उकेरामा आज : गायिका प्राश्ना शाक्यको भाइरल नहुने चाहनादेखि पत्रकार प्रकाश रिमालको पत्रकारिताबारे धारणासम्म 

उकेरामा आज : गायिका प्राश्ना शाक्यको भाइरल नहुने चाहनादेखि पत्रकार प्रकाश रिमालको पत्रकारिताबारे धारणासम्म 

काठमाडौं : आज देशभर विभिन्न घटनाक्रम भए पनि निर्वाचनसम्बन्धी दुईवटा समाचारलाई आममानिसले बढी चासो दिए।

पहिलो थियो– सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गराउने निर्णय। जस अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा तथा वैशाख २७ गते प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गर्याे। 

दोस्रो खबर थियो– प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली निर्वाचनको तयारीबारे जानकारी लिन निर्वाचन आयोगको गएको विषय। 

आयोगमा ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेल, नेता सुवास नेम्बाङलगायत गएका थिए। टोलीलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतबारे जानकारी गराए। 

आजको अर्काे महत्त्वपूर्ण समाचार थियो– सरकारले बजेटको आकार घटाएको बारे। अर्थमन्त्रालयले गरेको अर्धवार्षिकी समीक्षा कार्यक्रममा चालू आर्थिक वर्षको बजेटको ९१.१९ प्रतिशत बजेट मात्रै कार्यान्वयन हुन सक्ने प्रक्षेपण गरिएको छ। 

जसअनुसार चालू आर्थिक वर्षको बजेट १४ अर्ब ७४ अर्ब ६४ करोड रूपैयाँमध्ये १३ खर्ब ४४ अर्ब ४६ करोड रूपैयाँ मात्रै खर्च हुने बताइएको छ। 

यी समाचारहरूसँगै उकेराले अन्य विषयलाई पनि प्रस्तुत गर्याे।  

उकेरा टप पाँच

उकेराले बिहानै गायिका प्राश्ना शाक्यले भाइरल नहुने चाहनाको समाचार पस्कियो। 

प्राश्ना न भाइरल भएर उदाउन चाहन्छिन्, न त प्रविधिको होडमा नै मिसिन। ‘तर मलाई भाइरल हुने मोह छैन,’ उनले भनिन्।
उनी केबल संगीतमा रमाउन चाहान्छिन्। उनका लागि संगीत साधना हो। 

गायिका प्राश्ना भन्छिन्– भो भाइरल हुनु छैन

त्यसपछि हामीले प्रस्किएको अर्काे महत्त्वपूर्ण समाचार थियो– नेपाली कामदारका लागि कोरिया अनिश्चित भएको विषय। 

कोरोना भाइरसका कारण नेपालबाट तत्काल श्रमिक लैजान कोरिया इच्छुक नहुँदा कोरियाबाट रोजगार सम्झौता पत्र आइसकेका तथा बिदामा फर्किएकाहरू कहिले त्यहाँ जान पाउँछन् भन्ने यकिन हुन सकेको छैन। 

नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित

उकेराले प्रस्तुत गरेको तेस्रो समाचार अपराधसम्बन्धी थियो। सामाजिक सञ्जालमा सामान्य चिनजानका व्यक्तिले गिफ्ट पठाउँछु भन्दा लोभिँदै पैसा पठाउँदा एक करोड रकम ठगी भएको समाचार थियो त्यो।

महानगरीय प्रहरी अपराध महाशाखाले ठगीको आरोपमा पंकज पौडेलीलाई पक्राउ गरेपछि उक्त घटना खुलेको थियो। पक्राउ परेका ती व्यक्तिले उपहार पठाउन भन्सार शुल्कको बहानामा रकम ठगी गरेको प्रहरीको भनाइ छ। 

लोभले विलाप : गिफ्ट पठाइदिन्छु भनेर लोभिँदा करोड ठगियो

उकेराको आज प्रस्तुत गरेको चौथो महत्त्वपूर्ण सामग्री थियो– नियमित स्तम्भ ‘चौथो अंग’। उक्त स्तम्भमा हामीले पत्रकार प्रकाश रिमालसँग नेपाली पत्रकारिताका समस्याबारे कुराकानीमा आधारित आलेख प्रस्तुत गर्याैं।

उनले आलेखमा नेपाली पत्रकारिताका विभिन्न समस्या औंल्याएका छन्। तीमध्ये एक हो– प्रकाशकले पत्रकारितामा लगानी गर्नुको कारण पहिल्याउन नसक्नु र अन्य व्यवसाय र सञ्चार गृहको भिन्नता छुट्याउन नसक्नु।

सञ्चार गृहले लिने ‘लाइन’ र यसलाई फेमिली बिजनेसझैं बनाइन खोज्नु पनि समस्याको रुपमा औल्याएका छन् उनले। 

धन्न ! प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

उकेराले आजै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा सेन्सर गर्ने तयारीमा लागेको समाचार प्रस्तुत गर्याे।
यसका लागि सरकारले निरंकुश प्रावधान राखेर ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउने तयारी गरिरहेको छ।

सञ्जालप्रति सरकारको कुनियत : नियमनको बहाना, सेन्सरको चाहना
 

२७ माघ, २०७७, ०१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।