सुस्त श्रवण विद्यालयलाई सरकारी उपेक्षा : न पर्याप्त पूर्वाधार न जनशक्ति 

सुस्त श्रवण विद्यालयलाई सरकारी उपेक्षा : न पर्याप्त पूर्वाधार न जनशक्ति 

सुर्खेत : जीर्ण भवन। खिया लागेका जस्तापाताको छानो। 

यो दृश्य हो– सुर्खेतको खजुरास्थित सिद्ध सुस्त श्रवण विद्यालयको। 

२०४५ सालमा स्थापना भएको विद्यालयको भवन हेर्दा लाग्छ– वर्षाैंदेखि मर्मतसम्भार हुन सकेको छैन। 

भवन मर्मतसम्भार नहुँदा बर्खामा कक्षाकोठामै पानी तपतप चुहिने गरेको विद्यालयकी शिक्षिका टीका ढकाल बताउँछिन्। ‘बर्खामा कक्षाकोठामै पानी चुहिँदा पठनपाठनमै समस्या हुन्छ,’ उनी भन्छिन्। 

त्यति मात्रै होइन, विद्यालयमा पठनपाठन सञ्चालनका लागि कक्षाकोठासमेत अभाव छ। 

विद्यालय स्थापना भएयता पूर्वाधार थपिएको छैन विद्यालयमा। पर्याप्त कक्षाकोठा नहुँदा एउटा कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपरेको शिक्षिका ढकालले सुनाइन्। 

भवनको अवस्थाजस्तै जनशक्ति पनि पर्याप्त छैन विद्यालयमा। विद्यालय स्थापनापछि विद्यालयको जनशक्ति पनि थपिएको छैन। जनशक्ति नथपिँदा पठनपाठनमा समस्या भएको छ। 

सोही विद्यालयमा अध्ययनरत छात्रा पविता महतराले विद्यालयमा सबै विषय पढाउने शिक्षक नभएको बताइन्।  ‘तालिमप्राप्त शिक्षक नभएको विषयको कामचलाउ पढाइ हुने गरेको छ,’ उनले दुखेसो पोखिन्। 

विद्यालयकी शिक्षिका ढकाल पनि यो कुरा स्वीकार्छिन्। ‘जनशक्ति अभाव हुँदा एक विषयका शिक्षकले अर्काे विषय पढाउनुपरेको छ,’ शिक्षिका ढकाल भन्छिन्। 

पर्याप्त जनशक्ति नभएकै कारण कक्षा १० सम्मको अनुमति पाएको उक्त विद्यालयले कक्षा ८ भन्दा माथिल्लो तहको पठनपाठन सञ्चालन गर्न सकेको छैन। 

भौतिक पूर्वाधार र जनशक्ति थप्न सरकारी निकायले बेवास्ता गरेको विद्यालयको गुनासो छ। 

विद्यालयलाई किन उपेक्षा गरियो ? 

कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विद्यालयलाई उपेक्षा नगरिएको दाबी गर्छन्।

उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरिने प्रतिवद्धता गरे। ‘विद्यालयका शिक्षकको क्षमता विकासका लागि तालिमको व्यवस्था गरिनेछ,’ उनले भने। 

विद्यालयमा ८७ जना विद्यार्थी अध्ययनरत छन्। 

२८ माघ, २०७७, १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।