प्रेम दिवसमा कोरोनाको असर : बिकेन प्रेमको प्रतीक गुलाफ

प्रेम दिवसमा कोरोनाको असर : बिकेन प्रेमको प्रतीक गुलाफ

काठमाडौँ–पश्चिमी सभ्यता मानिने प्रेस दिवस अब लोकल भइसक्यो। ‘भ्यालेन्टाइन डे’ लाई सहज रूपमा लिइसक्यो समाजले।

फेब्रुअरी १४ मात्र हैन, त्यस अगाडिका सात दिन पनि विशेष रूपमा मनाउने क्रम सुरु भइसक्यो युवा पुस्तामाझ। अनि प्रेम अभिव्यक्त गर्न गुलाफ त चाहियो।

प्रपोज 'डे' देखि भ्यालेन्टाइन 'डे' मा पनि गुलाफको अधिक माग हुन्छ नेपाली बजारमा। कोरोनाको प्रभाव मायामा पनि पर्यो कि क्या हो, यो पाली भने गत वर्षको तुलनामा गुलाफको माग घटेको छ।

गत वर्ष २ लाख गुलाफ विक्री भएको थियो। यो वर्ष रोज ‘डे’ को दिन १ लाख गुलाफ पनि विक्री नभएको फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। ‘बजारबाट विवरण आउन त बाँकी छ,’ उनले उकेरासँग भने, ‘ तर एक लाख भन्दा बढी विक्री भएको देखिएन।’

भ्यालेन्टाइन 'डे' को सबै उपक्रममा गरेर १ लाख २० हजार गुलाफ विक्री हुने उसको अनुमान छ। फ्रेवुअरी १४ सम्म फ्यानले गरेको अनुमान अनुसार विक्री हुन सक्ने अध्यक्ष श्रेष्ठले बताए। फूलको गुणस्तर अनुसार प्रति स्टिम (डाँठसहित) ६० देखि १०० रुपैयाँ सम्म विक्री हुने गरेको छ।

निक्खर रातो गुलाफको एक सय भन्दा धेरैमा पनि विक्री भएको श्रेष्ठले जानकारी दिए। सरदर एउटा गुलाफको एक सय रुपैयाँमा विक्री गर्दा १ लाख २० हजारको १ करोड २० लाख रुपैयाँ हुन आउँछ।

अध्यक्ष श्रेष्ठका अनुसार अहिलेको अनुमानित माग धान्न ८० प्रतिशत गुलाफ बाहिरबाट आयात गर्नुपरेको छ। नेपालको उत्पादनले २० प्रतिशत माग मात्रै पूर्ति गर्ने अवस्था छ।

आयातित गुलाफ मध्ये ७० प्रतिशत काठमाडौँ उपत्यकामा खपत हुने र बाँकी बाहिरी जिल्लामा खपत हुने फ्यानले जनाएको छ।

विदेशकै भर

फ्यानका अनुसार नेपालमा माग धान्न सक्ने  उत्पादन नहुँदा गुलाफमा पनि विदेशको भर पर्नुपर्ने अवस्था छ।

बजारको मागका आधारमा २० प्रतिशत हाराहारीमा मात्रै गुलाफ नेपालमा उत्पादन हुने फ्यानका अध्यक्ष श्रेष्ठ बताउँछन्। नेपालमै व्यावसायिक खेती सुरु भए पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सकेको छैन।

नेपालमा केही क्षेत्रमा हाइटेक शैलीमा गुलाफ खेती गरे पनि अधिकांश क्षेत्रमा परम्परागत शैली कायमै रहेका कारण उत्पादन बढ्न नसकेको फ्यानका अध्यक्ष कसजुले बताए। त्यसमा पनि प्रणय दिवसको समयमा चिसो मौसम हुने हुँदा पनि गुलाफको उत्पादन घट्ने हुँदा आयात गर्नुपर्ने अवस्था आएको उनले बताए।

अरू फुलहरू जस्तो गुलाफको माग वर्षभरि नहुने हुँदा पनि गुलाफ खेती प्रति पुष्प व्यवसायिहरुको आकर्षण बढ्न नसकेको फ्यानको बुझाई छ। कोरोना भाइरसका कारण अघिल्लो वर्ष जस्तै यो वर्ष गुलाफ बिक्री हुन्छ भन्नेमा व्यवसायी ढुक्क हुन भने सकेका छैनन्।

२९ माघ, २०७७, ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।