लोभले विलाप : गिफ्ट पठाइदिन्छु भनेर लोभिँदा करोड ठगियो

लोभले विलाप : गिफ्ट पठाइदिन्छु भनेर लोभिँदा करोड ठगियो

काठमाडौँ : सामाजिक सञ्जालमा सामान्य परिचयकै भरमा गिफ्ट पठाउँछु भन्दा लोभिँदै पैसा पठाउँदा एक करोड रकम ठगी भएको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले पङ्कज पौडेली लाई पक्राउ गरेपछि उनले सिंगापुर, लन्डन, कोरियाको नागरिक हुँ भन्दै  विभिन्न व्यक्तिहरूलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल उपहार पठाउँछु भन्दै भन्सार शुल्कको बहानामा रकम लिएर ठगी गर्ने गरेको खुलेको हो।

महाशाखाका अनुसार उनले वाट्सएप, फेसबुक र भाइवरबाट विभिन्न ब्यक्तिलाई सन्देश पठाउने र आफैँ कुरा गरेर उपहारको प्रस्ताव गर्थे। उपहार पाउने भएँ भनेर मक्ख परेका ब्यक्तिलाई केही समयपछि गिफ्टका लागि भन्सार शुल्क तिर्नुपर्ने भयो भनेर रकम माग्थे। सस्तैमा उपहार पाउने लोभमा सहजै आइएमई गरिदिएपछि उनी सम्पर्कविहीन हुन्थे।

प्रहरीले यसरी ठगिएकाहरूको सङ्ख्या सार्वजनिक गरेको छैन। आएका उजुरीको आधारमा उनले यसरी २६ लाख रकम उठाएको खुलेको छ भने पक्राउपछि उनीसँगको विवरण हेर्दा सो रकम एक करोड बढी रहेको देखिएको महाशाखाले जानकारी दिएको छ। 

उनले आइएमा गरिएको रकम झिक्दा नक्कली सवारी चालक अनुमति पत्रको प्रयोग गर्ने गरेको समेत खुलेको छ। 

अनलाइन ठगीको उजुरीको आधारमा अनुसन्धान अगाडि बढाउँदा सो व्यक्ति पौडेली भएको खुलेपछि महाशाखाले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरेर बिर्तामोडबाट उनलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ। उनको मोबाइलमा रहेको विवरणको आधारमा उनले झुक्क्याएर एक करोड ९५ लाख रकम सङ्कलन गरेको खुलेको छ।

प्रहरीले पौडेलीको साथबाट १३ लाख रुपैंया बरामद भएको बताएको छ। प्रहरीले विनोद काफ्ले नामको सवारी चालक अनुमति पत्रको फोटोकपी, अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको फोटोकपी समेत फेला परेको जानकारी दिएको छ। 

२७ माघ, २०७७, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।