कृषि क्षेत्र सुधार्न सुर्खेतमा १० करोड लगानी

कृषि क्षेत्र सुधार्न सुर्खेतमा १० करोड लगानी

सुर्खेत : कृषि उत्पादन बढाउन कर्णाली प्रदेश सरकारले १० करोड ६२ लाख लगानी गरेको छ । कृषि विकास निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा सुर्खेतमा मात्रै ४४ वटा सिँचाइ कुलो निर्माणको काम सुरु गरिएको छ।

सांसद विकास कार्यक्रम अन्तरगत सिँचाइ कुलो निर्माण गर्न लागिएको निर्देशनालयले जानकारी दियो। कुलो निर्माणका लागि सबै स्थानीय तहमा योजना छनौट भइसकेका छन् । 

निर्देशनालयका चित्रबहादुर रोकायका अनुसार केराउ, रायो जस्ता तरकारीको बिउँ उत्पादनका लागि २५ लाख, धान, मकै, गहुँ, कोदो, फापर, आलु तथा तरकारीको बिउँ उत्पादनको लागि ५५ लाख लगानीको योजना छ।

कर्णालीको ब्रान्ड निर्माणदेखि प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण गर्न १० लाख ५० हजार, अर्ग्यानिक मिसन कार्यक्रमका लागि ८५ लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा तीन करोड ८६ लाख ५० हजार रुपैयाँ लगानी गरिने भएको हो । 

कृषि व्यवसाय प्रबद्र्धनका ३५ वटा कार्यक्रमका लागि ६५ लाख, १० वटा लक्षित वर्ग विशेष कार्यक्रमका लागि एक करोड, तीन वटा व्यावसायिक बर्से फलफूल नर्सरी श्रोत केन्द्र स्थापनाका तीन वटा कार्यक्रमका लागि २१ लाख लगानी गर्न लागिएको छ । 

५० प्रतिशत सहुलियत व्यावसायिक तरकारी खेतीका ४३ वटा ठुला ग्रिन÷नेट हाउस निर्माणका लागि ३० लाख, च्याउको बिउँ उत्पादनका लागि मेसिन खरिद तथा टनेल निर्माणका लाग १५ लाख र अनुदानमा हाते ट्याक्टर÷पावर टेलर÷थ्रेसर मेसिन खरिदका लागि ३० लाख लगानी गरिने लागिएको निर्देशनालयले जनाएको छ ।

कृषि पर्यटकीय क्षेत्र निर्माण तथा पुष्प खेती सुदृढीकरणका लागि पाँच लाख, सहकारी नमुना गाउँ विकास कार्यक्रमका लागि १० लाख, गोठ तथा प्राङ्गारिक मलको स्रोत २० लाख, बन्दाबन्दी खेती प्रोत्साहन लागि ५० लाख, कृषिमा आधारित साना उद्योग स्थापना तथा सञ्चालनका लागि १० लाख र शित भण्डार तथा चिस्यान केन्द्र निर्माणका लागि ४८ लाख लगानी गरिने भएको छ । 

गरिब किसान सरकार हातेमालो कार्यक्रमका लागि १० लाख, मुख्य तथा सहायक रोड कोरिडोर तरकारी प्रबद्र्धनका लागि १० लाख, कृषि वाली वस्तुको प्रबद्र्धनका लागि १५ लाख, नमुना फलफूल पकेट क्षेत्र विकास कार्यक्रमका लागि २० लाख, कागती, सुन्तला, जुनार, किवी, ओखर, चिची, अम्बा जस्ता फलफूल खेती प्रबद्र्धनका लागि २८ लाख छुट्टाइएको छ।

दलित तथा अति विपन्न वर्ग लक्षित विशेष कार्यक्रमका लागि एक करोड, कृषि शिक्षा अध्ययन गरेका, विदेशबाट फर्केका, महिला तथा अपाङहरुलाई स्वरोजगार बनाउनका लागि ६५ लाख र अर्ग्यानिक मिसन कार्यक्रमका लागि ९७ करोड लगानी गरिने निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न हुने उल्लेखित आयोजनाको लागि अधिकांश आयोजनाहरूको काम सुरु भइसकेको निर्देशनालयको दाबी छ।

 

३० माघ, २०७७, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।