डेढ महिना अघिको फोटोमा भारतीय झण्डा राखी यसरी भाइरल बनाइयो

डेढ महिना अघिको फोटोमा भारतीय झण्डा राखी यसरी भाइरल बनाइयो

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा माघ २८ गते नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाका तस्बिरहरु विभिन्न अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शेयर गरेका छन् ।

तस्बिरहरुमध्ये जुलुसको बीचमा भारतीय झन्डा बोकेको एक तस्बिर फेसबुक, ट्वीटर लगायतका सामाजीक सञ्जालमा व्यापक रुपमा शेयर भइरहेका छ । उक्त तस्बिरकै आधारमा केही अनलाइनले समाचार पनि प्रकाशित गरेका छन् ।

जनता टाइम्स अनलाइनले ‘प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा, यसरी खुल्यो नेपालविरोधी हर्कतको रहस्य’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । तर उक्त अनलाइनले आफ्नो समाचारलाई सच्याएर “प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा !” शीर्षक राखेको छ । उसले वास्तविक तस्बिर पनि प्रकाशित गरेको छ ।

यसैगरी चक्रपथ अनलाइनले ‘प्रचण्ड–माधवको जुलुसमा भारतीय झण्डाको प्रयोग !’ शीर्षकमा उक्त फोटोसहित समाचार प्रकाशित गरेको छ ।

उक्त तस्बीर ट्वीटर र फेसबुकमा प्रयोगकर्तामाझ व्यापक शेयर भएको छ । ट्वीटरमा विशाल दत्त भट्ट (@iambishalbhatta) नामक ह्यान्डलले ‘प्रचण्ड-माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा भारतीय झण्डा बोकेर प्रधानमन्त्री केपी ओलि विरुद्ध नारा लाउने भेटिएका छन् ।’ भन्दै शेयर गरेको उक्त फोटो ४९ पटक रिट्वीट भएको छ । यसैगरी विशाल भट्टले फेसबुकमा पनि शेयर गरेको सोही क्याप्सन सहितको तस्बिर १५६ पटक शेयर भएको छ ।

माइलो (@khadga_acharya) नामक ट्वीटर ह्यान्डलबाट शेयर भएको उक्त फोटो १० पटक रिट्वीट भएको छ ।

यसैगरी गणेश बस्नेतले शेयर गरेको जनता टाइम्सको समाचारको लिङ्क ४८९ पटक शेयर भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको फेसबुकको पब्लिक ग्रुपमा धेरै प्रयोगकर्ताले उक्त तस्बिर शेयर गरेका छन् ।

उक्त तस्बिर र दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

यो तस्बिरलाई गुगल रिभर्स इमेज सर्चमा खोज्दा उक्त तस्बिर अन्नपूर्ण पोस्टमा झण्डै डेढ महिना अघि प्रकाशित भएको ‘संसद् विघटनविरुद्ध नेकपाको विरोधसभा (फोटो फिचर)’ शीर्षकको समाचारमा पाइएको छ । यो तस्बीर माघ २८ गते आयोजित विरोध सभाको नभई २०७७ पौष १४ गते संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाको तस्बीर रहेको फेला परेको छ । उमा विष्ट/सुनिता डंगोलले खिचेको अन्नपूर्ण पोस्टमा प्रकाशित तस्बीरहरुमध्ये सामाजिक सञ्जालमा आज शेयर गरिएको तस्बिर पनि समावेश छ ।

भाइरल भएको भारतीय झण्डा सहितको तस्बिरसँग हुबहु मिल्ने उक्त तस्बिरमा भारतीय झण्डा रहेको छैन । साढे एक महिना अघिको विरोध सभाको तस्बिरलाई सम्पादन गरी भारतीय झण्डा राखी भाइरल बनाइएको छ ।   

२९ माघ, २०७७, ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।