पहिलो पटक ४० वर्ष मुनीका महिला विदेश भ्रमणमा जाँदा परिवार र वडाको सहमति र सिफारिस अनिवार्य 

पहिलो पटक ४० वर्ष मुनीका महिला विदेश भ्रमणमा जाँदा परिवार र वडाको सहमति र सिफारिस अनिवार्य 

काठमाडौँ  : भिजिट भिसाको आवरणमा मानव तस्करी बढ्दै गएको भन्दै अध्यागमन विभागले भिजिट भिसामा कडाइ गर्ने तयारी गरेको छ। उसले अध्यागमन कार्यविधि २०६५ को संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ जसमा पहिलो पटक विदेश जान लागेका ४० वर्ष मुनिका महिलाका लागि वडा कार्यालय र परिवारको सहमति अनिवार्य गरेको छ।

विभागका सूचना अधिकारी टेकनारायण पौडेलका अनुसार विभागको अनुसन्धानमा भिजिट भिसाको आवरणमा मानव तस्करी बढेको देखिएपछि नियन्त्रणका लागि सो प्रस्ताव गरिएको हो। 

अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको खुलेपछि विभागले छानबिन समिति गठन गरेको थियो। सो समितिको प्रतिवेदनमा मानव तस्कर समूहले भिजिट भिसालाई हतियार बनाइरहेको खुलेपछि त्यसमा कडाइको प्रावधान राख्न लागिएको हो।

‘प्रस्ताव स्वीकृत भएमा भिजिट भिसामा जानेहरूको १५ लाखसम्मको बिमा गर्नुपर्ने एक पटक पनि विदेश नगएका ‘ट्राभल हिस्ट्री’ नभएका ४० वर्षभन्दा मुनिका महिलाहरू विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको पौडेलले बताए । 

भिजिट भिसाको आवरणमा विशेष गरी महिलाहरूलाई विदेश पुर्याएर बेचबिखन गर्ने तथा अलपत्र पार्ने प्रवृत्ति बढेपछि विभागले यो प्रवृत्ति रोक्न कडाइ गरेको उनको तर्क छ। 

यस अघि विदेश भ्रमणमा जाँदा १ हजार अमेरिकी डलर पकेट खर्च बोक्नुपर्ने अनिवार्य थियो । अब १ हजार अमेरिकी डलरसँगै भौचर समेत अनिवार्य बोक्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको विभागले जनाएको छ ।

२८ माघ, २०७७, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।