त्रिभुवन विश्वविध्यालयदेखि,विद्यालय र विभिन्न ईन्ष्टिच्युटका नक्कली प्रमाणपत्रका आधारमा विभिन्न पदमा रहेको देखिन्छ। 

२४ जनाले कक्षा ५ देखि एसएलसी तथा टेस्ट परीक्षाको नक्कली सर्टिफिकेट पेस गरेका थिए। त्यस्तै ३ जनाले नक्कली शिक्षक अध्यापन अनुमति पत्र पेस गरेका थिए। त्यस्तै नागरिकतामा जन्म मिति सच्याउने, गलत प्रमाणपत्र प्रमाणीकरण गर्ने,स्नातक तहसम्मको शैक्षिक योग्यताको नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेलाई आयोगले मुद्दा दर्ता गरेको छ। 

नियुक्ति र बढुवाको प्रयोजन

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी कार्यालय, संस्थान र शैक्षिक संस्था नियुक्ति लिन र बढुवामा सहभागी हुने गरेको आयोगको अनुसन्धानले देखाउँछ।

अनुसन्धानका क्रममा झुटा प्रमाणपत्र पेस गरेको ठहरिएकाहरूलाई भ्रष्ट्राचार निवारण ऐन,२०१७ र प्रचलित भ्रष्ट्राचार निवारण ऐन, २०५९ अनुसार भ्रष्ट्राचार मुद्दामा अधिकतम सजायको माग दाबी सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

३० माघ, २०७७, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।